‘नो हर्न, प्लिज’

प्रकाशित मिति : बैशाख २, २०७४ शनिबार

हिमाल लम्साल / सरकारले काठमाडौं उपत्यकामा शुक्रबारदेखि हर्न बजाउन निषेध गरेको छ। सवारीचालकले जथाभावी हर्न बजाएर ध्वनि प्रदूषण गरेको भन्दै हर्न बजाउन रोक लगाइएको हो।

काठमाडौं महानगरपालिका, यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र प्रमुख जिल्ला अधिकारी तहको संयुक्त निर्णयबाट राजधानीको ध्वनि प्रदूषण घटाउन हर्न बजाउन प्रतिबन्ध गरिएको हो। ‘राजधानीभित्रको ध्वनि प्रदूषण कम गर्न हर्न निषेधित गरेका हौं,’ महानगरपालिकाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले भने, ‘जसरी भए पनि कार्यान्वयन गरेरै छोड्छौं।’

अघिल्लो दिनको तुलनामा वैशाख १ गते हर्न बजाउने सवारीसाधनको संख्या न्यून भएको ट्राफिक प्रहरी अनुभव।

महानगरका अनुसार अहिले हर्न निषेधित गर्न ठाउँठाउँमा होर्डिङ बोर्ड राखिएको तथा सवारीसाधनमा सूचना टाँसेर सम्प्रेषण गरिएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता लोकेन्द्रबहादुर मल्ल अघिल्लो दिनको तुलनामा वैशाख १ गते हर्न बजाउने सवारीसाधनको संख्या न्यून भएको बताउँछन्। ‘चोकचोकमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीले हर्न बजाउने/नबजाउने सवारीसाधन अनुगमन गरिरहेका छन्,’ उनले भने, ‘अघिल्ला दिनमा जस्तो हर्न नबजाएको रिपोर्ट आइरहेको छ। त्यसैले हर्न निषेधित कार्यक्रम प्रभावकारी ढंगले कार्यान्वयन हुँदै अघि बढ्नेछ।’

उनका अनुसार हर्न निषेध गरेसँगै अब सवारीचालकले जहाँ पायो त्यहीं हर्न बजाउने प्रवृत्ति अन्त्य हुनेछ। सवारीचालकले  ओभरटेक, यात्रु बोलाउन, अगाडिको गाडी हटाउन, साना सवारीलाई जिस्काउन, रमाइलो गर्ने बहानामा हर्न बजाउने उनले बताए।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ (ग) अनुसार कसैले इमर्जेन्सीबाहेक सवारी साधनको हर्न बजाएमा पहिलो चरणमा ५ सय, दोस्रो चरणमा १ हजार र तेस्रो चरणमा १५ सय रूपैयाँ जरिवाना हुने प्रावधान छ। एम्बुलेन्स, शववाहन, दमकललगायत आकस्मिक प्रयोजनमा कुद्ने सवारी साधनको हकमा भने यो नियम लागू हुनेछैन।

सवारीसाधनको चर्काे ध्वनिले मानिसको श्रवण शक्ति नै गुम्ने समस्या हुने चिकित्सक बताउँछन्। ‘चर्काे ध्वनिले कानको सुन्ने अंगको कोष नष्ट हुने र रासायनिक प्रतिक्रिया भई पछि बहिरो हुने खतरा उच्च हुन्छ,’ वीर अस्पतालका इएनटी विभाग प्रमुख डा. ढुण्डीराज पौडेलले भने, ‘त्यसैले चर्काे ध्वनिबाट टाढै रहनुपर्छ, नत्र स्वास्थ्यमा नै गम्भीर समस्या देखापर्न सक्छ।’

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका १ अर्ब २ करोड युवा ध्वनि प्रदूषणको जोखिममा छन्। चिकित्सकका अनुसार चर्को ध्वनिका कारण सुरुमा कान बज्ने, दिक्दारी लाग्ने, निद्रा नलाग्नेजस्ता समस्या देखिन्छन्। चिकित्सकका अनुसार ८० डेसिमलभन्दा माथिको ध्वनिले कानमा असर पार्छ। सामान्य बोलीचालीको ध्वनि औसत ४० डेसिमलको हुन्छ। चर्को ध्वनिले आवाज सुन्ने अर्गान (ककलिया) का कोष नष्ट गरी कम सुन्ने समस्या आउँछ। अडियोग्राम परीक्षणले श्रवण क्षमता कम भएको पत्ता लगाउन सकिन्छ।

विश्व स्वास्थ्य संगठनले अन्तर्राष्ट्रिय मान्यताअनुसार ७० देखि ८० डेसिमलको हर्नलाई सामान्य माने पनि काठमाडौं उपत्यकामा गुड्ने सवारीले सयदेखि १ सय २० डेसिमलसम्म ध्वनि निकाल्ने गरेका छन्।

वातावरणविद् भूषण तुलाधरले सवारी साधनको चर्काे ध्वनि नियन्त्रणका लागि हर्न निषेधित कार्यक्रम प्रभावकारी हुने बताए। ‘चर्काे ध्वनि कसैको हितमा छैन, त्यसैले नियन्त्रण गर्न जरुरी छ,’ उनले भने, ‘चर्काे ध्वनि मानिसको लागि मात्रै होइन, वातावरणकै लागि खतरनाक हुन्छ। त्यसैले हर्न निषेधित कार्यान्वयन जसरी पनि गर्नुपर्छ।’

यस्तो बेला हर्न बजाउन पाइन्छ

‘सवारी साधनले एउटा मोडबाट अर्काे मोड नदेखिने अवस्थामा र  हर्न नबजाउँदा सवारी दुर्घटना हुने उच्च जोखिम भएमा हर्न बजाउन पाउनेछन्,’ प्रवक्ता मल्लले भने, ‘आपत्कालीन अवस्थामा हर्न बजाउने सवारीलाई कारबाही गर्दैनौं।’ अन्य अवस्थामा हर्न बजाउने सवारीसाधनलाई कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ।

हल्ला धेरै, व्यवस्थापन कमजोर

महानगरपालिकाले वैशाख १ गतेबाट उपत्यकामा सवारीसाधनले हर्न बजाउन नपाउने योजना अघि सारेको छ। तर, हर्न नै बजाउनुनपर्ने गरी काठमाडौंका सडकका पूर्वाधार भने तयार भएको देखिन्न। ‘सडक जताततै भत्काएर पैदलयात्री हिँड्ने फुटपाथको निसानै मेटिएपछि सडकबाटै पैदलयात्री हिँड्नुपर्ने बाध्यता छ,’ ट्राफिक इन्जिनियर आशिष गजुरेल भन्छन्, ‘यस्तो अवस्थामा हर्न मुक्त क्षेत्र घोषणा गर्नु भनेको चालकलाई कारबाही गर्नुजस्तै हो।’ उनका अनुसार हर्न मुक्त क्षेत्र आवश्यक रहे पनि पूर्वाधारबिनै घोषणा गर्नु भनेको कार्यान्वयन  असफल हुनु हो।

‘पूर्वाधार र सिस्टमबिना नै ल्याएका जुनसुकै कार्यक्रम सफल हुँदैैनन्’, ट्राफिक इन्जिनियर गजुरेलले भने, ‘उपत्यकाको सडकमा हर्न निषेधित गर्न सडकमा लेन तथा जेब्राक्रस चिह्न स्पष्ट हुनुपर्छ, स्वचालित ट्राफिक लाइट मात्रै होइन, ट्राफिक व्यवस्थापन र सडक सुरक्षाको राम्रो प्रबन्ध मिलाइनुपर्छ।’

चालकले भने सरकारले हर्न नै बजाउनुनपर्ने वातावरण बनाइदिन माग गरे। ‘रहरले हर्न बजाएका होइनौं, बाध्यताले हो,’ काडाँघारी–रत्नपार्क रुटका माइक्रो बस चालक भोलानाथ सापकोटाले भने, ‘सरकारले हर्न नै नबजाउनुपर्ने वातावरण बनाइदिए हर्न बजाउनै छाडिदिन्छौं।’ आज नियम ल्याउने भोलिबाट उल्लंघन गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने उनले बताए। ‘पैदल यात्रु फुटपाथ र अकासे पुलबाट नै हिँड्दैनन्। बीच सडकमै ठूला गाडी तेर्स्याएर राख्छन्, यस्तो बेला हर्न नबजाएर के गर्नु’, उनी बाध्यता सुनाउँछन्।

एकान्तकुना–रत्नपार्क रुटमा टेप्पो चलाउँदै आएकी गीता भण्डारी पनि पैदलयात्री हिँड्ने सडक व्यवस्थित भए मात्र हर्न निषेधित कार्यक्रम प्रभावकारी हुने बताउँछिन्। ‘पेटी तथा फुटपाथ नै नभएका सडकमा पैदल यात्रु जहाँ पायो त्यहींबाट हिँड्नुपर्ने अवस्था छ। पैदलयात्री हिँड्ने सडक नै व्यवस्थित छैनन्,’ उनी भन्छिन्।

महानगरपालिकाका कार्यकारी अधिकृत पौडेलले हर्न निषेधित कार्यक्रमलाई व्यवस्थित गरेर अघि लैजाने दाबी गर्छन्। ‘भर्खरै निषेध अभियान थालेका छौं। सरोकारवाला निकायसँग सडक मर्मत तथा व्यवस्थापन गर्न समन्वय गरिरहेका छौं,’ उनले भने, ‘हर्न निषेधका लागि चाहिने अत्यावश्यक पूर्वाधार बनाएर अघि बढ्नेछौं।’ नागरिक दैनिक

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com