यूरोप घुमघामको अनुमति दिँदै बेलायत


प्रकाशित मिति : असार १३, २०७७ शनिबार

बेलायतले अत्यावश्यक बाहेक अन्य कामका लागि सीमापार यात्रामा लगाएको प्रतिबन्ध खुकुलो बनाउने भएको छ । जुलाई ६ देखि १४ दिन क्वारेन्टाइनमा बस्नु नपर्ने गरी निश्चित यूरोपेली देशमा छुट्टी मनाउन जान बेलायतीहरुलाई अनुमति दिने भएको छ ।

यी देशहरुमा स्पेन, फ्रान्स, ग्रिस, इटली, नेदरल्याण्ड्स, फिनल्याण्ड, बेल्जियम, टर्की, जर्मनी र नर्वे पर्ने अनुमान गरिएको छ । यो सूचीमा पोर्चुगल र स्वीडेन भने नपर्ने बताइएको छ ।

यात्रामा जान सकिने देशको पूर्ण सूची बेलायतले आगामी हप्ता जारी गर्नेछ । नयाँ नियमले बेलायतीहरुलाई गर्मीको सार्वजनिक छुट्टि विदेशमा मनाउने अनुमति दिनेछ । संक्रमणको स्तर हेरेर देशहरुलाई हरियो, पहेँलो र रातो गरी तीन रंगमा वर्गिकरण गरिनेछ ।

अवस्थामा परिवर्तन आयो भने यो नियममा रोक लगाउन समेत सरकार नहिच्किचाउने बताइएको छ ।  पोर्चुगलमा हालैका दिनमा संक्रमण बढेको र स्वीडेनमा भने संक्रमण बेलायतको भन्दा धेरै भएकोले यी दुई सूचीमा नपर्ने अनुमान गरिएको छ । यी दुवै देशलाई रातोको सूचीमा राख्ने सम्भावना रहेको छ ।

यद्यपि, जुन देशबाट आएको भएपनि बेलायती यात्रीहरुले उनीहरु फर्केर बस्न खोजेको ठेगाना भने दिनु पर्नेछ । उनीहरुले हवाई जहाज र पानी जहाजमा समेत मुख छोप्न मास्क लगाउनु पर्नेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com