मेलबर्नबाट करिब तीन घण्टा ढिला उड्यो नेपाल एयरलाईन्स, एकजना यात्रु जान पाएनन !


प्रकाशित मिति : असार १३, २०७७ शनिबार

२ सय ११ जना नेपालीलाई लिएर नेपाल एयरलाईन्सको चार्टड फ्लाईट काठमाडौंका लागि उडेको छ । मलेसियाको क्वालालम्पुरमा रोकेर काठमाडौंतर्फ जाने विमान निर्धारित समयभन्दा करिब तीन घण्टा ढिलो उडेको हो । मेलबर्नमा पछिल्लो समय देखिएको कोरोना भाईरसको संक्रमणका कारण कडा बनाईएको नियमका कारण विमान निर्धारित समयभन्दा ढिला उडेको हो । विहान १० बजेर ५० मिनेटमा अवतरण गर्नुपर्ने विमान करिब एक घण्टा ढिलो भएको थियो भने मध्यान्ह १२ बजेर ५० मिनेटमा उड्नुपर्ने विमान तीन बजेर २५ मिनेटमा उडेको हो ।

काठमाडौं जान लागेका यात्रुहरुमध्ये एकजना कागजपत्र नपुगेका कारण उड्न पाएनन् । सिड्नीबाट आएका पाण्डे थरका एक युवक आफ्नो पासपोर्ट नभएको र दूतावासले जारी गरेको ट्राभल डकुमेन्ट पेश गर्न नसक्दा उड्न पाएनन् । उनको ट्राभल डकुमेन्ट उनीसँग थिएन । अर्का यात्रुले बोकेको उनको कागजात लिएर सुरक्षा जाँच पूरा गरी अघि बढिसकेका कारण यिनले पेश गरेको स्क्यान कपीलाई विमानस्थलले मान्यता दिएन । पछि महावाणिज्यदूतको कार्यालयको विशेष पहलमा कागजात फिर्ता ल्याएको भएपनि ढिला भएका कारण उनले उड्न पाएनन् ।

विमानस्थलमा ढिला आएको र कर्मचारीहरुसँग झगडा गरेका कारण अन्य यात्रुलाई सुरक्षाको कारण देखाउँदै उनलाई प्रवेश दिइएन । दूतावासले नेपाल एयरलाईन्ससँग सम्पर्क गरी उनले काटेको टिकटको रकम फिर्ता गर्ने अथवा अर्को फ्लाईट भएमा त्यसमा जाने व्यवस्था मिलाउने भएको छ ।

क्याप्टेन विजय लामासहितको उडान कर्मचारीहरु विमान अवतरण भएदेखि करिब चार घण्टा विमानभित्रै रहेका थिए । विमानस्थलमा नेपाल जान लागेका यात्रुहरुलाई बिदाई गर्नका लागि भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जन, गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष केशव कँडेल, भिक्टोरिया संयोजक प्रेम कँडेल लगायत पुगेका थिए । एनआरएन अष्ट्रेलियाले स्वदेश फर्कन लागेकाहरुलाई सेनिटाईजर, केही ड्राईफुड, मास्कसहितको प्याकेज उपलब्ध गराएको थियो ।

यसअघि २ सय १७ जना नेपाल जाने तय भएपनि २ सय १२ जना मात्रै विमानस्थल पुगेका थिए । नेपाल सरकारले चार्टड विमानमार्फत अष्ट्रेलियामा रहेका आफ्ना नागरिकलाई नेपाल लगेको यो दोश्रो पटक हो । यसअघि सिड्नीबाट पहिलो फ्लाईट भएको थियो । नेपाल जान लागेका यात्रुहरुले भाडादर केही महँगो भएपनि दूतावास, महावाणिज्यदूको कार्यालयको भूमिका, एनआरएनसहित नेपाली सामूदायिक संघसंस्थाको सहयोगको खुलेर प्रशंसा गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com