ग्रिनकार्ड भिसा रोक्ने ट्रम्पको कार्यकारी आदेशबिरुद्धको अनुरोध अदालतबाट अस्वीकार


प्रकाशित मिति : असार १०, २०७७ बुधबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिसेम्बरको अन्त्यसम्मका लागि अमेरिकी नागरिकका दम्पत्ति र २१ बर्ष भन्दा कम उमेरका छोराछोरीहरुको बाहेक अरु प्राय सबै ग्रिनकार्ड भिसा रोक्ने आदेशबिरुद्ध अदालतमा दायर गरिएको मुद्दा अदालतले अस्वीकार गरेको छ । वासिंटन डिसीका संघीय न्यायाधिसले ट्रम्पको कार्यकारी आदेश कार्यान्वयनमा रोक लगाउन दायर गरिएको याचिका अस्वीकार गरेका हुन् ।

तीनजनाले ट्रम्पको आदेश कार्यान्वयनमा रोक लगाउन अदालतबाट निरोधक आदेशको माग गर्दै मुद्दा दायर गरेका थिए । युएस डिस्ट्रिक्ट न्यायाधिस अमित मेहताले २१ पृष्ठ लामो आदेश जारी गर्दै ट्रम्पको कार्यकारी आदेशरोक्ने याचिकामा कुनै दम नभएको उल्लेख गरेका छन् । मेक्सिकन मुलका दुईजना ग्रिनकार्डवाहक आवेदकका परिवारका २ सदस्यले हालै भिसा पाइसकेको र एकजनाले पनि ट्रम्पको आदेशमा उल्लेख भए अनुरुप राष्ट्रिय रुचीको आधारमा भिसा पाइसकेको न्यायाधिसले जनाएका छन् ।

अर्का एकजना आवेदक एल साल्भाडोरियन मुलका अमेरिकन रहेका थिए । उनले छोराका लागि दिएको आवेदन न्यायायिक पुनरावलोकनका लागि परिपक्व नभइसकेको न्यायाधिसको ठहर छ । उनका छोराको ग्रिनकार्ड भिसा ट्रम्पको कार्यकारी आदेशका कारण नभई कोरोनाको महामारीका कारण भएको न्यायाधिसको ठहर छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेशमार्फत सन् २०२० को डिभी लोटरीको औचित्य पनि समाप्त पारेका छन् । परिवार वा रोजगारमा आधारित ग्रिनकार्ड भिसाका लागि अन्तरवार्ता कुरेर बसेकाहरुले पनि अब कम्तीमा आगामी जनवरीसम्म कुर्नुपर्नेछ ।

ट्रम्पको कार्यकारी आदेशले एच, एल र जे भिसामा पनि रोक लगाएको छ । यी बाहेकका अन्य गैरआप्रवासी भिसामा भने रोक लगाइएको छैन । पहिले नै भिसा पाइसकेकाहरुलाई भने ट्रम्पको कार्यकारी आदेशले कुनै असर गर्नेछैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com