पोखराको बजेट ६ अर्ब १९ करोड


प्रकाशित मिति : असार १०, २०७७ बुधबार

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७-०७८ को लागि ६ अर्ब १९ करोड रुपैयाँको बजेट ल्याएको छ ।

पोखरा सभागृहमा पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङले नगरसभामा २०७७-०७८ को वार्षिक राजस्व र व्ययको अनुमान (बजेट) पेश गरेकी हुन् ।

उनले पेश गरेको बजेट ६ अर्ब १९ करोड रुपैयाँमध्येमा संघ सरकारले दुई अर्ब ५२ करोड ६० लाख रुपैयाँ अनुदान दिएको छ ।

यस्तै प्रदेशको १० करोड ५९ लाख रुपैयाँ पनि समावेश छ । कुल अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट प्रदेशले २ अर्ब ६३ करोड रुपैयाँ अनुदान पाएको छ ।

यस्तै, अन्तरसरकारी अख्तियारीबाट ८५ करोड, राजस्व बाँडफाँटमा संघबाट ३० करोड र प्रदेशबाट ४ करोड सहित कुल ३५ करोड रुपैयाँ महानगरले पाएको छ । बाँकी २ अर्ब ३६ करोड आन्तरिक स्रोतबाट उठाउने लक्ष्य लिएको छ ।

महानगरले ल्याएको बजेटबाट चालुतर्फ ३ अर्ब २० करोड रुपैयाँ र पूँजीगततर्फ २ अर्ब ८९ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

प्रतिशतका आधारमा चालुतर्फ ५२ र पूँजीगततर्फ ४८ प्रतिशत बजेट छुट्याइएको छ । यसमध्ये, प्रशासनिकमा १ अर्ब ५८ करोड र कार्यक्रमतर्फ ४ अर्ब ६१ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com