अष्ट्रेलियामा ८५ वर्षीया बृद्धालाई ठग्ने दुई नेपाली पक्राउ (भिडियोसहित)


प्रकाशित मिति : असार ९, २०७७ मंगलबार

अध्ययनको क्रममा अस्ट्रेलिया पुगेका दुई नेपाली ठगी आरोपमा प्रहरी हिरासतमा छन् । उनिहरुले स्थानीय ८५ वर्षीया एक बृद्धालाई ठगी गरेका हुन् ।

ठगी आरोपमा पक्राउ परेका दुवैजना विराटनगरका हुन् । पक्राउ पर्नेहरुमा १९ वर्षीय आयुष भट्टराईलाई र २२ वर्षीया नेहा गिरी रहेका छन् । दुवैजनालाई पश्चिमी सिड्नीबाट पक्राउ गरिएको हो ।

अष्ट्रेलियास्थित नाइन न्यूजका अनुसार ठगीमा संलग्न महिलाले पिडित बृद्धालाई फोन गरेरे आफू बैंकबाट बोलेको र नयाँ खाता खोल्नुपर्ने भन्दै तीन हजार डलर पठाइदिन भनेकी थिइन् । समाचारमा बताइएअनुसार पैसा लिन मानिसहरु वृद्धाकै घरमा पुगेपछि शंका लागेर पैसा बुझाएर वृद्धा प्रहरीमा गएकी थिइन् । त्यसबेला पनि उनलाई ठगी गर्ने समूहबाट फोन आएको थियो । उनीहरुले थप पाँच हजार डलर आवश्यक रहेको बताएका थिए । त्यसपछि प्रहरीले बृद्धाको घरमा पैसा लिन पुगेका गिरी र भट्टराईलाई पक्राउ गरेको थियो ।

बताइएअनुसार गलत कार्यमा संलग्न उनिहरुलाई स्थानीय कानुन अनुसार मुद्धा दर्ता गरिएको हो । प्रहरीले छलकपटपूर्वक पैसा असुल गरेको र आपराधिक क्रियाकलापमा संलग्न भएको अभियोगमा क्रमशः पाँचौं र तेस्रो तहको मुद्दा दर्ता भएको छ । प्रहरीले सोही कानुनमा रहेर कारबाही गर्ने तयारी गरेको बुझिएको छ ।

नेहा एकवर्ष अघि मात्रै अष्ट्रेलिया पुगेकी थिइन् भने आयुष आफ्ना दिदीसँग बस्दै आएका थिए ।

दुवै जनालाई मंगलबार पारामट्टा अदालतमा उपस्थित गराइएको थियो । यता, अदालतले पनि जमानतमा छाड्न मानेको छैन । अदालतको अर्को सुनुवाइ अगष्ट २० मा हुने बताइएको छ ।

सोधपुछका क्रममा यी दुई अन्तरदेशिय ठगहरुको गिरोहमा संलग्न रहेको पत्ता लागेको छ । उनिहरु पनि गिरोहको पन्जामा परेर पैसा संकलन गरी विदेशमा पठाउन सक्रिय रहेको खुलेको छ । अनुसन्धानका क्रममा गिरी र भट्टराईले अन्य थुप्रैलाई फोन गरेर बैक खाता खोल्न लगाई नक्कली कुरियरकर्मी बनेर पैसा भुक्तानी लिएको रहस्य बाहिर आएको छ ।

जागिरको प्रलोभनमा परेर नेपाली विद्यार्थीले आफ्नो परिचयपत्रहरु जथाभावी पठाउँदा अष्ट्रेलियामा उनीहरुको कागजात दुरुपयोग हुने क्रम समेत बढ्दो छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com