टिकट नबिकेपछि अमेरिकाबाट नेपाल जाने २ उडान रद्द, फर्म भरेका ५० प्रतिशत बढी फर्कन अनिच्छुक


प्रकाशित मिति : असार ७, २०७७ आईतबार

कोरोनाको महामारीका कारण अमेरिकामा रोकिएका झण्डै १२ सय नेपालीहरुले नेपाल फर्कनका लागि आवेदन दिएपनि अन्तिम समयमा नेपाल फर्कन चाहनेहरुको संख्या निकै कम देखिएको छ । नेपाल फर्कन इच्छा व्यक्त गरेर फर्म भरेकाहरुमध्ये ५० प्रतिशतभन्दा बढी नेपाल फर्कन अनिच्छुक देखिएपछि अमेरिकाबाट नेपालीहरुलाई नेपाल लैजान ४ वटा उडान तय गरेका एयरलाइन्सहरु समस्यामा परेका छन् ।

प्रति उडान ३ सयका दरले अनुमान गरेर अमेरिकाबाट टर्किस एयरलाइन्स र कतार एयरवेजले ४ वटा उडान तय गरेपनि कुल टिकट लिनेको संख्या ५० प्रतिशतभन्दा पनि कम भएपछि जुन २५ मा शिकागोबाट नेपाल जाने तय भएको टर्किस एयरलाइन्सको उडान रद्द गरिएको छ । उक्त उडानमा सिट सख्याको एकतिहाईले पनि टिकट नकाटेको श्रोतले जानकारी दिएको छ ।

त्यस्तै अत्यन्तै कमले टिकट काटेपछि कतार एयरवेजले पनि जुन २३ मा वासिंटन डिसीबाट गर्ने भनेको उडान रद्द गरेको छ । अब आफ्ना उडानहरु मर्ज गरेर टर्किस एयरलाइन्स र कतार एयरवेजले एकएकवटामात्र उडान गर्ने तय गरेका छन् । जस अनुशार टर्किश एयरलाइन्सले जुन २३ मा न्युयोर्कबाट र कतार एयरवेजले टेक्सासबाट जुन २५ मा उडान गर्ने भएका छन् ।

शिकागो र वासिंटन डिसीबाट नेपाल जानेगरी टिकट लिएकाहरुलाई पनि न्युयोर्क र टेक्सासका उडानमार्फत जानका लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्न भनिएको छ । अब जुन २५ मा टर्किस एयरलाइन्समार्फत शिकागोबाट जाने टिकट लिएकाहरुले जुन २३ मा नै न्युयोर्कबाट नेपाल जाने तयारी गर्नुपर्नेछ । त्यस्तै जुन २३ मा वासिंटन डिसीबाट कतार एयरलाइन्समार्फत नेपाल जाने टिकट लिएकाहरुले अब जुन २५ मा टेक्सासबाट जाने तयारी गर्नुपर्नेछ ।

सामान्य अवस्थामा ८ सयदेखि एकहजार डलर अमेरिका काठमाडौंको दुईतर्फी भाडा भएपनि एयरलाइन्सहरुले झण्डै १६ सय डलर भाडा तय गरेका छन् । कतिपयले नेपाल जाने भाडा दोब्बरभन्दा पनि बढी भएको भन्दै तत्काल नेपाल फर्कन अनिच्छा व्यक्त गरेका छन् ।

त्यस्तै नेपालमा पछिल्लो समयमा कोरोना संक्रमितको संख्या बढ्दै गएका कारण पनि कतिपयले तत्काल नेपाल फर्कन अनिच्छा व्यक्त गरेका छन् । नेपाल फर्केपछि क्वारेन्टीनमा कहाँ बस्ने भन्नेबारे समेत अन्यौल उत्पन्न भएका कारण धेरैले तत्काल नेपाल फर्कने योजना परिवर्तन गरेका छन् ।

अमेरिकामा रोकिएका नेपालीहरुलाई नेपाल फकाउने पहलका लागि ढिलो भएकाले कतिपयले अमेरिकी सरकारलाई शुल्क तिरेर भिसा थपका लागि आवेदन दिइसकेका छन् । त्यसैले भिसा थपका लागि शुल्क तिरेर आवेदन दिइसकेको अवस्थामा नेपाल फर्कन हतार नभएकाहरुले आफ्नो योजना परिवर्तन गरेको बताएका छन् ।

कतिपयले कोरोना टेस्टको प्रमाणपत्र ल्याउन झन्झटिलो भएका कारण नेपाल जाने योजना बदलेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com