सोमबारदेखि दोश्रो चरणमा खुल्दै न्युयोर्क, यसरी सुचारु हुँदैछन् नेपाली व्यवसाय


प्रकाशित मिति : असार ७, २०७७ आईतबार

सोमबारदेखि न्युयोर्क सिटी दोश्रो चरणमा खुल्दैछ । दोश्रो चरणमा न्युयोर्क खुल्दै गर्दा नेपाली व्यवसायहरुपनि विस्तारै सुचारु हुँदै गइरहेका छन् । कोरोनाको महामारीका कारण न्युयोर्कमा रेष्टुरेण्ट, स्टोर लगायतका कैयन नेपाली व्यवसायहरु बन्द भएका थिए ।

जुन ८ देखि पहिलो चरणमा न्युयोर्कमा रहेका कैयन नेपाली रेष्टुरेण्टहरु सुचारु भएका थिए भने दोश्रो चरणमा जुन २२ सोमबारदेखि अन्य व्यवसायहरु पनि विस्तारै खुल्दै गएका छन् । तर पहिलेको भन्दा फरक शैली र गाइडलाइनमा नेपाली व्यवसायहरु खुल्दै गएका छन् ।

पासाङ स्ट्राइकिङ स्टायल । फोटो: पासाङ शेर्पा

नेपाली रेष्टुरेण्टहरु फरक शैलीमा खुलेका छन् । रेष्टुरेण्टहरुमा पिकअप र डेलीभरी सेवामात्र संचालनमा रहेको छ । आंशिक रुपमा संचालनमा आएका छन् नेपाली रेष्टुरेण्टहरु । पहिलो चरणमा केही नेपाली रेष्टुरेण्टहरु खुलेपनि त्यहाँ पुगेर स्थलगत अवस्था देखेका अन्जन श्रेष्ठले जानकारी दिए ।

न्युयोर्कको क्वीन्सको ज्याक्सनहाइट, उडसाइड र सन्नीसाइड क्षेत्रमामात्र दर्जन बढी नेपाली रेष्टुरेण्टहरु संचालनमा रहेका छन् । त्यस्तै नेपालीका कानुनी कार्यालयहरु, ट्याक्स कार्यालयहरु, ट्राभल एजेन्सी, स्टोरहरु लगायतका विजनेशहरुपनि यसक्षेत्रमा संचालित छन् ।

मुस्ताङ थकाली किचन । फोटो: अन्जन श्रेष्ठ

न्युयोर्कका चर्चित हेयर स्टाइलिस्ट पासाङ शेर्पाको ज्याक्सनहाइटमा रहेको पासाङ स्ट्राइकिङ स्टायल सोमबारदेखि नयाँ रुपरंगका साथ खुल्दैछ । उनले बन्द रहेको अवधिमा स्टोरलाई नयाँ रुपरंग दिएका छन् भने अतिरिक्त सावधानीका साथ सुचारु गर्न लागेका छन् । उनले आफ्नो स्टोर मर्मत र पूर्णरुपमा सेनिटाइज गरिएको, सबै ग्राहकहरुले मास्क अनिवार्य लगाउनुपर्ने, ६ फिटको सामाजिक दुरी कायम गर्नुपर्ने बताएका छन् ।

उडसाइडमा रहेको मोमोचाई रेष्टुरेष्ट । फोटो: अन्जन श्रेष्ठ

त्यस्तै न्युयोर्कको ज्याक्सनहाइटमा नै रहेको मनमोहन सिंह घिमिरेको पारालिगल सेवा लुम्बिनी वर्ल्डवाइड इन्कले सोमबारदेखि सेवा सुचारु गर्दैछ । तर अप्वाइन्टमेन्टका आधारमा मात्र सेवा सुचारु गर्न लागिएको, मास्क अनिवार्य गरिएको, एकपटकमा २ जनासम्मलाईमात्र भेट्नेगरी सोमबारदेखि सेवा सुचारु गरिने मनमोहन सिंह घिमिरेले जानकारी दिए । दिउसो १२ बजेदेखि बेलुका ५ बजेसम्म सीडीसीको निर्देशिका अनुशार कार्यालय खोलिने उनले बताए ।

लुम्बिनी वर्ल्डवाइड इन्क । फोटो: मनमोहन सिंह घिमिरे
© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com