सिड्नीमा रहेको एभरेष्ट ट्राभल भन्छ : नेपाल एयरलाइन्सले तोकेको रकम भन्दा पाँच सय डलर सस्तोमा नेपाल लैजान्छौ


प्रकाशित मिति : असार ६, २०७७ शनिबार

अष्ट्रेलियामा आपतविपतमा परेका र स्वदेश फर्कन चाहनेका लागि चार्टर्ड उडान तय भएको छ। जुन २३ अर्थात असार ९ गतेका दिन सिड्नीबाट पहिलो चार्टर्ड विमान दिनको एक बजे काठमाडौंको लागि उडान भर्ने भएको छ। यसका लागि सबै तयारी पुरा भइसकेको दूतावासले जानकारी दिएको छ। करिब १३ सय नेपालीले स्वदेश फर्काउन माग गर्दै दूतावासमा आवेदन दिएका थिए।

अति आपत–विपतमा परेका र आवश्यकता हेरेर पहिलो विमानमा नेपाल फर्कनेको नामावली प्रकाशन गरिसकेको तथा दोस्रोका लागि पनि तयारी भैसकेको अष्ट्रेलियाका लागि नेपालका राजदूत महेशराज दाहालले बताए।  दोस्रो चार्टर्ड उडान भने अष्ट्रेलियाको मेलवर्नबाट जुन २७ तारिख अर्थात असार १३ गते काठमाडौंका लागि दिनको १२ः ५० बजे उड्ने तय भएको छ।

सिड्नीबाट उड्ने पहिलो विमानको प्रकृया लगभग पुरा भैसकेको र टिकट समेत पूर्ण रुपमा बिक्री भैसकेको ट्राभल मार्फत जानकारी प्राप्त भएको दाहालले बताए। विदेशमा आपतविपतमा परेका नेपाली नागरिक फर्काउने नेपाल सरकारको नीति अनुरुप दूतावासको आग्रहमा चार्टर्ड उडान हुने यी दुई विमानमा कुल ५२० जना नेपाल फर्कने दाहालले बताए।  दूतावासको मध्यस्थतामा नेपाल सरकारले चार्टर्ड गरेको विमानको सबै टिकट वायुसेवा निगमले आफ्नो ट्राभल एजेन्ट मार्फत बिक्री बितरण गरेको राजदूत दाहालले बताए।

यस पटक नेपाल एयरलाइन्सले अष्ट्रेलियाको चार्टर्ड विमानमा टिकटको जिम्मा भने नागपोखरीमा रहेको सिलिङ्क ट्राभललाई दिएको छ। अष्ट्रेलियामा नेपालीहरुकै आधा दर्जन ट्राभल भए पनि सहजीकरण गर्न नसक्दा र नेपाल एयरलाइन्सको आफ्नो स्वार्थका कारण सिड्नीका नेपालीलाई नेपालमा रहेको ट्राभलमा टिकट काट्न लगाउनु भने उपयुक्त नदेखिएको यात्रुहरुले गुनासो गरेका छन्।

यसअघि नेपाल एयरलाइन्सका तीन वटा विमान नेपालवाट अष्ट्रेलियन नागरिक तथा पिआरधारीलाई लिएर ब्रिसबेन, सीड्नी र क्यानबेरा आएता पनि सरकारको लापरबाहीका कारण दुई वटा विमान खाली फर्केका थिए भने अन्तिम विमानमा दुई जना बिमारीसहित केही पहुँचवाला गरी एघार जना नेपाल फर्केका थिए।

हामीलाई दिने हो भने पाँच सय डलर सस्तोमा उडाउँछौ‌ं’

सिड्नीमा रहेको एभरेष्ट ट्राभल एन्ड टुर्सका निर्देशक इर्शाद अहमदले समस्यामा परेका नेपालीहरु स्वदेश फर्काउने क्रममा चर्को भाडालाई घटाउन सक्ने भन्दै आफूहरु हालको नेपाल एयरालाइन्सले तोकेको रकम भन्दा पाँच सय डलर सस्तो अर्थात १८ सय अष्ट्रेलियन डलरमा नेपाल पठाउन सक्ने बताएका छन्।

इर्शादले आफूहरुले सिंगापुर एयरलाइन्ससँग कोटेशन माग गरेको र सो बमोजिम हालको नेपाल वायुसेवा निगमको २३ सय ५० अष्ट्रेलियन डलर भन्दा ५ सय ५० डलर सस्तोमा कोटेशन प्राप्त भएको बताए।

‘समस्यामा परेकाहरुलाई राज्यले सुविधामा स्वदेश फर्काउनु पर्छ, जताबाट सस्तो हुन्छ त्यही सुविधा हो’ इर्शादले भने।

हालै ओमानबाट पनि स्थानीय राजदूतावासले नेपाल सरकारको भाडा महँगो भएको कारण सस्तोमा विमान चार्टर्ड गरेर उद्धार गरेको सुनाउँदै इर्शादले भने ‘यसपछिका चार्टर्ड गर्दा दूतावास अगाडि सरेर यात्रुको हितमा निर्णय गर्नसक्नु पर्छ।’

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com