७ अध्यागमन अदालत जुन २९ मा खुल्ने, अरु जुलाई ६ मा, बाँकी अनिश्चित


प्रकाशित मिति : असार ५, २०७७ शुक्रबार

कोरोनाको महामारीका कारण बन्द भएका अमेरिकामा अध्यागमन अदालतहरुमा हिराशतमा हुनेहरुबाहेकका सुनुवाईहरु पनि क्रमश सुचारु हुन थालेका छन् । केही अध्यागमन अदालतहरुमा हिराशतमा हुनेबाहेकका सुनुवाईहरु जुन २९ सोमबारदेखि सुचारु गरिदै छ भने केहीमा जुलाई ६ सोमबारदेखि सुचारु हुने भएको छ ।

एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युका अनुशार शिकागो र साइपनका इमिग्रेशन अदालतहरुमा जुलाई ६ देखि हिराशतमा रहेकाहरुबाहेकका समेत सुनुवाईहरु सुचारु गरिनेछ । त्यस्तै क्लिभल्याण्ड इमिग्रेशन अदालतमा पनि जुलाई ६ देखि नै हिराशतमा रहेकाहरुबाहेकका समेत सुनुवाईहरु सुचारु गरिनेछ ।

होनोलुलु अध्यागमन अदालतमा जुन १५ देखि सबै सुनुवाईहरु सुरु गरिएको छ भने बोस्टन, बफेलो, डायलस, हार्टफोड, लस भेगास, मेम्फिस र न्यु ओर्लियान्समा जुन २९ देखि हिराशतमा रहेकाहरुबाहेकका समेत सुनुवाईहरु सुचारु गरिनेछ । यी बाहेक अन्य सबै अध्यागमन अदालतमा सुनुवाईहरु कम्तीमा जुलाई २ सम्म स्थगित गरिएको छ ।

तर जुलाई ३ मा स्वतन्त्रता दिवशको अवशरमा विदा हुने भएकाले र जुलाई ४ मा शनिबार भएकाले केही अदालतहरुमा जुलाई ६ बाट सुनुवाईहरु सुचारु गर्न लागिएको हो । न्युयोर्कको फेडरल प्लाजा र भेरिक स्ट्रीटमा रहेका अध्यागमन अदालतहरु कहिलेदेखि खुल्ने भन्नेबारे केही बताइएको छैन । तर यी अदालतहरु कम्तीमा जुलाई ६ भन्दा अगाडि खुल्ने सम्भावना भने कम छ । यी अदालतमा फाइलिङ र हिराशतमा हुनेहरुको सुनुवाई भने सुचारु नै रहेको छ ।

अमेरिकाको अध्यागमन अदालतमा मुद्दाको ब्याकलग चर्को रहेको अवस्थामा अदालतमा नियमित सुनुवाईहरु स्थगित हुँदा ठूलो संख्यामा नेपालीहरु समेत मारमा परेका छन् । बर्षौ कुरेर प्राप्त गरेको सुनुवाईको मितिमा पनि सुनुवाई हुन नसक्दा उनीहरुको मुद्दा अनिश्चितकालका लागि पछाडि धकेलिएको छ ।

अमेरिकाको अध्यागमन अदालतमा नेपालीहरुका ३७९५ वटा अध्यागमन केसहरु पेन्डिङ अवस्थामा रहेका छन् । त्यो बाहेक ११ जना नेपालीहरुका अपराधसँग सम्बन्धित देशनिकालाका केसहरु अमेरिकी अध्यागमन अदालतमा रहेका छन् ।

नेपालीका ३७९५ पेन्डिङ केसहरुमध्ये सबैभन्दा धेरै २ हजार ९ न्युयोर्कका अदालतमा रहेका छन् भने दोश्रोमा १ हजार १२ क्यालिफोर्नियाका अदालतमा रहेका छन् । टेक्सासका अदालतमा ३४६ वटा केसहरु रहेका छन् भने मासाचुसेट्सका अध्यागमन अदालतमा १०९ केस पेन्डिङ रहेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com