‘अमेरिकाबाट आउने नेपालीको उडानको बन्दोबस्त दूतावासले गर्नुपर्छ’ – पर्यटनमन्त्री
प्रकाशित मिति : जेष्ठ ३१, २०७७ शनिबार
अमेरिकामा रहेको नेपाली दूतावासले नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एयरलाइन्सको व्यवस्था र हवाई भाडादर निर्धारण नगरेका कारण अमेरिकामा रहेका नेपालीहरुलाई फर्काउन नसकेको दोषारोपण गरिरहँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई उक्त जिम्मेवारी दूतावासको भएको बताउनुभएको छ । अमेरिकामा रहेका पत्रकार सूर्य थापासँगको कुराकानीमा मन्त्री भट्टराईले उडान मिति र एयरलाइन्सको टुंगो लगाएर परराष्ट्र मन्त्रालयमा जानकारी दिने जिम्मेबारी दूतावासको रहेको बताउनुभएको छ ।
मन्त्री भट्टराईले भन्नुभयो – ‘नेपाल फर्कने चाहनेहरुको दूतावासमा प्राप्त सुची हेरेर दूतावासले प्राथमिकताका आधारमा फर्कन चाहे नचाहेको प्रमाणिकरण गर्नुपर्छ । नेपाल फर्कन चाहनेहरु त्यो आधारमा विमान चार्टड गरेर आउन सक्नुहुन्छ । आउनुभन्दा अगाडि दुतावासले यात्रुको सुची, एयरलाइन्सको विवरण र भाडादरबारे परराष्ट्र मन्त्रालयमा जानकारी दिनुपर्छ । परराष्ट्रले भाडादर उचित भए नभएकोबारे पर्यटन मन्त्रालयलाई सोध्छ । भाडादर उचित भएको खण्डमा पर्यटन मन्त्रालयले विमानस्थलसँग समन्वय गरेर उक्त विमानको अवतरणको अनुमति प्रदान गर्छ ।’
अमेरिका र बेलायतमा रहेका नेपालीहरु यही तरिकाबाट नेपाल आउनुपर्ने र यसबारे कसैलाई अन्यौल हुन नहुने मन्त्री भट्टराईले बताउनुभयो । अमेरिकामा रहेको नेपाली दूतावासले अमेरिकामा रोकिएका नेपालीलाई फर्काउन अथक प्रयास गरेपनि पर्यटन मन्त्रालयले समन्वय नगरेको बताइरहँदा पर्यटनमन्त्री भट्टराईले दूतावास र राजदूतहरुलाई यात्रुको विवरण, चार्टड गर्ने विमान र भाडादरसहित परराष्ट्र मन्त्रालयमा सम्पर्क गर्न सुझाव दिनुभएको छ ।
उहाँले भन्नुभयो – ‘दूतावासले परराष्ट्र मन्त्रालयसँग समन्वय गर्नुपर्छ । दूतावासको सिधा सम्पर्क पयर्टन मन्त्रालयसँग हुँदैन । कुन मितिमा उडान गर्ने भन्नेबारे दूतावासले परराष्ट्रबाट स्वीकृति लिनुपर्छ । एयरलाइन्स, भाडादर तय भएपछि त्यसको जानकारी प्राप्त हुनासाथ भाडादर उचित लागेमा हामीले उक्त उडानलाई अवतरण गर्ने अनुमति प्रदान गछौं । प्रकृया यहीं नै हो ।’






