कांग्रेस संसदीय दलको बैठक बस्दै
प्रकाशित मिति : जेष्ठ ३१, २०७७ शनिबार
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । नक्सासम्बन्धी संविधान संशोधन विधेयकमाथि मतदान गर्ने संस्थागत निर्णय गर्न शनिवार (आज) दिउँसोको १२ः३० बजे संघीय संसद भवन, बानेश्वरस्थित ल्होत्से हलमा बैठक बोलाइएको हो ।
कांग्रेसले संविधान संशोधनमा सरकारलाई समर्थन गर्ने बताएको थियो । भारतीय अतिक्रमणमा रहेका नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा संविधानको अनुसूची ३ मा रहेको निसान छापमा राख्न ल्याइएको विधेयकमाथि आज प्रतिनिधिसभामा मतदान हुँदैछ ।
दिउँसो १ बजे बस्ने बैठकबाट नक्सा सम्बन्धी नेपालको संविधान दोस्रो संशोधन विधेयक पारित गर्ने कार्यसूची छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभा बैठकको सुरुमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथिको दफावार छलफल सदनमा गरियोस् भनेर प्रस्ताव गर्ने कार्यसूची छ ।






