अमेरिकी पासपोर्ट जारी गर्न सुरु, पहिलो चरणमा ११ पासपोर्ट सेन्टर र एजेन्सी खुला
प्रकाशित मिति : जेष्ठ २९, २०७७ बिहीबार
कोरोनाको महामारीका कारण नयाँ पासपोर्ट जारी गर्न र नविकरण गर्न बन्द गरेको अमेरिकी सरकारको विदेश मन्त्रालयले सेवा सुचारु गरेको छ । आजदेखि ११ वटा पासपोर्ट एजेन्सीहरुमा पहिलो चरणको सेवा सुचारु गरिएको हो । अमेरिकी सरकारले तीन चरणमा सेवा विस्तार गर्दै लैजाने योजना बनाएको छ ।
कोरोनाको महामारी कारण अमेरिकाले जीवन र मृत्युको इमर्जेन्सीमा बाहेक अन्य अवस्थामा नयाँ पासपोर्ट जारी गर्न र नविकरण गर्न बन्द गरेको थियो । पहिलो चरणमा सिमित कर्मचारीहरु काममा फर्केको र पहिले प्राप्त गरेका आवेदनहरु मात्र प्रकृयामा लैजाने अमेरिकी सरकारको विदेश मन्त्रालयले जनाएको छ ।
जीवनमृत्युको आपतकालिन अवस्थामा रहेका आवेदनलाई प्राथमिकता दिने र त्यो बाहेक पहिलो प्राप्त भएका आवेदनमा पहिले कारवाही गर्नेगरी काम थालिएको जनाइएको छ । यदि ७२ घण्टाभित्र अन्तर्राष्ट्रिय यात्रा गर्नुपर्ने जीवन र मृत्युको इमर्जेन्सी भएकाहरुले एजेन्सीमा अप्वाइन्टमेन्ट लिएर आवेदन दिनुपर्ने सुझाव दिइएको छ । अप्वाइन्टमेन्ट लिएर आउनेहरुलाई मास्क लगाउन र सामाजिक दुरी कायम राख्न भनिएको छ ।
आवेदकहरुले हुलाक लगायतका आवेदन स्वीकार गर्ने स्थलहरुमा पासपोर्ट आवेदन वा नविकरणको आवेदन दिनसक्ने तर पासपोर्ट स्वीकृत भएर प्राप्त गर्नमा भने ढिलाई हुन सक्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । पहिलो चरणमा आवेदन दिने हुलाक वा अन्य आवेदन स्थल खुला रहेको नरहेकोबारे चेक गरेरमात्र जान सुझाव दिइएको छ ।
पहिलो चरणमा अमेरिकी सरकारले पासपोर्ट आवेदन र नविकरण आवेदन दिनका लागि हतार नगर्न सुझाव दिएको छ । गत मार्च ३१ मा अमेरिकी विदेशमन्त्रालयले अमेरिकी नागरिकलाई अमेरिकाबाहिर यात्रा नगर्न सुझावसहित ट्राभल एड्भाइजरी जारी गरेको थियो ।






