नेपालको नयाँ नक्सा लागु गर्ने संविधान संसोधन विधेयक सर्वसम्मतले पारित


प्रकाशित मिति : जेष्ठ २७, २०७७ मंगलबार

प्रतिनिधिसभाको बैठकले ‘नेपालको संविधान (दोस्रो संसोधन ) विधेयक, २०७७ लाई विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

सत्तापक्ष र प्रतिपक्षका सांसदले एकै स्वरले समर्थनसहित सैद्धान्तिक छलफल समाप्त भएपछि सभामुख अग्निप्रसाद सापकोटाले स्वीकृतिका लागि निर्णयार्थ प्रस्तुत गर्दा ‘हुन्न’ भन्ने आवाज सुनिएन । बैठकले सो प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो । सभामुखले स्वीकृत भएको घोषणा गर्दा सदनमा तालीको गडगडाहट चलेको थियो । स्वीकृतिसँगै विधेयकमा संशोधन भएमा पेश गर्न सांसदहरुलाई ७२ घण्टाको समय उपलब्ध भएको छ ।

सो विधेयकमा विचार गरियोस् भनी आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

मन्त्री तुम्बाहाङ्फेले सत्तापक्ष र प्रतिपक्षी दलले एकै स्वरले संशोधनप्रति समर्थन गरेकामा खुशी व्यक्त गर्दै संविधान संशोधनसँग जोडिएका अन्य विषयवस्तुमा आगामी दिनमा छलफल गरिने बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले सरकारले जारी गरेको नयाँ नक्सालाई संविधानले चिह्नका लागि संशोधन ल्याइएको र सबै दल र सांसद एक ठाउँमा उभिएको पाउँदा सबै नेपाली प्रसन्न भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “हामी हाम्रो भूमि फिर्ता लिएर भोगचलन गरेरै छाड्छौँ ।” प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २८ गते बुधबार बिहान ११ बजे बस्नेछ ।

छिमेकी भारतसँगको कूटनीतिक वार्तामा नेपाली पक्ष बलियो हुने

प्रतिनिधिसभाका सदस्यहरुले नेपालको अन्तर्राष्ट्रिय सीमासहितको नयाँ नक्सा जारी हुनुले छिमेकी भारतसँगको कूटनीतिक वार्तामा नेपाली पक्ष बलियो हुने जनाउनुभएको छ ।

प्रतिनिधिसभाको बैठकमा नेपालको संविधान (दोस्रो संंशोधन) विधेयक, २०७७ माथिको सैद्धान्तिक छलफलमा उहाँहरुले लामो समयदेखि थाती रहेको सीमा मुद्दालाई किनारा लगाउने क्रममा नयाँ नक्सा जारी गरी संधिवान संशोधन प्रस्ताव ल्याउने आँट गरेकामा प्रधानमन्त्री केपी शर्मा ओली र उहाँको मन्त्रिपरिषद्का सदस्यप्रति प्रशंसा गरिएको थियो ।

विगतमा राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको रक्षाका लागि भएका सकारात्मक प्रयासको पनि सांसदहरुले स्मरण गर्दै संशोधन पारित भएका दिन मुलुकमा दीपावली गर्न आग्रह गर्नुभयो । सो विधेयकमा विचार गरियोस् भनी आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फले प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

बैठकमा नेपाली काँग्रेसका डा प्रदीप गिरीले जमीन हाम्रो हो भन्नेमा बहस गर्न पर्दैन तर पर्याप्त गृहकार्य गरेर भूमि फिर्ता ल्याउन आग्रह गर्नुभयो । नेकपाका महेश बस्नेतले नेपालको नयाँ नक्साबारेको संशोधनमा अन्य विषय नजोड्न आग्रह गर्दै मिचिएको भूमि ल्याउन सरकारले पहल गरोस् भन्नुभयो ।

नेकपाका गोकुलप्रसाद बाँस्कोटाले मुलुक अहिले नयाँ इतिहास निर्माण गर्ने क्रममा रहेको बताउँदै नेपाल सुगौली सन्धिले निर्धारण गरेको सीमा कटेर पश्चिम गएको नभई भारत आफैँ सम्झौता नाघेर आएपछि उत्पन्न भएको सीमा विवाद नक्कली विवाद हो भन्नुभयो । नेकपाका अञ्जना विसङ्खेले भारतीय सेना कुन विधिबाट हटाउन सक्छौँ, त्यसतर्फ सबै एकबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली काँग्रेसका दिलेन्द्रप्रसाद बडूले यो विधेयकमाथिको छलफल प्रारम्भ हुनु राष्ट्रका लागि महत्वपूर्ण पाइला भएको बताउनुभयो । उहाँले सन् १८१६ को सुगौली सन्धिअनुसारको नेपालको स्वामित्व ग्रहण गर्ने विषय ऐतिहासिक भएको बताउनुभयो । सोही पार्टीका भीमसेनदास प्रधानले प्रधानमन्त्री ओलीलाई मिचिएको भूमि फिर्ता ल्याउने अवसर प्राप्त भएको र उहाँको राष्ट्रवादको पहिचानको परीक्षणका रुपमा आफूले लिएको बताउनुभयो । उहाँले भारतले हाम्रो जमीनबाट बाटो बनाएर उद्घाटन गर्ने अनि वार्ता पनि गर्छु भन्नुले स्थिति अझै पनि जटिल रहेको उल्लेख गर्नुभयो । उहाँले अभूतपूर्व एकताका बीच नयाँ र कठिन यात्राको प्रारम्भमा वार्ताको टेबलमा राख्ने विषय भनेको सन् १८१६ को सहमति मान्ने कि नमान्ने भन्ने नै हो भन्नुभयो ।

नेकपाका भूमि त्रिपाठीले कूटनीतिक वार्ताका लागि नक्सा बलियो आधार हुने टिप्पणी गर्नुभयो । नेकपाका लालबाबु पण्डितले भारत सरकार वार्तामा नआएमा तीन महिनाको चेतावनी दिई अन्तर्राष्ट्रिय मञ्चसहित सुरक्षात्मक स्थितिलाई बलियो भएर प्रस्तुत हुनुपर्ने बताउनुभयो । नेकपाका विमला विक, विशाल भट्टराई, मनकुमारी जिसी, राजेन्द्र गौतम, सोमप्रसाद पाण्डे, रामकुमारी झाँक्री, गणेशसिंह ठगुन्ना र झपटबहादुर रावलले पनि समर्थनमा धारणा व्यक्त गर्नुभयो ।

नेकपाकै मेटमणि चौधरी, जुलीकुमारी महतो, घनश्याम खतिवडा रेखाकुमारी झा, लीलानाथ श्रेष्ठ, मोहन वानिया, शेरबहादुर तामाङ, नरबहादुर धामी, महेश्वरजङ गहतराज, टेकबहादुर बस्नेत, दीपकप्रकाश भट्ट, निरादेवी जैरी, पवित्राकुमारी निरौला, सुजिता शाक्य, नारायणप्रसाद मरासैनी, तीलबहादुर महत लालबहादुर थापा, राधाकुमारी ज्ञवाली, हरिराज अधिकारी, यज्ञराज सुनुवार, नारदमुनि राना, निरुदेवी पाल, कृष्णबहादुर राई, खेमप्रसाद लोहनी, जीवनराम श्रेष्ठ, यज्ञबहादुर बोगटी, शान्तिमाया पाख्रिन, पार्वतीकुमारी विशुन्के र सुरेशचन्द दासले पनिसो छलफलमा भाग लिनुभएको थियो ।

यस्तै नेपाली काँग्रेसका पार्वता डिसी चौधरी, सञ्जयकुमार गौतम, भरतकुमार शाह, राजेन्द्र केसी, लक्ष्मी परियार, प्रकाश रसाइली, पदमनारायण चौधरी, दिव्यमणि राजभण्डारीले संशोधनका पक्षमा धारणा व्यक्त गर्नुभएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com