सम्भवत दुई सातामा अमेरिकामा रोकिएका नेपालीहरु नेपाल फर्किन पाउने


प्रकाशित मिति : जेष्ठ २२, २०७७ बिहीबार

कोरोना महामारीका कारण अमेरिकामा रोकिएका नेपाली नागरिकहरु अन्तत नेपाल फर्किन पाउने भएका छन् । बिभिन्न गैर आप्रवासी भिसामा आएर अमेरिकामै रोकिएका नेपालीहरुलाई फर्काउन सरकारको निर्देशन अनुसार राजदूतावासले अहिले पहल थालेको छ ।

अमेरिकामा अड्केका नेपालीहरुलाई नेपाल फर्काउन मद्दत गर्ने भन्दै दूतावासले विवरण संकलन गरिरहेको छ । दूतावासले उपलब्ध गराएको फर्म भर्नेहरु अहिलेसम्म ५ सय ५० को हाराहारीमा छन् । उनीहरुले तत्काल नेपाल फर्किन पाउनुपर्ने बाध्यात्मक अवस्था रहेको भन्दै आवेदन दिएका हुन् । कोरोना महामारीका कारण अमेरिका थुनिएका नेपाली नागरिकले नेपाल फर्किने माग राख्दै महिनौं देखी हारगुहार गरिरहेका छन् ।

नेपाल फर्कन चाहनेहरुले आफ्नो अपडेटेड विवरण यो फर्ममार्फत उपलब्ध गराउनुहोला । पुरानो फर्मको विवरण प्रयाप्त नभएको भन्दै दूतावासले यो फर्म भर्न सुझाव दिएको छ ।

उनीहरुले आफुहरुले टिकटको पैसा आफैले तिर्ने र क्वारेन्टीनमा बस्दा लाग्ने खर्च समेत आफैले तिर्ने भन्दै माग राखेको भएपनि सरकारले त्यो माग सुनेको थिएन ।  अमेरिकामा रोकिएका नेपालीहरुलाई स्वदेश फर्काउनका लागि एनआरएनए अमेरिका र पोखरामा प्रधान कार्यलय रहेको बतास अर्गनाईजेशनले संयोजन गरिरहेका थिए । दुवै संस्थाले संकलन गरेको बिवरण अनुसार अमेरिकाबाट नेपाल फर्किन चाहना भएकाहरु ७ सय भन्दा बढी छन् ।

बतास अर्गनाईजेशनका कार्यकारी निर्देशक शान्ताराज बतासले भने – ‘हामीले लामो समयदेखी अमेरिका लगायत विश्वभरबाट स्वदेश फर्किन चाहनेहरुको बिवरण संकलन गरेर सरकार तथा दूतावासमा पठाएका थियौं । अन्तत ढिलै भएपनि सरकारले हाम्रो माग सुनेको छ, देश फर्किन पाउने सुचनाले हामी खुसी भएका छौं । महिनौं देखी सरकार तथा सम्वन्धीत निकायमा हारहुगार गरिरहेकाहरु अन्तत सरकारको पहलमा नेपाल फर्किने आशामा छन् । बिभिन्न भिसामा अमेरिका आएकाहरुले खर्चको अभाव हुने गरेको, भिषामा समेत समस्या भएको र नेपालमा आफन्तको रेखदेखमा समेत समस्या थपिएको गुनासो गर्दै आएका थिए ।’

नेपाल सरकारले खाडी मुलुकसंगै अमेरिका अष्ट्रेलिया लगायतका देशबाट यसरी आफ्ना नागरिक ल्याउन पहल थालेको छ । राजदूतावासको जानकारी अनुसार सम्भवत दुई हप्तामा अमेरिकाबाट केही नेपालीहरु नेपाल फर्किन पाउनेछन् । बाणिज्य दूतावास न्यूयोर्कका कार्यवाहक महाबाणिज्यदूत पुष्पराज भट्टराईका अनुसार अहिले नेपाल सरकारको निर्देशनमा राजदूतावासले नेपाल फर्कन बाध्यात्मक अवस्था भएका  नेपाली नागरिकहरुको बिवरण संकलन गरिरहेको छ ।  संकलित बिवरण नेपाल सरकारलाई समेत पठाईसकिएको छ ।

बिभिन्न भिषामा बिभिन्न मुलुक पुगेका नागरिकलाई ल्याउन परराष्ट्र मन्त्रालयले राजदूतावास तथा बाणिज्यदूतावासहरुलाई समन्वय गर्न भनेको छ । दूतावासहरुले अहिले सम्वन्धीत देशमा रहेका नेपाली नागरिकलाई सम्पर्कमा आउने भनेको छ । नेपाल सरकारले साउदी, मलेशिया लगायतका खाडी मुलुकबाट पहिलो चरणमा शुक्रबारबाट देश फर्किन चाहने भएका नेपालीहरुलाई क्वारेन्टीनको व्यवस्था सहित फर्काउने योजना बनाएको छ । अमेरिकामा रोकिएका नेपाली शान्ताराज बतासका अनुसार यसरी नेपाल फर्किने चाहना भएकाहरुले १५ सय देखी १९ सय अमेरिकी डलर तिर्नुपर्नेछ ।

हाल टर्किस एयरलाइन्सले प्रतिव्यक्ति १९ सय अमेरिकी डलरमा सिधा नेपालको चार्टर फ्लाइट गर्ने प्रतिवद्धता जनाएको छ । साथै उक्त बिमान कम्पनीले नेपालबाट ल्याउने र अमेरिकाबाट फकार्उने काम पाएमा प्रतिव्यक्ति १५ सय अमेरिकी डलरमा उडान भर्ने जनाएको बताइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com