नदेखिने किरा


प्रकाशित मिति : बैशाख २०, २०७७ शनिबार

– श्री पराजुली

राती करिव ११ बजेको हुँदो हो । काम सकेर भुरे डेरामा जान निस्कियो ।

आज भुरेलाई दिनभरको कामले पनि थकान महसुस गराएको थिएन । सप्ताहन्तमा पाइने एकदिने छुट्टीमा उसको साथी भने डेरामा नै थियो ।

गुन्ज्रुङग परेको कपालसहित नाकै फुट्लाजस्तो मसला र बेसारको गन्ध बोकेर भुरे फुरुंग हुँदै डेरामा पुगेर कुनामा विछ्याइएको सानो लिपिटे लम्पटमा बेहिसाव पल्ट्यो भुरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

छुट्टीमा आज घरै बसेको नरुले दङग पर्दै सोध्यो – ‘आज निकै खुशी देखिन्छस् त भुरे ?’

‘सुन न नरु । भोलिदेखि देशी भुंडेको होटलमा काम गर्न जानुपर्दैन । डेरामै बस्ने, पैसा पनि पाइने रे ।’

‘नचाहिंदो पारा ननिकाल न भुरे । यस्तो पनि कही हुन्छ ?’ –  नरुले पत्याएन ।

‘हो त, आँखाले पनि नदेखिने सानो किरा शहरभरी छिरेको छ रे । लखनउमात्र हो र ? दिल्ली, बम्बई, कलकत्ता सबैतिर छ रे । देशी भुंडे भन्दै थियो त्यो किरा त चामलको बोरा, भर्यांग, हामीले माझ्ने भाँडा वर्तनमा समेत छपक्कै हुन्छ रे । त्यहाँ छुने वित्तिकै हातमा, हातबाट नाक मुखहुँदै फोक्सोमा पुगेर सारसौंदो मान्छेलाई भुतुक्कै मार्छ रे । त्यही भएर देशी भुंडेले होटलको काम नै बन्द गर्ने रे ।’ –  भुरेले बेलिबिस्तार लगायो ।

भुरेको कुरा सुनेर नरुले अचम्म मानेर भुरेलाई हेरिरह्यो । उसले आफ्नो गाउँमा सर्पले डसेर मान्छे मरेको , चितुवाले मान्छे लुछेको, हैजा पखाला जस्तो महामारी चलेको त सुनेकै हो । तर यस्तो अदृश्य कस्तो किरा होला, उसलाई पत्याउनै गाह्रो भयो ।

अझ ति खैरो कपाल र रातो छाला भएका मान्छेहरुले त नजानेको र नसक्ने केही नै छैन भन्ने उसले सुनेको थियो । अझ उनीहरुकै पो उठीबास गर्दैछ भन्दा उसलाई अचम्मै लाग्यो ।

भुरेले होटलबाट ल्याएको सेतो चामलको भात र भुटेको पहँलो दालसँग खाएर उनीहरु आआफ्नो लिपिटोमा पल्टे ।

काममा जानु नपर्ने भएकाले भुरे र नरु ढाडमा काम लागुन्जेल सुते । करिब १२ बजेको हुँदो हो, कसैले उनीहरुको ढोका ढकढक गर्दै करायो । उनीहरुले स्वर चिनिहाले ।

‘यो भुंडे फेरी किन आयो ‘ भन्दै नरुले उठेर आङ तान्दै ढोका खोल्यो । बाहिर देशी भुंडे साहु ठिङग उभिएको थियो । भुरेपनि झटपट उठिसकेको थियो ।

‘हेर केटा हो, यो किराले गर्दा होटल कहिलेसम्म खुल्छ केही पत्तो छैन । काम नभएपछि कसरी ज्याला दिने तिमीहरुलाई ? आफ्नै घरदेश जाओ ।’ –  साहुले खोकीलाबाट केही रुपैया झिकेर दुबैजनालाई हातमा राखिदियो ।

‘हिजो त काम नभएपनि पनि पैसा दिने कुरा थियो त । कसरी फेरियो कुरा ?’ – मुन्टो तल झुकाउँदै भुरेले सोध्यो ।

देशी भुंडे केही नबोली फटाफट आफ्नो बाटो लाग्यो । नरु र भुरेले ऊ परसम्म गएको हेर्दै उभिरहे ।

अब अर्को विकल्प नै के थियो र ? उनीहरुले आफ्ना सामान पोको पारे । अनि पोकापन्तुरा बोकेर लखनउको रेल अड्डातिर लागे ।

अड्डाको स्टेशनमा एउटा खाकी लुगा र आँखामात्र देखिनेगरी मुख पुरै ढाकेको मान्छेले उनीहरु दुबैको निधारमा एउटा हाते मेसिनले टिक्क टिक्क रेलभित्र जाने अनुमति दियो । रेलको टिकट त उनीहरुले लिइसकेका नै थिए ।

एकैछिनमा रेल धुँवा फ्याक्दै र क्वाँ क्वाँ गर्दै हिड्ने तरखर गर्यो । भुरेले झ्यालबाट मुन्टो निकालेर एकपोका भुटेको चना किन्यो । छकछक गर्दै रेल अगाडि बढ्यो । र, तीब्र गतिमा कुद्न थाल्यो ।

झ्यालबाट बाहिर हेर्दा बाटोमा रुखहरु विपरित दिशातिर बेजोड दौडिरहेका देखिन्थे । भुरे र नरु पोकाको चना चपाउँदै पछाडि दौडेका रुखहरु हेर्दै अगाडि बढे निरन्तर ।

पाँच छ घण्टाको यात्रापछि उनीहरु गोरखपुर आइपुगे । भोक लागेको थियो । गोरखपुरका ‘भात होटल’हरु पनि त्यही नदेखिने किराको डलर बन्द रहेछन् । गोरखपुर पहिलेभन्दा निकै सुनसान थियो । बाटोमा रहेको ठेलाबाट दुईचारपोका कुर्मुरे किनेर झोलामा हाले । अनि उनीहरु सुनौली जाने बस अड्डातिर हान्निए ।

उनीहरुको भाग्य नै भन्नुपर्छ, एउटा अस्थीपञ्जर जस्तो लाग्ने बस सुनौली जान तयारी अवस्थामा थियो । एकदमै ठेलमठेल र धकेलाधकेल गर्दै उनीहरु बसभित्र चढे । एकछिनमै त्यो जतिमान्छे पनि बोक्नसक्ने चमत्कारिक भाँडो भारीले लादिएको गधाजस्तै गरी अगाडि बढ्न थाल्यो । साँझपख हुन लाग्दा नलाग्दै त्यो बस नरु र भुरेको घरदेशको सिमानामा पुगेर रोकियो ।

आफ्ना पोका पन्तुरा बोकेर भुरे र नरु विस्तारै सुनौलीको नेपाल भारत सिमानामा रहेको नेपाल प्रवेश गर्ने द्वारतिर अगाडि बढे । नेपाल प्रवेश गर्ने द्वारमा निलो कपडा लगाएका मान्छे छ्यापछ्याप्ती रहेछन् । भुरे र नरुलाई उनीहरुले आफ्नो गाउँमा पस्नबाट रोक्छन् ।

‘हामी गाउँ छिर्न किन नपाउने हो र साहेब ?’ –  उनीहरुले छक्क पर्दै सोधे ।

‘तिमीहरु विदेशबाट आएका हौ । त्यो नदेखिने किरा तिमीहरुसँग टाँसिएर आएको हुनसक्छ । त्यसो भयो भने त हाम्रो पूरै गाउँ किराले सखाप पार्छ । त्यसैले तिमीहरु अहिले गाउँ छिर्न मिल्दैन । गाउँको मुखियाको आदेश नै यही हो ।’ –  टाउकोमा गुलावी रंगको टोपी र निलो लुगा लगाएको मानिसले भन्यो ।

यति भन्दै नरु र भुरे लगायत गाउँ छिर्न लागेका सयौं गाउँलेलाई सिमानाको ढोकामा अलपत्र राखियो । केही घण्टापछि उनीहरुलाई नौतनवा लगियो र निलो कपडाले बेरिएको पालमा राखियो ।

ती सबै निला पालहरुमा नरु र भुरेले नबुझ्ने भाषाका ठूलाठूला अक्षर पनि छापिएका थिए । पछी बुझ्दा ती चीनिया भाषाका अक्षर रहेछन् । नरु र भुरे लगायत धेरै मान्छेहरु पालभित्र छिरे । ती पालभित्र पहिले नै खचाखच मानिसहरु रहेछन् ।

कतिजेन्ल यो निलो पालभित्र गुम्सनुपर्ने हो उनीहरुलाई थाहा थिएन ।

‘हैन ए भुरे, यो किरा त साह्रै डरलाग्दो पो रैछ है ?’ –  नरुले भुरेको कानमा फुस्फुसायो ।

भुरेले ‘अँ’ को भावमा टाउकोमात्र हल्लायो ।

त्यो पालभित्र पहिले नै बसिरहेको एउटा चिल्लो अनुहार भएको मान्छेले आफ्नो दुबै कानमा तार लगेर केही सुनिरहेको थियो । सुन्दासुन्दै घरीघरी मुख बिगाथ्र्यो । अनि आफैसँग केही कुरा गरेजस्तै गथ्र्यो । अधवैंशे त्यो व्यक्तिले धेरै कुरा जाने बुझे जस्तो लाग्थ्यो ।

‘कहिलेसम्म गाउँ छिर्न पाइएला, यसैलाई सोध्नुपर्यो ।’ –  नरुले मनमनै विचार गर्यो । अनि सोधीपनि हाल्यो – ‘दाजु हामी कहिले गाउँ छिर्न पाइएला ?’

कानमा लगाएको तार निकाल्दै उसले भन्यो – ‘केही थाहा छैन ‘

‘मुख्यौली पदको बारेमा झगडा भइरहेको छ । अहिले सबै मुखियाहरु त्यही सभामा व्यस्त छन् । त्यसैले हामी कहिले गाउँ जान पाउँछौं, केही पत्तो छैन केटा हो ।’ –  उसले अझ बेलिबिस्तार लगायो ।

‘हसियाप्रसादको मुख्यौली खोस्न लागेछन् कि क्या हो फुलचन्द्र र कृष्णकुमारले ?’ –  भुरेले उत्सुक हुँदै सोध्यो ।

‘खै त्यो त मैले पनि बुझिन । तर हसियाप्रसादलाई फुलचन्द्र र कृष्णकुमारप्रति त्यती विश्वास नलागेर अर्को डफ्फा आएपनि मुख्यौली सभामा सदस्य हुनपाउने फरमान जारी गरेछन् । त्यो कुरा फुलचन्द्र र कृष्णकुमारलाई चित्त बुझेनछ ।’ –  उसले अझै थप्यो ।

उसले बेलिविस्तार लगाइरहेको थियो । भुरे र नरु भने हसियाप्रसाद, फुलचन्द्र र कृष्णकुमारको मुख्यौली खिचातानी सकिएपछि गाउँ छिर्न पाइने आशामा निलोपालभित्र अरुसँगै निदाउने कोसिसमा पल्टे ।

 

श्री पराजुली

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com