कोरोना संक्रमणपछि हिडेरै अस्पताल गएका न्युयोर्क निवासी ४७ बर्षका थापाको निधन


प्रकाशित मिति : चैत्र २८, २०७६ शुक्रबार

कोरोना संक्रमणबाट न्युयोर्कको ज्याक्सनहाइटमा बस्दै आएका ४७ बर्षका राजकुमार थापाको निधन भएको छ । गत मार्च १९ मा उनलाई कोरोना संक्रमण पुष्टी भएपछि अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

न्युयोर्कको क्वीन्समा रहेको एल्महस्र्ट अस्पतालबाट नर्थ सेन्ट्रल ब्रोक्स अस्पतालमा ट्रान्सफर गरिएका उनको निधन भएको एल्महस्र्ट अस्पतालको डाइरेक्टरको कार्यालयले पुष्टी गरेको छ । डायरेक्टरको कार्यालयका अधिकारीले थापाको मृत्यु भएको जानकारी मेरिल्याण्ड राज्यको संसदका डेलिगेट ह्यारी भण्डारीलाई आजविहान दिएका हुन् । उनको मृत्यु हिजो नै भएको श्रोतले जानकारी दिएको छ ।

उनलाई गत मार्च १४ बाट अस्पतालमा भर्ना गरिएको थियो । उनी हिडेर अस्पताल पुगेका थिए । मार्च १७ सम्म उनले परिवारका सदस्यहरु र आफन्तहरुसँग फोनमा कुरा गर्दै आएका थिए । त्यसपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । मार्च १९ मा कोरोना संक्रमणको पुष्टी भएपछि अस्पतालले नशाबाट दिने सेन्टरलाइन औषधी चलाउनका अनुमति मागेको थियो । त्यसपछि परिवारले उक्त औषधी चलाउन अनुमति दिएका थिए ।

उनले न्युयोर्कमा उबर चलाउँदै आएपनि कोरोनाको त्रासका कारण मार्चको सुरुदेखि नै उबर चलाउन छाडेका थिए । सुरुमा ज्वरो आएपछि उनी प्राइमरी केयर डाक्टरकोमा गएका थिए र चारदिनपछि फ्लोअपमा बोलाएको थियो । चारदिन पछि फ्लोअपमा बोलाएर एन्टीबायोटिक औषधी दिएको थियो तर एन्टीबायोटिक औषधी खाइसकेपछि झन् च्यापेपछि उनी हिडेरै ज्याक्सनहाइटमा रहेको अर्जेन्ट केयर सीटीएमडीमा गएका थिए ।

त्यहाँ गएर चेक गर्दा अक्सिनको लेभल कम देखिएको र निमोनियाको संक्रमण भएको बताएको थियो । सीटीएमडीले अस्पताल जान रिफर गरेपछि उनी हिडेरै एल्महस्र्ट अस्पताल गएका थिए । त्यसपछि अस्पतालले भर्ना गरेको थियो ।

४७ बर्षका थापामा विगतमा अरु कुनै स्वास्थ्य समस्या नभएको तर प्रेसरको औषधी खाने गरेको पारिवारिक श्रोतले बताएको छ । उनलाई कसरी संक्रमण भएको थियो भन्नेबारे केही खुलेको छैन ।

मार्चको अन्तिमसातादेखि अहिलेसम्म न्युयोर्कमामात्र थापासहित ६ जना नेपालीको निधन भइसकेको छ । जसमध्ये ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने अरुको मृत्युको कारण सार्वजनिक गरिएको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com