‘आफू औषधी खाएर निको भएँ, आइसोलेसनमा बसेर परिवारलाई जोगाएँ’ : बेगम पण्डित, न्युजर्सी


प्रकाशित मिति : चैत्र २२, २०७६ शनिबार

– किशोर पन्थी

अमेरिकाको न्युजजर्सीमा बस्दै आएका ४७ बर्षका नेपाली बेगम पण्डितलाई १३ दिन अगाडि कोरोना संक्रमणको लक्षण देखियो । त्यसपछि उनलाई तत्कालै आफूलाई आइशोलेट गरे । जसका कारण परिवारका अन्य सदस्यहरुमा कोरोना संक्रमण हुन पाएन ।

शुक्रबार प्राप्त रिपोर्टमा उनलाई कोरोना संक्रमण भएको पुष्टी भयो तर परिवारका सदस्यहरुलाई भने कुनै लक्षण देखिएको छैन । उनी भन्छन् – ‘१३ दिन अगाडि जब मलाई कोरोना संक्रमणको लक्षण देखियो । मैले तत्कालै आफूलाई आइशोलेट गरें । छुट्टै कोठामा बस्न थालें । परिवारका सदस्यहरुसँग नजिकको सम्पर्कमा आइन ।’

उबर र लिफ्ट चलाउँदै आएका उनी मार्च १३ सम्म काममै खटिएका थिए । जब अमेरिकामा संकटकालको घोषणा गरियो, तब उनी काम छाडेर घरमा बसे । बीचमा एकपटक न्युयोर्कको रिजउडमा गएका थिए उनी । त्यो बाहेक उनी घरमै बसिरहे । तर मार्च २२ को राती उनलाई अचानक ज्वरो आयो । उनी भन्छन् – ‘राती सुतेपछि जाडो भएजस्तो अनुभव भयो । मलाई ज्वरो आएको रहेछ । राती थर्मामिटर नभएकाले ज्वरो कति थियो नाप्न सकिएन । तर ज्वरो आएको अनुभव भयो ।’

त्यसपछि उनले भोलिपल्ट विहान टायलोनोल औषधी लिए । त्यसपछि पसिना आयो र ज्वरो पनि घट्यो । दिउसो ४ बजे औषधी लिएपछि ज्वरो आएन । सामान्य ज्वरोमात्र भएकाले उनले सुरुमा आफूलाई कोरोना संक्रमणको आशंका गरेनन् ।

मार्च २३ सोमबार बेलुका लिएको औषधीको कारण उनलाई मंगलबार पनि ज्वरो आएन । त्यसपछि उनले औषधी खाएनन् ।

तर झण्डै ७२ घण्टापछि उनलाई ज्वरो फर्कियो । उनलाई १०२ डिग्रीसम्म ज्वरो आयो । उनले आफ्नो प्राथमिक स्वास्थ्य सेवा प्रदायक डाक्टरलाई सम्पर्क गर्दा डाक्टरले सामान्य ज्वरोमात्र भएकाले कोरोना संत्रमणको आशंका गरेनन् । तर उनको मनले मानेन । औषधी खाँदा पनि ज्वरो निको नभएपछि गत सोमबार उनी कोरोना भाइरसको टेस्ट गर्नका लागि २२ माइल ड्राइभ गरेर न्युजर्सीमा रहेको ड्राइभ थु्र टेस्ट लोकेशनमा गए । झण्डै तीनघण्टा पछि उनको पालो आयो । उनले स्वाब नमुना दिएर फर्किए ।

त्यसपछि उनी घरमा नै टायलोनोल र बेसार पानी खाएर आराम गरिरहे । लगातार ज्वानो पानी र अदुवापानी खाइरहे । विहिबारदेखि उनलाई ज्वरो पनि आएको छैन भने उनले आफूलाई निको हुँदै गइरहेको अनुभव गरेका छन् । तर शुक्रबार उनको कोरोना टेस्टको नतिजा आयो, त्यसमा उनलाई कोरोना पोजेटिभ भएको बताइयो ।

उनलाई फोन गरेर कोरोना पोजेटिभ भएको बताइयो भने घरमै आइसोलेसनमा रहन सुझाव दिइयो । घरमै आराम गर्न र गाह्रो भएमा मात्र अस्पतालमा जान सुझाव दिइयो । उनी भन्छन् – ‘अहिले घरमै आराम गरिरहेको छु । रिकभर भइसकेको अनुभव भएको छ ।’

कोरोनाको महामारी फैलिदै गएपछि नै आफू अलग्गै कोठामा सुत्न थालेको बताउँछन् उनी । उबर र लिफ्ट चलाउने क्रममा धेरै व्यक्तिसँग सम्पर्कमा आउने भएका कारण आफू पहिलेदेखि नै छुट्टै कोठामा सुत्दै आएको र लक्षण देखिएपछि विशेष सावधानी अपनाएको उनको भनाई छ । उनी भन्छन् – ‘म अहिले छुट्टै कोठामा बसेको छु । म छुट्टै भाँडाकुँडाहरु प्रयोग गर्दै आएको छु । अलग्गै शौचालय प्रयोग गर्छु । श्रीमतिले खानेकुराहरु त्यही भाँडामा खन्याइदिने गरेकी छिन् ।’

बेगम पण्डित आफ्नो ८ बर्षको छोरा र श्रीमतिसहित न्युजर्सीमा बस्दै आएका छन् ।

मार्चको पहिलो सातातिर एकजना झण्डै १२ बर्षका यात्रुलाई लिएर म्यानहटनबाट न्यु रोशेल गएका थिए उनी । ती यात्रुले बाटोमा कैयनपटक खोकेका थिए । ती व्यक्तिबाट आफूलाई कोरोना संक्रमण भएको आशंका गर्छन् उनी । तर उनलाई कहाँबाट आफूलाई संक्रमण भयो भन्ने यकिन भने छैन ।

आफूलाई खासै खोकी नलागेको र स्वासप्रश्वासमा पनि समस्या नभएको बताउँछन् उनी । आफूले रक्तचापको औषधी सेवन गर्दै आएपनि कोरानलाई पराजित गर्न सफल भएको उनको अनुभव छ । त्यसैले रक्तचाप वा अरु कुनै औषधी सेवन गरेको भएतापनि कोरोना संक्रमण भयो भन्दैमा नआत्तिन सुझाव दिन्छन् उनी । तर आफूलाई कोरोना संक्रमण भएपनि नभएपनि सबैले सावधानी अपनाउनुपर्ने उनको भनाई छ ।

अहिले लक्षण नभएका व्यक्तिले अरुलाई सक्रमित गरिरहेका रिपोर्टहरु आइरहेका छन् । साइलेन्ट क्यारिअरका रुपमा उनीहरुले आफूलाई लक्षण नभएपनि अरुलाई कोरोना भाइरस सारिरहेका छन् । जसका कारण जोखिमपूर्ण अवस्थामा रहेका व्यक्तिमा संक्रमण हुनगई ज्यान समेत जाने गरेको छ । त्यसैले आफूलाई संक्रमण भएपनि नभएपनि सावधानी अपानाउन उनी सुझाव दिन्छन् ।

उनी भन्छन् – ‘मसँग छैन , मलाई केही फरक पर्दैन भनेर हिडेमा आफूलाई र अरुलाई घातक हुनसक्छ । कस्को शरिरभित्र कोभिड छ थाहा छैन । परीक्षण नहुँदासम्म व्यक्तिले आफूभित्र कोभिड छ भन्ने सम्झेर सावधानी अपनाउनुपर्छ । यसो भएमा साइलेन्ट क्यारिअर बनेर अरुलाई कोरोना सार्ने सम्भावना कम गर्न सकिन्छ भने अरुबाट आफूलाई संक्रमित हुनबाट पनि जोगाउन सकिन्छ ।’

अहिले कसैलाई कोरोना संक्रमणको लक्षण नदेखिएपनि भविश्यमा संक्रमण हुनसक्ने आँकलन गरेर त्यसका लागि पूर्वतयारीहरु गर्नसमेत उनले सुझाव दिएका छन् । उनी भन्छन् – ‘भइहालेमा आफूले कसरी कोरोनाबिरुद्ध लड्ने र परिवारलाई कसरी जोगाउने भन्नेबारे पूर्वतयारी आवश्यक छ ।’

कोरोनाका कारण अहिले त्रास बढिरहेको र संक्रमण हुनासाथ बिरामीहरु आत्तिने गरेका छन् । तर बेगम पण्डितले पनि आत्मबल उच्च राख्न सुझाव दिएका छन् । परिवारका कुनै सदस्यलाई कोरोना संक्रमण भएमा सावधानी अपनाएर सहयोग गर्न उनले सुझाव दिएका छन् । उनी भन्छन् – ‘मलाई श्रीमति यति राम्रो हेरचाह गरिरहेकी छिन् कि मलाई कुनै पनि चीजको कमी हुन दिएकी छैनिन् ।’

पहिलो लक्षण देखिएको सातदिन पूरा भएपछि कुनै लक्षण नेदेखिएको खण्डमा र भएका लक्षणमा सुधार आएमा आफूले कोरोनालाई पराजित गरेको निकर्ष निकाल्न सकिने सुझाव डाक्टरहरुले दिएका छन् । त्यस्तै कुनै औषधी सेवन नगर्दापनि तीनदिनसम्म ज्वरो आएन भने पनि निको भएको बुझ्नुपर्ने डाक्टरको भनाई छ । बेगम पण्डितलाई पनि दुईदिनदेखि ज्वरो आएको छैन । तर पनि उनी अझै केहीदिन आइसोलेसनमा नै बस्ने योजनामा छन् ।

कोरोना भाइरसको सेकेण्ड टेस्ट पनि लिन सकिने र त्यसका लागि हेल्थ केयर प्रोभाइडरलाई सम्पर्क गर्न सुझाव दिइएको छ ।

(हामीले कोरोना संक्रमण भइसकेपछि रिकभर भइरहेकाहरुको अनुभव प्रकाशित गर्दै आएका छौं । यति तपाईको पनि त्यस्तो अनुभव छ भने हामीलाई सम्पर्क गर्नुहोला ।)

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com