कोरोना महामारी : न्युयोर्कमा अहिलेसम्म एकसय १० नेपाली परिवारलाई सहयोग


प्रकाशित मिति : चैत्र २०, २०७६ बिहीबार

न्युयोर्कका नेपालीहरुको सहयोग समुह अर्जेन्ट नेपाली एड नेटवर्क फर कोभिड १९ मार्फत अहिलेसम्म न्युयोर्कमा एकसय १० परिवारलाई विभिन्न खाले सहयोग उपलब्ध गराइएको छ । समुहका सदस्य तथा एनआरएनए न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारीका अनुशार न्युयोर्कमा एकसय १० नेपाली परिवारलाई समुहमार्फत विभिन्न खाले सहयोग उपलब्ध गराइएको छ ।

अधिकारीले भने – ‘सबै परिवार कोरोना संक्रमित वा लक्षण देखिएका परिवार भने होइनन् । हामीले ६० बर्षमाथिका र बाहिर जाँदा संक्रमणको जोखिम हुने विभिन्न स्वास्थ्यअवस्था भएका परिवारहरुलाई पनि सहयोग उपलब्ध गराइरहेका छौं ।’

कुनै न कुनै रुपमा कोरोनाको महामारीबाट प्रत्यक्ष प्रभावित परिवारहरुलाई आफूहरुले प्राथमिकतामा राखेको अधिकारीले जानकारी दिए । उनले भने – ‘हिजोमात्र १५ वटा परिवारहरु थपिएका छन् । हामीले कोरोनाबाहेकका अन्य बिरामीलाई औषधी लिनजाँदा जोखिम भएको खण्डमा उनीहरुका औषधी पिकअप गरिदिने व्यवस्था समेत गरेका छौं । लक्षण देखिएकाहरुलाई डाक्टरसँग सम्पर्क गराइदिने, औषधी र थर्मामिटर पुराइदिने लगायतका काम गरिरहेका छौं ।’

एनआरएनए न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारी

कोरोना संक्रमित र उनीहरुका परिवारलाई घरबाहिर ननिस्कन प्रोत्साहन गरिरहेको अधिकारीले जानकारी दिए । त्यस्ता परिवारका लागि ग्रोसरी लगायतका सामानहरु घरमा पुर्याइदिने गरेको उनले बताए । अर्जेन्ट नेपाली एड नेटवर्क फर कोभिड १९ मा अहिले २३ जना स्वयंसेवकहरु सकृय रहेको उनको भनाई छ ।

उक्त समुहका लागि आवश्यक पर्ने संस्थागत कामहरु एनआरएनए न्युयोर्क च्याप्टरमार्फत गरिएको अधिकारीले जानकारी दिए । सामान डेलिभरीको शुल्क अधिकांश सम्बन्धित परिवारले तिरेको र कतिपय स्वयंसेवकहरु तथा प्रभावित परिवारका आफन्तहरुले तिरेको अधिकारीले जानकारी दिए ।

न्युयोर्कमा कोरोना संक्रमित नेपालीहरुको यकिन संख्या सार्वजनिक भएको छैन । तर कम्तीमा ४ सय जना नेपालीहरुमा कोरोना संक्रमित पुष्टी भइसकेको विभिन्न तथ्यांकहरुले देखाएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com