म अमेरिकी नागरिक होइन, के मैले १२ सय डलरको चेक पाउँछु ?


प्रकाशित मिति : चैत्र १६, २०७६ आईतबार

तपाई अमेरिकी नागरिक नभएपनि अमेरिकी सरकारले कोरोना भाइरसको महामारीबिरुद्ध जुध्न ल्याएको राहत प्याकेजले प्रदान गर्ने १२ सय डलरको चेक पाउन सक्नुहुनेछ । तर तपाई अमेरिकी सरकारको करदाता हुनुपर्छ । अर्थात् तपाईले सोसल सेक्युरिटी नम्बर प्राप्त गरेर कर तिरेको हुनुपर्छ ।

अमेरिकामा सोसल सेक्युरिटी नम्बरसहित बसोबास गरिरहेका र काम गरिरहेका गैर नागरिकहरुले समेत यो चेक प्राप्त गर्नुहुनेछ । जसमा कामदार भिसामा काम गरिरहेकाहरु र ग्रिनकार्डवाहक समेत पर्दछन् । तर भिजिटर भिसामा अमेरिका आएकाहरु र अमेरिकामा गैरकानुनी रुपमा बसोबास गरिरहेकाहरु भने योग्य हुनेछैनन् ।

पारित गरेको प्याकेजमा गैरआवासीय व्यक्ति उक्त रकम प्राप्त गर्न योग्य नहुने उल्लेख छ । सामान्यतया विद्यार्थी भिसामा रहेकाहरु, जे, क्यु भिसामा रहेकाहरु, विदेशको सरकारका कर्मचारीहरु गैरआवासीय व्यक्तिका रुपमा गणना गरिन्छ । तर अमेरिकामा विगत तीनबर्षको अवधिमा १८३ दिन अमेरिकामा बसेका लगायतका व्यक्तिहरु आवासीय व्यक्तिका रुपमा गणना हुन्छन् ।

आईआरएसको उपस्थीति परिक्षणमा जुनसुकै अध्यागमन स्टाटस भएपनि व्यक्ति आवासीयको परिभाषामा पर्नसक्छ । र, यो परिभाषामा परेर ट्याक्स फाइल गरेको व्यक्तिले सरकारबाट पाउने राहत चेक प्राप्त गर्न सक्नेछ । तर ए, जी, जे, क्वु, एफ, एम लगायतका भिसामा रहेका व्यक्तिहरु उपस्थीति परीक्षणमा प्रयाप्त समय बसेपनि आवासीयको परिभाषामा नपर्ने भएकाले राहत रकमका लागि योग्य हुनेछैनन् ।

को आवासीयको परिभाषाभित्र पर्छ ? को पर्दैन ? यहाँ चेक गर्नुहोला ।

२ ट्रिलियन अमेरिकी डलरको यो प्याकेजमा एकजना करदातालाई १२ सय डलर, विवाहितलाई २४ सय डलर र १७ बर्षभन्दा कम उमेरका परिवारका सदस्यका लागि थप ५ सय डलर प्रदान गरिने उल्लेख गरिएको छ । बार्षिक ७५ हजार भन्दा कम आम्दानी हुने एकजनालाई १२ सय डलर प्रदान गरिने छ । यदि दम्पत्तिले ज्वाइन्ट ट्याक्स फाइल गरेका छन् र उनीहरुको आम्दानी बार्षिक १ लाख ५० हजार भन्दा कम रहेको छ भने उनीहरुले २४ सय डलर प्राप्त गर्नेछन् ।

७५ हजारभन्दा बढी आम्दानी हुनेहरुका सन्दर्भमा हरेक एकसय डलर बढी आम्दानीमा ५ डलर घटाउँदै लगिनेछ । ९९ हजारसम्म आम्दानी हुनेलेमात्र रकम प्राप्त गर्नेछन् जस अनुशार कसैको ८० हजार आम्दानी छ भने उसले ९५० प्राप्त गर्नेछ भने ९० हजार आम्दानी हुनेले ४५० प्राप्त गर्नेछ ।

त्यस्तै विवाहित जोडीको सन्दर्भमा १ लाख ५० हजार भन्दा धेरै बार्षिक आम्दानी हुनेले हरेक १ सय डलरमा ५ डलर घटाउँदै हिसाब गरेर रकम दिइनेछ । अर्थात् यदि कसैको १ लाख ६० हजार बार्षिक आम्दानी छ भने उनीहरुले १९ सय डलर पाउनेछन् । अधिकतम १ लाख ९८ हजार आम्दानी हुने जोडीलेमात्र रकम पाउनेछन् ।

प्याकेजको पूर्ण पाठ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com