अमेरिकामा रहेका नेपालीहरुलाई घरबाहिर ननिस्कन राजदूत कार्कीको आग्रह


प्रकाशित मिति : चैत्र १३, २०७६ बिहीबार

अमेरिकाका लागि नेपाली राजदूत डाक्टर अर्जुन कार्कीले अमेरिकामा रहेका नेपालीहरुलाई सकभर घरबाहिर ननिस्कन आग्रह गर्नुभएको छ । आज आयोजित कन्फेन्स कल बैठकमा राजदूत कार्कीले घरबाहिर निस्कँदा संक्रमणको जोखिम बढ्ने भएकाले सकभर घरभित्रै बस्न आग्रह गर्नुभएको हो ।

कोरोना सक्रमितको संख्यामा अमेरिकाले चीन र इटलीलाई समेत उछिने लगत्तै कन्फ्रेन्स कल बैठकको आयोजना गरिएको हो । यो समाचार तयार पार्दासम्म अमेरिकामा ८३ हजार १६ जनामा संक्रमण पुष्टी भएको छ भने ११९७ को मृत्यु भएको छ ।

धेरै नेपालीहरु अहिले पनि काममा खटिरहनुभएको जानकारी प्राप्त भएकाले एकदुईसाता काम नगर्दा आर्थिक समस्या आउँछन् भने समुदाय मिलेर सम्बोधन गर्नुपर्ने उहाँको भनाई छ ।

उहाँले दूतावासको अत्वाश्यक काम सुचारु राखिरहेको तर पासपोर्ट, भिसा र अधिकृत वारेसनामाको सन्दर्भमा इमर्जेन्सी बाहेकका अन्य सन्दर्भमा अहिले दूतावासमा नआउन उहाँले अनुरोध गर्नुभएको छ । तर इमर्जेन्सी भएमा भने अप्वाइन्टमेन्ट तय गरेर विहान १० बजेदेखि १२ बजेसम्म सेवा दिने उहाँको भनाई छ ।

समस्यामा परेकाहरुको भनाई सुन्न दूतावासमा चौबीसै घण्टा फोनको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । साथै समस्यामा परेकाहरुका समस्या सम्बोधन गर्नमा लागि दूतावास परिवार लागिपरेको उहाँले बताउनुभयो ।

दूतावासमा मुख्य दुई प्रकारका समस्याहरु दर्ता भएको उहाँले जानकारी दिनुभयो । अमेरिकामा भिजिटर लगायतका गैरआप्रवासी भिसामा आउनुभएका र भिसाको म्याद सकिएका वा सकिन लागेकाले पहिलो समस्या दर्ता गराउनुभएको उहाँले बताउनुभयो ।

त्यस्तै अमेरिकामा विद्यार्थी भिसामा आएका र पढाई सकेर फर्कन लागेकाहरुले भिसा थप्न नमिल्ने र अमेरिकामा बस्दा ओभरस्टे हुने सम्भावना रहेकाहरुले सम्पर्क गरेको राजदूत कार्कीले जानकारी दिनुभयो ।

कन्फेन्स कल बैठकमा अमेरिकामा रहेका नेपाली समुदायका व्यक्तित्वहरुको सहभागिता रहेको थियो । अमेरिकामा रहेका नेपाली स्वास्थ्यकर्मीहरुको समेत सहभागिता रहेको बैठकमा उनीहरुले कोरोना भाइरस सम्बन्धि विभिन्न सुझावहरु दिएका थिए ।

कोरोना भाइरसको महामारीबिरुद्ध जुध्न एनआरएनएका तर्फबाट गरिएका गतिविधि र उपलब्ध श्रोतहरुका बारेमा एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल शाहले जानकारी दिएका थिए । त्यस्तै अन्य संघ संस्थाका प्रतिनिधिहरुले पनि समुदायका तर्फबाट भएका पहलका बारेमा जानकारी दिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com