बर्नी स्याडर्सले जिते अमेरिकी राष्ट्रपतिका लागि न्यु ह्याम्पशायर डेमोक्रेटिक प्राइमरी


प्रकाशित मिति : माघ २८, २०७६ मंगलबार

अमेरिकी राष्ट्रपतिका लागि न्यु ह्याम्पशायर डेमोक्रेटिक प्राइमरी बर्नी स्याण्डर्सले जितेका छन् । पिट बुटाजजलाई झिनो मतान्तरले पछाडि पार्दै बर्नीले प्राइमरी जितेका हुन् । आयोवा ककसमा बुटाजजले बर्नीलाई झिनो मतान्तरले जितेका थिए ।

बर्नी स्याण्डर्सले २६ प्रतिशत र पिट बुटाजजले २४ दशमलव ४ प्रतिशत मत प्राप्त गरेका छन् । तेश्रोमा एमी क्लोबुचारले १९ दशमलव ८ मत प्राप्त गरेकी छिन् । आयोवा ककसपछिको यो दोश्रो प्राइमरी निर्वाचन हो ।

के हो  डेमोक्रेटिक न्यु ह्याम्पशायर प्राइमरी ?

डेमोक्रेटिक पार्टीका राज्यका प्राइमरीहरु र ककसहरुमा मतदाताहरुले राष्ट्रपति उम्मेदवारहरु छान्ने मुख्य प्राइमरीका लागि  डेलिगेट्सहरु चुन्छन् । त्यसैमध्येको एउटा हो न्यु ह्याम्पशायर प्राइमरी ।

न्यु ह्याम्पशायरबाट राष्ट्रिय महाधिवेशनमा २४ जना प्रतिबद्ध र ९ स्वतन्त्र गरी ३३ डेलिगेटहरुले प्रतिनिधित्व गर्नेछन् । जसले प्राइमरीमा बढी मत प्राप्त गर्छ, उसैका धेरै डेलिगेट हुनेछन् ।

डेमोक्रेटिक न्यु ह्याम्पशायर प्राइमरी राष्ट्रपति चुनावका लागि प्राइमरी हुने सिजनको दोश्रो मुख्य प्रतिस्पर्धा हो । यसअगाडि आयोवा ककस भएको थियो , जसमा बुटाजजले अग्रस्थान हासिल गरेका थिए ।

आयोवाबाट राष्ट्रिय महाधिवेशनका लागि पिट बुटाजजले १४ डेलिगेट्स पाउने भएका छन् भने बर्नी स्याडर्सले १२ डेलिगेट्स पाउने भएका छन् । त्यस्तै एलिजाबेथ वारेनले ८, जो बाइडेनले ६ र एमी क्लोबुचारले १ डेलिगेट पाउने भएका छन् । आयोवाबाट जम्मा ४१ जना प्रतिबद्ध डेलिगेटसहरुले राष्ट्रिय महाधिवेशनमा सहभागिता जनाउनेछन् ।

न्यु हयाम्पशायरमा डेमोक्रेटिक प्राइमरी पछि फरबरी २२ मा नेभाडामा ककस हुनेछ । त्यस्तै फरबरी २९ मा साउथ क्यारोलिनामा डेमोक्रेटिक प्राइमरी भइसकेपछि मार्च ३ मा सुपर ट्युजडे अर्थात् १५ राज्यमा प्राइमरी र ककसहरु हुनेछन् । विभिन्न राज्यमा ककस र प्राइमरी हुँदै अन्तिम ककस भर्जिन आइल्याण्डमा जुन ६ मा हुनेछ ।

डेमोक्रेटिक पार्टीका राज्यका प्राइमरीहरु र ककसहरुमा मतदाताहरुले सम्भावित राष्ट्रपति उम्मेदवारहरुलाई मतदानमार्फत चुन्छन् । बन्द प्राइमरी वा ककसमा रजिस्टर्ड मतदाताहरुलेमात्र भोट हाल्न पाउँछन् ।

हरेक प्राइमरी र ककसमा डेलिगेट्सहरुको निश्चित नम्बर हुन्छ । उनीहरुले राष्ट्रिय महाधिवेशनमा आफ्नो राज्यको प्रतिनिधित्व गर्छन् । प्राइमरी वा ककसबाट जुन उम्मेदवारले आफ्नो पक्षका धेरै डेलिगेट्सहरु प्राप्त गर्छ, त्यही उम्मेदवारले राष्ट्रिय महाधिवेशन मार्फत प्राइमरी जितेर राष्ट्रपतिको अन्तिम प्रतिस्पर्धामा भाग लिन पाउँछ । पार्टीका आफ्ना स्वतन्त्र डेलिगेट्स र सुपरडेलिगेट्स पनि हुन्छन् । स्वतन्त्र वा सुपरडेलिगेटहरु कुनै निश्चित उम्मेदवारलाई मतदान गर्न बाध्य हुँदैनन् ।

डेमोक्रेटिक पार्टीको राष्ट्रिय महाधिवेशन

डेमोक्रेटिक पार्टीको राष्ट्रिय महाधिवेशन आगामी जुलाई १३ देखि १६ सम्म हुनेछ । यो महाधिवेशनबाटै राष्ट्रपति र उपराष्ट्रतिका लागि पार्टीका तर्फबाट अन्तिम उम्मेदवारको टुंगो लगाइनेछ । ककस र प्राइमरीबाट छानिएका डेलिगेटसहरुले जुन उम्मेदवारका लागि छानिएका हुन्, त्यही उम्मेदवारलाई मत हाल्नुपर्छ भने स्वतन्त्र र सुपरडेलिगेटले आफूले चाहेको उम्मेदवारलाई मत हाल्न पाउँछन् ।

पहिलो राउण्डमा मतदान हुँदा उम्मेदवारका प्रतिबद्ध डेलिगेटहरुलेमात्र भोट हाल्न पाउँछन्, यति उनीहरुले भोट हाल्दा कसैको पनि बहुमत नआएमा स्वतन्त्र डेलिगेटहरुले भोट हाल्न पाउँछन् । पहिलो राउण्डमा कसैको पनि बहुमत नआएमा दोश्रो राउण्डमा प्रतिबद्ध डेलिगेटहरुले पनि जुनसुकै उम्मेदवारलाई भोट हाल्न पाउँछन् भने स्वतन्त्र वा सुपर डेलिगेटले पनि भोट हाल्न पाउँछन् ।

सन् २०२० को डेमोक्रेटिक पार्टीको राष्ट्रिय महाधिवेशनका लागि झण्डै ४५९४ जना डेलिगेटहरु हुने अपेक्षा गरिएको छ जसमा कुनै उम्मेदवारप्रति प्रतिबद्ध ३८३६ र स्वतन्त्र सुपर डेलिगेटहरु ७५८ जना हुनेछन् । पहिलो राउण्डको चुनावबाट डेमोक्रेटिक पाईमरीमा छानिनका लागि राष्ट्रपति उम्मेदवारले कम्तीमा १९१९ मत ल्याउनुपर्नेछ । यदि पहिलो राउण्डमा उक्त मत ल्याउन नसकेको खण्डमा सुपरडेलिगेटहरुले समेत दोश्रो राउण्डमा त हाल्नेछन् र प्राइमरी जित्नका लागि २२९८ मत ल्याउनुपर्नेछ ।

विभिन्न राज्यबाट महाअधिवेशनमा प्रतिनिधित्व गर्ने डेलिगेट्सहरुको संख्या तय गरिएको हुन्छ । उदाहरणका लागि न्युयोर्कबाट ३२७ डेमोक्रेटिक डेलिगेट्सले भाग लिनेछन् भने क्यालिफोर्नियाबाट सबैभन्दा धेरै ४९५ जना डेमोक्रेटिक डेलिगेट्सहरुले महाधिवेशनमा भाग लिनेछन् ।

महाधिवेशनबाट चुनिएका राष्ट्रपतिका एकजना डेमोक्रेटिक उम्मेदवारले रिपब्लिकन उम्मेदवारसँग अन्तिम चुनावमा प्रतिस्पर्धा गर्नेछन् । सन् २०१६ को डेमोक्रेटिक नेशनल कन्भेन्सनमा हिलारी क्लिन्टनले २८४२ र बर्नी स्याडर्सले १८६५ मत ल्याएका थिए । र हिलारी क्लिन्टन नै ट्रम्मसँग चुनाव लड्नका लागि छानिएकी थिइन् ।

यसरी हुन्छ अमेरिकामा राष्ट्रपति चुनाव

अमेरिकी चुनावमा मतदान गर्न योग्य अमेरिकीहरुले इलेक्टोरल मतका लागि इलेक्टरहरु छान्नका लागि अमेरिकी इलेक्टोरल कलेजका सदस्यहरुका लागि मतदान गर्दछन् । त्यस्ता इलेक्टरहरुले पहिले नै आफूले कुन उम्मेदवारका लागि मतदान गर्ने भन्ने सार्वजनिक गरिसकेका हुन्छन् । जनताबाट छानिएका इलेक्टरहरुले राष्ट्रपति र उपराष्ट्रपतिका लागि इलेक्टोरल मतदान गर्दछन् । मतदानपछि पूर्ण बहुमतप्राप्त उम्मेदवारलाई विजेता घोषणा गरिन्छ ।

यदि राष्ट्रपतिका लागि कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न नसकेको खण्डमा प्रतिनिधीसभाले राष्ट्रपति छान्ने र उपराष्ट्रपतिका लागि कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न नसकेमा सिनेटले उपराष्ट्रपति छान्ने व्यवस्था रहेको छ । जम्मा ५३८ इलेक्टोरल मतमध्ये विजेता हुनका लागि कम्तीमा २७० मतको आवश्यकता पर्छ ।

५० वटा राज्य र वासिंटन डिसीबाट जनसंख्याको अनुपातको आधारमा ५३८ इलेक्टोरल मतको तय गरिएको छ । धेरैजसो अमेरिकी राज्यले प्राय एउटै दलका उम्मेदवारहरुलाई जिताउने गरेपनि फ्लोरिडा, पेन्सिलभेनिया र ओहायोको महत्व भिन्न रहेको छ । यी राज्यहरुले राष्ट्रपतीय चुनावमा आफ्नो अभिमत बदल्दै आएका छन् । तीनको निर्णयले सबै चुनावी परिणाम बदल्न सक्ने भएकाले यी तीन राज्यलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ ।

सन् २०१२ को राष्ट्रपतीय चुनावमा बराक ओबामाले ३३२ इलेक्टोरल मत प्राप्त गरेका थिए भने मिट रोम्नीले २०६ इलेक्टोरल मत प्राप्त गरेका थिए । सन् २००८ को राष्ट्रपतीय चुनावमा भने ओबामाले ३६५ इलेक्टोरल मत प्राप्त गरेका थिए । त्यतीबेला उनका प्रतिस्पर्धी जोन म्याकनले १७३ इलेक्टोरल मत प्राप्त गरेका थिए । सन् २०१२ को चुनावसम्म आइपुग्दा ओबामाको लोकप्रियता कम भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com