जनसम्पर्क समिति अमेरिकाको अधिवेशन ६ बर्षपछि अप्रिलमा, सफल पार्न सभापति बिष्टको आब्हान


प्रकाशित मिति : माघ २४, २०७६ शुक्रबार

नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन ६ बर्षपछि अप्रिल ११ र १२ मा हुने भएको छ । सन् २०१४ मा टेक्सासमा भएको अधिवेशनबाट सभापतिमा आनन्द बिष्ट निर्वाचित भएका थिए । त्यो यता नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन हुन सकेको छैन ।

नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन प्रक्रिया सुरु भएको सभापति आनन्द बिष्टले जानकारी दिएका छन् । उनले भनेका छन् – ‘नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन प्रक्रिया सुरु भएको जानकारी गराउन पाउँदा म व्यक्तिगत रुपमा निकै उत्साहित छु ।’

‘अनेक आरोह अवरोहका बीच हामी अहिले नयाँ नेतृत्व चयन र नेपाली जनसम्पर्क समिति,अमेरिकाको सांगठनिक भविश्य निर्माणको प्रक्रियामा होमिएका छौं ।’ –  बिष्टले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

बुधवार राती सम्पन्न बैठकले अधिवेशनको कार्य तालिका समेत प्रकाशित गरेको छ । अप्रिल ११ र १२ केन्द्रीय अधिवेशन गर्ने,मार्च २८ र २९ च्याप्टर अधिवेशन गर्ने र मार्च १५ भित्र जनसम्पर्क समिति अमेरिकाको सदस्यता वितरण गर्ने निर्णय भएको छ ।

साथै मार्च १५ भित्र नै मातृपार्टी नेपाली कांग्रेसको निर्देशन अनुसार पार्टीमा पेश गर्नका लागि क्रियाशील सदस्यताको सूची पनि संकलन गरिने जनाइएको छ ।

बिष्टले अधिवेशनको विकल्प नरहेको बताउँदै सबैलाई यो तीन महिनाको समय सीमाभित्र अधिवेशन सम्पन्न गर्नका लागि आ आफ्नो तहबाट सहयोग गर्न अनुरोध गरेका छन् ।

उनले भनेका छन् – ‘नेपाली जनसम्पर्क समिति,अमेरिका मातृपार्टी नेपाली कांग्रेसको निकाय हो । त्यसैले हामी पार्टीको नीति,निर्देशन र विधि विधान विपरित जाने परिकल्पना पनि गर्न सक्दैनौं । यसका साथै हामी बसोवास गरिरहेको भूमिको कानुनको पनि हामीले पालना गर्नुपर्छ ।’

विगतमा पनि क्रियाशील सदस्यता आवेदन फाराम अलग र साधारण सदस्यता फाराम अलग्गै भरेर अधिवेशन गरेको नजीर रहेकाले पार्टीसंग पूर्ण समन्वय र परामर्श गरेर कठीनाईहरुको समाधान खोज्न निरन्तर लाग्ने बिष्टले जनाएका छन् ।

उनले भनेका छन् – ‘हाम्रो संस्था राम्रो बनाउने दायित्व हामी आफ्नै हो । त्यसैले म आव्हान गर्दछु, सबै मिलेर होस्टेमा हैंसे गर्दै अधिवेशनको माहौलमा जुटौं र अधिवेशन सफल बनाउँ ।’

‘मेरो जिम्मेवारी भनेको समितिको निष्पक्ष अधिवेशन सम्पन्न गरी निर्वाचित नेतृत्व हस्तान्तरण गर्ने हो । म तपाईं सबै साथीहरुलाई उत्साहका साथ यस माहौलमा हातेमालो गर्दै अधिवेशन सफल बनाउन जुट्नु हुन अपील गर्दछु ।’- बिष्टले आब्हान गरेका छन् ।

नेपाली काँग्रेसले विदेशको नागरिकता लिएको व्यक्ति पार्टीको कृयाशिल सदस्य हुन नसक्ने वैधानिक प्रावधान बनाएपछि अन्यौल श्रृजना भएको हो । जसका कारण अमेरिका लगायत विदेशमा रहेका नेपाली काँगेस सम्बद्ध जनसम्पर्कसमितिले अधिवेशन समेत गर्न पाएका छैनन् ।

नेपाली काँग्रेसको नयाँ विधानको १२ नम्बर बुँदाको ख मा नेपाली काँग्रेसको सदस्यता प्राप्त गरेको १ बर्ष पुगेको विदेशमा बसेको नेपाली नागरिकले नेपाली काँग्र्रेसको कृयाशिल सदस्यता प्राप्त गर्नका लागि सम्बन्धित देशको जनसम्पर्क समितिमा तोकिएबमोजिम आवेदन गर्न सक्ने तर त्यसका लागि नेपाली नागरिकता र नेपाली राहदानीको प्रमाणित प्रतिलिपी पठाउनुपर्ने व्यवस्था गरेको छ । यसर्थ जनसम्पर्क समितिको कार्यसमितिमा आउनका लागि नेपाली काँगेसको कृयाशिल सदस्य हुनुपर्ने प्रावधान रहेका कारण विदेशको नागरिकता लिएका र जनसम्पर्क समितिको कार्यसमितिमा आउन चाहनेमाथि बन्देज लागेको छ ।

नेपाली काँग्रेसको विधान

खासगरी अमेरिका, क्यानडा, अष्ट्रेलिया, बेलायत जस्ता मुलुकमा बस्दै आएका नेपाली काँग्रेसहरुलाई विदेशको नागरिकता लिएको खण्डमा पार्टीको कृयाशिल सदस्य हुन नपाउने प्रावधानले ठूलो झड्का लागेको छ । किनभने यी मुलुकहरुमा बस्ने कैयनले अहिलेसम्म ती देशको नागरिकता लिएरै नेपाली काँग्रेसको सकृय राजनीति समेत गर्दै आएका छन् ।

नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि छनौट लगायतका प्रकृयामा  विदेशको नागरिकता लिएकाहरु सहभागी हुन पाउनेछैनन् । अहिलेकै जनसम्पर्क समितिका कार्यसमितिहरुमा समेत विदेशको नागरिकता लिएका नेपालीहरु रहेका कारण उनीहरुको कृयाशिल सदस्यता समेत धरापमा परेको छ ।

म्याद सकिएका जनसम्पर्क समितिको अधिवेशन ६ महिनाभित्र

नेपाली काँग्रेसले म्याद सकिएका विदेशमा रहेका जनसम्पर्क समितिहरुको अधिवेशन ६ महिनाभित्र गर्न निर्देशन दिएको थियो । गत कार्तिक ५ मा मुख्यसचिव कृष्णप्रसाद पौडेलले नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन तयारी समितिका अध्यक्षलाई पत्राचार गरेर यसबारे जानकारी गराएका थिए ।

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको भदौ १७ गते बसेको बैठकले पार्टीसँग आवद्ध विदेशस्थीत नेपाली जनसम्पर्क समितिहरुमध्ये म्याद समाप्त भएका जनसम्पर्क समितिहरुका कार्य समितिहरुलाई अधिवेशन तयारी समितिमा रुपान्तरण गर्ने र त्यस्ता जनसम्पर्क समितिहरुले कृयाशिल सदस्यता वितरण र नविकरणको कार्य सम्पन्न गरी केन्द्रसँग समन्वय गरी बढीमा ६ महिनाभित्र अधिवेशन गर्ने गरी यथाशीघ्र प्रकृया आरम्भ गर्न निर्देश गर्ने निर्णय गरेको थियो ।

नेपाली जनसम्पर्क समिति अमेरिकाको म्याद सन् २०१७ को नोभेम्बरमा नै सकिएको हो । अहिले म्याद सकिएको २ बर्ष पुगिसकेको छ भने सभापति आनन्द बिष्ट नेपाली काँग्रेसको आमन्त्रित केन्द्रीय सदस्यको भूमिकामा रहेका छन् । पहिले नै अधिवेशन हुनमा कैयन समस्याबाट गुज्रेको नेपाली जनसम्पर्क समिति अमेरिकामा कार्यसमितिमा आउन र पार्टीको कृयाशिल सदस्य हुनका लागि अमेरिकी नागरिकता लिएको हुन नहुने प्रावधानले समस्या थपिदिएको छ ।

६ महिनाभित्र अधिवेशनका लागि गरिएको परिपत्र ।

के छ समाधानको उपाय ?

यो समस्या समाधानका लागि नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले नोभेम्बर १९ मंगलबार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई सुझाव सहितको पत्र पठाएका थिए । अहिले कृयाशिल सदस्यता फारम र साधारण सदस्यता फारम अलग अलग भरेर महाधिवेशन गर्ने योजनामा जनसम्पर्क समिति अमेरिका रहेको छ ।

विदेशस्थीत नेपाली जनसम्पर्क समितिहरुले कृयाशिल सदस्यता वितरण र नविकरणको कार्य सम्पन्न गरी केन्द्रसँग समन्वय गरी बढीमा ६ महिनाभित्र अधिवेशन गर्ने गरी यथाशीघ्र प्रकृया आरम्भ गर्न भनिएकोमा सो अनुशार अधिवेशन प्रकृया अगाडि बढ्नमा समस्या भएको जनसम्पर्क समिति अमेरिकाको ठहर छ । त्यसका लागि नोभेम्बर १४ मा बसेको जनसम्पर्क समिति अमेरिकाको बैठकले अधिवेशन प्रकृया सहजिकरणका लागि केही सुझावहरु तयार गरेको थियो । ती सुझावहरु पार्टी सभापति देउवालाई पठाइएको थियो ।

नेपाली जनसम्पर्क समिति अमेरिका अमेरिकाको कानुनी प्रकृया पूरा गरी वैधानिक रुपमा दर्ता भएको समिति भएकाले अमेरिकी कानुन अनुशार समितिको साधारण सदस्यता वितरण गरेपछिमात्र अधिवेशन गर्नुपर्ने वैधानिक प्रावधान छ । यो वैधानिक समस्या अमेरिकाकोमात्र नभएर युरोपका देशहरु, क्यानडा, अष्ट्रेलिया र बेलायतको पनि हो । जनसम्पर्क समितिको कार्यसमितिमा आउनका लागि कृयाशिल सदस्य हुनुपर्ने र कृयाशिल सदस्य हुनका लागि विदेशको नागरिकता लिएको हुन नहुने प्रावधानका कारण कुनै वैकल्पिक उपाय नखोजे कैयन काँग्रेसहरु अधिवेशन प्रकृयाबाट वञ्चित हुनसक्ने जनसम्पर्क समिति अमेरिकाको ठहर छ ।

अमेरिकी नागरिकता लिएको व्यक्ति जनसम्पर्क समिति अमेरिकाको सभापति हुन पाउनुपर्ने तर नेपाली काँग्रेसको पदेन महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य हुन नपाउने व्यवस्थासहित महाधिवेशनका लागि बाटो खोलिदिन पार्टी सभापति देउवालाई अनुरोध गरिएको थियो । साथै विदेशमा रहेका जनसम्पर्कसमितिहरुलाई सम्बन्धित देशको कानुन अनुशार साधारण सदस्यता वितरण गरी नेतृत्व चयन गर्ने प्रावधानको व्यवस्था गर्न समेत अनुरोध गरिएको थियो ।

अब अमेरिकी नागरिकता लिएको व्यक्ति समेत जनसम्पर्क समितिको कार्यसमितिमा आउन त सक्नेछ तर माउपार्टीको कृयाशिल सदस्य हुन नपाउने भएका कारण महाधिवेशन प्रतिनिधि वा महासमिति सदस्यका रुपमा प्रतिनिधित्व गर्न पाउनेछैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com