अमेरिकी अदालतबाट २०१९ मा ६२५ नेपालीलाई एसाइलम, २४५ को अस्वीकार


प्रकाशित मिति : पुस २४, २०७६ बिहीबार

किशोर पन्थी

अमेरिकी अध्यागमन अदालतबाट आर्थिक वर्ष सन् २०१९ मा ६२५ जना नेपालीहरुलाई एसाइलम स्वीकृत गरिएको छ । गत बर्ष अध्यागमन न्यायाधिसहरुले कुल ६७ हजार ४०६ एसाइलमका मुद्दाहरु फैसला गरेकोमा ६२५ नेपालीहरुले एसाइलम पाएका हुन् ।

एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युको तथ्यांक अनुशार आर्थिक बर्ष २०१९ मा अमेरिकी अध्यागमन अदालतबाट २४५ जना नेपालीहरुको एसाइलम भने अस्वीकार गरिएको छ । त्यस्तै ५ जनालाई भने अन्य प्रकारको सुविधा स्वीकार गरिएको छ ।

एसाइलम अस्वीकृत गरिएका २४५ जना नेपालीहरुलाई देशनिकालाको आदेश दिइएको छ । उनीहरुमध्ये केहीले अध्यागमन अदालतको फैसलाबारे अपिल गरेका छन् ।

आर्थिक बर्ष २०१९ मा एसाइलम पाउनेमा सबैभन्दा धेरै चिनियाहरु ३६२३ जना रहेका छन् । दोश्रोमा एल साल्भाडोरका २४१९ र इन्डियाका २००६ रहेका छन् । ग्वाटेमालाका चौथो र होण्डुरसका पाँचौं स्थानमा छन् । मेक्सिकोका छैठौं, क्युबाका सातौं र क्यामरुनका आठौं स्थानमा छन् ।

२०१९ मा अमेरिकी अदालतबाट एसाइलम स्वीकृत हुनेमा नेपालीहरु विश्वमा नै नवौं स्थानमा रहेका छन् । नेपालीहरुपछि दशौं स्थानमा भेनेजुएलाका नागरिक छन् ।

२०१९ मा अदालतबाट एसाइलम पाउने नेपालीहरुमा २३६ जना विभिन्न भिसामा अमेरिकामा आएर एसाइलम गरी युएससीआईएसबाट अस्वीकृत हुनेहरु रहेका छन् भने ३८९ जना भने मेक्सिकोको सिमाक्षेत्रमा गैरकानुनी रुपमा अमेरिका प्रवेश गरेर एसाइलम दावी गर्नेहरु छन् ।

अदालतबाट २०१९ मा एसाइलम अस्वीकृत हुने नेपालीहरुमा ५४ जना विभिन्न भिसामा अमेरिकामा आएर एसाइलम गरी युएससीआईएसबाट अस्वीकृत भइसकेकाहरु हुन् । त्यस्तै १९१ जना नेपाली भने मेक्सिकोको सिमाक्षेत्रमा गैरकानुनी रुपमा अमेरिका प्रवेश गरेर एसाइलम दावी गर्नेहरु हुन् ।

२०१९ मा अमेरिकी अदालतबाट एसाइलम स्वीकृत हुने नेपालीहरुमा न्युयोर्कबाट ३७४ जना, क्यालिफोर्नियाबाट १५७ जना, टेक्सासबाट ५२ जना, मासाचुसेट्सबाट १० जना, कोलोराडोबाट २ जना, मेरिल्याण्डबाट ६ जना रहेका छन् । त्यस्तै २०१९ मा अमेरिकी अदालतबाट एसाइलम अस्वीकृत हुने नेपालीहरुमा न्युयोर्कबाट ९३ जना, क्यालिफोर्नियाबाट २३ जना, टेक्सासबाट १४ जना र मेरिल्याण्डबाट ५ जना रहेका छन् ।

सन् २००१ देखि अहिलेसम्म अमेरिकी अदालतबाट ४७३८ जना नेपालीहरुको एसाइलम स्वीकृत भइसकेको छ भने १८४० जना नेपालीहरुको एसाइलम अस्वीकृत भएको छ । अन्य प्रकारको सुविधा पाउनेहरुमा ७१ जना रहेका छन् ।

यसमा अमेरिकामा विभिन्न भिसामा आएर युएससीआईएसबाट एसाइलम दावी गरेर स्वीकृत हुनेहरुको संख्या समावेश छैन । यसरी एसाइलम पाउनेमा अधिकांश आफूलाई माओवादी पीडित बताउनेहरु छन् ।

सन् २००१ देखि अहिलेसम्म अमेरिकी अदालतबाट एसाइलम पाउनेमा मेक्सिकोको सिमाक्षेत्रमा गैरकानुनी रुपमा अमेरिका प्रवेश गरेर एसाइलम दावी गर्नेहरु १५१२ जना रहेका छन् । उनीहरुमध्ये प्राय सबै दलाललाई लाखौं रुपैया बुझाएर सिमाक्षेत्रबाट अमेरिका प्रवेश गर्नेहरु हुन् ।

उनीहरुमध्ये अधिकांश सन् २००९ पछि अमेरिका प्रवेश गरेर एसाइलम दावी गर्नेहरु हुन् । सन् २००९ भन्दा अगाडि यो संख्या निकै न्यून रहेको थियो । सन् २००९ भन्दा अगाडि सिमाक्षेत्रबाट अमेरिका प्रवेश गरेर जम्मा ६२ जना नेपालीहरुले एसाइलम पाएका थिए भने बाँकी सबै सन् २०१० र त्यसपछि अमेरिकी अदालतबाट एसाइलम पाउनेहरु हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com