अमेरिकामा रहेका नेपालीले भारतीय सिमा अतिक्रमणबिरुद्ध अन्तर्राष्ट्रिय अदालत हेगमा पत्राचार गर्ने


प्रकाशित मिति : मंसिर २१, २०७६ शनिबार

आगामी आइतबार अमेरिकाको राजधानी वासिंडन डिसीमा प्रदर्शनको तयारी गरेका नेपालीहरुले भारतीय सिमा अतिक्रमणबिरुद्ध नेदरल्याण्डको हेगमा रहेको अन्तर्राष्ट्रिय न्याय अदालतमा पत्राचार गर्ने भएका छन् । डिसी बिरोध प्रदर्शन आयोजक समितिले अन्तर्राष्ट्रिय अदालतका साथमा सन् १९५० को सन्धीमा गुमेको भूभाग फिर्ताबारे बेलायतको समेत ध्यानाकर्षण गराउने जनाइएको छ ।

त्यस्तै भारत, अमेरिका, चीन ,सयुक्त राष्ट्र संघ प्रधान कार्यालय, सर्वेक्षण विभाग भारत ,अमेरिकी विदेश मन्त्रालय, नेपाल ककस र अमेरिकी सिनेटमा पनि पत्राचार गर्ने जनाइएको छ । भारतले नेपालका भूभागहरु कालापानी,लिपुलेक र लिम्पियाधुरालाई भारतले हालसालै प्रकाशित गरेको नक्सा भित्र पारेको विरोधमा डिसेम्बर १५ का दिन अमेरिकामा रहेका नेपालीहरुले वाशिंगटन डिसीमा बिरोध जुलूस प्रदर्शन गर्ने भएका हुन् ।

प्रदर्शनका लागि संयुक्त नेपाली मोर्चा जसलाई ‘नेपालीको क्षेत्रीय अखण्डताको लागि नेपालीहरू’नामक नेपालीहरुको समूहले नेतृत्व गर्दैछन्। यस अगाडि एनआरएनए आईसीसीका तर्फबाट संयुक्त राष्ट्रसंघ मुख्यालयमा सिमा अतिक्रमणबिरुद्ध ज्ञापनपत्र बुझाइसकिएको छ । एनआरएनए आईसीसीका उपाध्यक्ष सोनाम लामाको नेतृत्वमा गएको टोलीले ज्ञापनपत्र बुझाएको थियो ।

त्यस्तै एनआरएनए अमेरिकाले वासिंटन डिसीमा रहेको भारतीय दूतावासमा भारतीय सिमा अतिक्रमणबिरुद्ध विरोधपत्र पेशा गरेको थियो । एनआरएनए एनसीसीहरुले विभिन्न देशमा रहेका भारतीय दूतावासमा ज्ञापनपत्रहरु पठाइरहेका छन् । तर भारतीय दूतावासहरुले ज्ञापनपत्रहरु बुझ्न नमानेका कारण अधिकांश देशमा हुलाकमार्फत पठाइएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com