दलाललाई लाखौं तिरेर मेक्सिको हुँदै अमेरिका आउँदा २ हजार नेपाली पक्राउ, १८ बर्ष नपुगेका ३६


प्रकाशित मिति : मंसिर १६, २०७६ सोमबार

– किशोर पन्थी

दलाललाई लाखौं रुपैया बुझाएर मेक्सिको हुँदै अमेरिका आउने नेपाली अहिलेसम्म झण्डै २ हजार रहेको एउटा तथ्यांकले देखाएको छ । यो अमेरिकाको सिमाक्षेत्रमा आएर कस्टम एण्ड बोर्डर प्रोटेक्सनले पक्राउ गरेका नेपालीहरुको संख्या हो भने यसमा अमेरिकाको सिमाक्षेत्रबाट पक्राउ नपरिकनै अमेरिका प्रवेश गर्नेहरुको विवरण समावेश छैन ।

कस्टम एण्ड बोर्डर प्रोटेक्सन सीबीपीको तथ्यांक अनुशार सन् २०१८ को अप्रिलसम्म मेक्सिकोको सिमाक्षेत्रबाट विना भिसा अमेरिका प्रवेश गर्ने क्रममा पक्राउ पर्ने नेपालीहरु १७३९ जना रहेका छन् । जसमध्ये सन् २०१५ मा ४०६ जना सन् २०१६ मा ५५० जना, सन् २०१७ मा ४९५ जना, सन् २०१८ को अप्रिलसम्म २८८ जना रहेका छन् ।

सन् २०१८ को अप्रिलसम्म सीबीपीले पक्राउ गरेका कुल नेपालीहरुको संख्या भने १७४४ रहेको छ । जसमध्ये सिमा सुरक्षा गस्तीले १६९६ जना, अन्य एजेन्सीले पक्राउ गरेर सीबीपीलाई बुझाएका ३५ जना, ट्राफिक चेकका क्रममा पक्राउ परेका ८ जना, अन्य तरिकाले पक्राउ परेकाहरु ५ जना रहेका छन् । पक्राउ परेकाहरुमध्ये ३६ जना अभिभावक विनाका नेपाली बच्चा रहेका छन्, जसको उमेर १८ बर्षभन्दा कम रहेको छ ।

 

पक्राउ परेका ३६ जना नेपाली बच्चामध्ये सन् २०१५ मा ५, सन् २०१६ मा ३, सन् २०१७ मा १५ र सन् २०१८ मा १४ जना पक्राउ परेका थिए । उनीहरुमध्ये १६ बर्षका ६ जना र १७ बर्षका ३० जना रहेका छन् । पक्राउ परेका ३६ जनामध्ये सान डिएगो सेक्टरबाट ३० जना, रियो ग्रान्देबाट ४ जना र टक्सनबाट २ जना रहेका छन् । उनीहरु सबै ३६ जना पुरुषहरु रहेका छन् । तीमध्ये ३५ जना अविवाहित थिए भने एकजना विवाहित थिए ।

मेक्सिकोको सिमाहुँदै अमेरिका प्रवेश गर्न खोज्दा पक्राउ पर्नेहरुमा ८४ जना नेपाली महिला रहेका छन् । जसमध्ये सबैभन्दा धेरै २९ बर्षका रहेका छन् । मेक्सिको हुँदै गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्ने पुरुषहरु सबैभन्दा धेरै २१ बर्षदेखि २४ बर्षसम्मका रहेका छन् । किनभने सन् २०१८ को अप्रिलसम्म पक्राउ पर्नेहरुमा २१ बर्षका १०६ जना, २२ बर्षका १०३ जना, २३ बर्षका ९५ जना र २४ बर्षका १०२ जना पुरुष थिए ।

दलाललाई मोटो रकम बुझाएर अमेरिका आउने नेपालीहरुमध्ये सबैभन्दा देखि १८ बर्षदेखि २४ बर्षसम्मको उमेर समुहका छन् । यो अवधिमा २ जना ५० कटेका नेपालीहरु समेत मेक्सिकोबाट अमेरिका प्रवेश गर्ने क्रममा पक्राउ परेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com