अक्टोबरमा २६१ नेपालीलाई नेपालबाटै ग्रिनकार्ड, १३४२ लाई गैर आप्रवासी भिसा


प्रकाशित मिति : मंसिर १५, २०७६ आईतबार

अमेरिकी सरकारको विदेश मन्त्रालयले नेपालीहरुले अक्टोबर महिनामा पाएको भिसाको विवरण सार्वजनिक गरेको छ । अक्टोबरमा २६१ जना नेपालीहरुले अमेरिकाको आप्रवासी भिसा पाएका छन् अर्थात् उनीहरु ग्रिनकार्ड प्राप्त गर्नेगरी अमेरिकामा आएका छन् । उनीहरु नेपाल वा अमेरिबाहिर रहँदा नै ग्रिनकार्ड स्वीकृत भइसकेकाहरु र अमेरिका आउनासाथ ग्रिनकार्ड प्राप्त गर्नेहरु हुन् ।

जसमध्ये डिभी लोटरी मार्फत ८० जनाले आप्रवासी भिसा प्राप्त गरेका छन् । जसमध्ये ५२ जना प्राथमिक डिभी विजेताहरु हुन् भने बाँकी उनीहरुका परिवार हुन् । त्यस्तै एक्स्ट्राअर्डिनरी लगायतका श्रेणीमा ग्रिनकार्ड प्राप्त गर्नेका दुईजना दम्पत्ति र एकजना बच्चाले अक्टोबरमा अमेरिकाको आप्रवासी भिसा प्राप्त गरेका छन् ।

अमेरिकी नागरिकता प्राप्त नेपालीका ४१ जना बाबुआमा, १४ जना दम्पत्ति र २ जना बच्चाबच्चीहरुले अक्टोबरमा भिसा पाएका छन् । त्यस्तै ग्रिनकार्ड बाहकका १६ जना दम्पत्ति र ३ जना छोराछोरीहरुले अमेरिकाको आप्रवासी भिसा प्राप्त गरेका छन् ।

अक्टोबर महिनामा भिजिटर लगायतका गैर आप्रवासी भिसा पाउने नेपालीहरुको संख्या भने १३४२ रहेको छ । जसमध्ये बी श्रेणीको भिसा पाउनेहरु १०९२ जना रहेका छन् । अक्टोबरमा कामदार भिसा एचवानबी पाउने नेपालीहरु ७१ जना र उनीहरुका दम्पत्तिहरु २२ जना रहेका छन् ।

अक्टोबरमा विद्यार्थी भिसा पाउने नेपालीहरु २३ जना र एक्सचेन्ज भिजिटर २४ जना रहेका छन् । अमेरिकी नागरिकसँग विवाह गर्न आउने नेपालीहरु अक्टोबरमा १८ जना रहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com