विशेष रिपोर्ट : डेढबर्षमा प्रहरीका ९ सफलता


प्रकाशित मिति : मंसिर ७, २०७६ शनिबार

झण्डै १९ महिना भयो प्रहरीको कमाण्ड सर्वेन्द्र खनालले सम्हालेको । प्रहरी महानिरिक्षकमा खनालले जिम्मेबारी लिएपछि के कस्ता काम भए ? हामीले केही महत्वपूर्ण कामको फेहरिस्त प्रस्तुत गर्दैछौं ।

विश्वको जुनसुकै उच्चपदस्थलाई आतिथ्यता प्रदान गर्नसक्ने पुष्टी

यो डेढबर्षको अवधिमा विश्वका विभिन्न देशका उच्च पदस्थहरुले नेपालको भ्रमण गरे । उनीहरुको भ्रमणको बेलामा सबै सुरक्षा निकाय र त्यसमा पनि फ्रन्टलाइनमा खटिएको नेपाल प्रहरीले विना कुनै सुरक्षा खतरा ती भ्रमणहरु सफल पार्नमा योगदान दियो ।

गतबर्षको भदौमा भएको बिमस्टेक सम्मेलन, त्यसपछि मंसिरमा सम्पन्न एशिया प्यासेफिक सम्मेलन, चैतमा सम्पन्न लगानी सम्मेलन, यसैबर्षको असौजमा सम्पन्न एसियाकै पहिलो प्रहरी सम्मेलन, त्यसपछि चीन र बंगालादेशका राष्ट्रपतिको भ्रमण विना कुनै सुरक्षा खतरा सम्पन्न हुनुले नेपालले विश्वका जुनसुकै देशका उच्चपदस्थहरुलाई सुरक्षाको दृष्टिकोणले आतिथ्यता प्रदान गर्नसक्छ भन्ने पुष्टी भएको छ ।

अझ चीनका राष्ट्रपतिको भ्रमणमा तिब्बती शरणार्थीहरुबाट चीनविरोधी प्रदर्शन हुनसक्ने खतरा थियो । भारत भ्रमणका क्रममा चीनका राष्ट्रपतिले त्यसको नमिठो अनुभव पनि गरे । तर नेपालमा त्यस्तो कुनै गतिविधि हुन पाएन, जसका कारण चीनका राष्ट्रपति निकै खुशी मुद्रामा फर्किए ।

डेढ क्वीन्टल सुन बरामद, राजस्वमा तीन अर्ब अनुदान

डेढबर्षको अवधिमा नेपाल प्रहरीले अपराध अनुसन्धानका सन्दर्भमा महत्वपूर्ण उपलब्धी हासिल गरेको छ । एकाध घटनामा भएका असफलतालाई लिएर सिंगो प्रहरीको कार्यक्षमतामा प्रश्नचिन्ह खडा गर्न मिल्दैन । यो अवधिमा ५३ हजार ५५८ प्रतिवादी पक्राउ गरेर प्रहरीले ५५ हजार ३ सय ५४ मुद्दा दर्ता गरेको छ ।

यो अवधिमा १४५ किलो सुन बरामद गर्नुका साथै तस्करीमा संलग्न ११६ जनालाई पक्राउ गरेको छ । राजस्व चुहावट नियन्त्रणका क्रममा प्रहरी ५७७ जनालाई पक्राउ गरेको छ । राजस्व चुहावट नियन्त्रणबाट राजस्वमा झण्डै १ अर्ब ३ करोड योगदान भएको छ भने ट्राफिक कारवाही, अवैध सुन बरामद र भन्सार छली बरामदबाट कुल राजस्व योगदान झण्डै २ अर्ब ९२ करोडको भएको छ ।

लागुऔषध र अवैध हतियार नियन्त्रण

लागुऔषध नियन्त्रण र अवैध हतियार नियन्त्रणमा प्रहरीले महत्वपूर्ण उपलब्धी हासिल गरेको छ । डेढ बर्षको अवधिमा १२ हजार ४ सय ८१ किलो, चरेस २ हजार ९ सय ६६ किलो, हेरोइन र कोकिन १४ किलो, अफिम ६३ किलो बरामद गरेकोमात्र छैन, त्यसमा संलग्न ६ हजार ९ सय ७१ जनालाई पक्राउ समेत गरेको छ ।

त्यस्तै ३६३ थान हतियार, १३८४ राउण्ड गोली बरामद गर्नुका साथै ४२३ जना संलग्नलाई पक्राउ गरेको छ । जसका कारण समाजमा कैयन अपराध हुनबाट जोगिएको छ ।

अपराध गरेर भागेकालाई विदेशबाट पक्राउ

नेपालमा अपराध गरेर कैयन अपराधीहरु लुक्न विदेशसमेत जाने गरेका छन् । यसरी भागेर विदेश पुगेकाहरुलाई पक्राउ गरेर नेपाल फर्काउन सफल भएको छ नेपाल प्रहरी । डेढबर्षको अवधिमा ८ जनालाई विदेशबाटै पक्राउ गरेर नेपाल ल्याइएको छ ।
विभिन्न अपराधमा संलग्न भई फरार अपराधीहरुको खोजीका लागि इन्टरपोलमार्फत ३० वटा रेड नोटिस र ३६ वटा डिफ्युजन नोटिस जारी गरिएको छ । जसका कारण स्वदेशमा रहेकाहरुमात्र होइन, भागेर विदेश पुगेका अपराधीहरुको समेत निदहराम भएको छ ।

भीआईपीहरु खोरमा

कसैले कल्पना नगरेका केही भीआईपी, भीभीआईपीहरुलाई प्रहरीले विभिन्न अपराध अभियोगमा खोरमा हाल्न सफल भएको छ । पूर्व सभामुख कृष्णबहादुर महरादेखि पूर्वमन्त्री आफताब आलमसम्मलाई पक्राउ गरेको छ ।

राजनीतिक देखि विभिन्न प्रकारको दवावको समेत परवाह नगरी कानुन कार्यान्वयनमा सकृय रहेको यो पछिल्लो उदाहरण हो । जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टरमा तोडफोड गर्ने सांसद प्रमोद शाहदेखि गृहमन्त्रीका भाईसम्मलाई हतकडी लगाउन सफल भएको छ प्रहरी ।

अबरुद्ध सरुवा बढुवा सुचारु, राम्रालाई पुरस्कार, गलतलाई कारवाही

प्रहरीमा लामोसमयदेखि सरुवा बढुवा अबरुद्ध भएको थियो । खनाल प्रमुख प्रमुख भइसकेपछि त्यसलाई सुचारु गरिएको छ । जनपद र प्राविधिकतर्फगरी १३ हजार ४ सय २६ नयाँ प्रहरीको भर्ना समेत गरिएको छ । यो अवधिमा १० हजार ८ सय ९९ जना विभिन्न पदका प्रहरीलाई बढुवा गरिएको छ भने ३३ हजार २ सय ८० जनालाई सरुवा र पदस्थापन गरिएको छ ।

प्रहरीलाई चलायमान बनाउन सरुवा र बढुवाको महत्व निकै ठूलो हुनेगर्छ । तर विभिन्न राजनीतिक नेतृत्वसँग पहुच राख्नेहरुले मागेको ठाउँमा सरुवा नहुँदा विरोध पनि गरे । मागेको स्थानमा सरुवा नगरेको भन्दै प्रहरी प्रमुखको आलोचना पनि भयो ।

प्रहरीलाई अपडेटेड बनाउन विभिन्न तालिमहरु आयोजना गरियो भने २१ वटा नयाँ पाठ्यक्रम निर्माण गर्नुका साथै १२ वटा पूराना पाठ्यक्रम परिमार्जन गरियो । भींड नियन्त्रण, अपराध अनुसन्धान, सुरक्षा र मानव अधिकारका विषयमा झण्डै २७ हजार प्रहरीलाई घुम्ति अनुशिक्षण प्रदान गरियो ।

त्यस्तै गलत काम गर्नेहरुलाई कारवाही पनि गरियो । विभिन्न दर्जाका २५७२ जना कारवाहीमा परे भने ६ हजार ८ सय ३५ जना पुरस्कृत भए ।

डाटा सेन्टरको स्थापना, अपराधीबारे राष्ट्रसघंको प्रणालीमा अपडेट

नेपाल प्रहरीसँग भएका विवरणहरु विद्युतीय रुपमा डाटावेशमा राख्ने काम निकै चुनौतीपूर्ण रहदै आएको छ । तर डेढबर्षको अवधिमा सातै प्रदेशमा पोलिग्राफ कक्षको निर्माणमात्र सम्पन्न भएन, नेपाल प्रहरीको डाटा सेन्टरसमेत निर्माण गरिएको छ । अहिलेसम्म संस्थागत इमेल समेत नरहेको प्रहरीमा साइबर सुरक्षाको दृष्टीले समेत महत्वपूर्ण संस्थागत इमेलको व्यवस्था गरिएको छ ।

नेपाल प्रहरीलाई आधुनिक र विद्युतीकरण गर्ने दिशामा यो अवधिमा निकै महत्वपूर्ण कामहरु भएका छन् । अझ महत्वपूर्ण कुरा त राष्ट्रसंघको लागुऔषध तथा अपराध अफिसले गरेका अपराध बर्गिकरण बमोजिम अपराध र अपराधी सुचना प्रणालीमा अपडेट गरिएको छ । नेपाल प्रहरीमा स्वचालित औठाछाप पहिचान प्रणालीको स्तरोन्नतीका लागि एक महत्वपूर्ण सम्झौता समेत भएको छ ।

अपराध नियन्त्रणमा महत्वपूर्ण मानिने सीसीटीभी जडानमा महत्वपूर्ण उपलब्धी हासिल गरेको छ नेपाल प्रहरीले । देशभर २९२६ थान सीसीटीभी क्यामेरा थप जडान गरिएको छ । यही सीसीटीभीकै कारण पूर्व सभामुख महरा महिलाको घरमा गएको पुष्टी भएको थियो ।

बेरुजु फर्छयौटमा सर्वोत्कृष्ट

नेपाल प्रहरी बेरुजु फर्छयौटमा सर्वोत्कृष्ट भएको छ । आर्थिक बर्ष ७३ ७४ मा महालेखा परीक्षकको कार्यालयबाट नेपाल प्रहरीका विभिन्न कार्यालयका नाममा साढे ६८ करोड बेरुजु थियो । त्यसमध्ये ५८ करोड बेरुजु फर्छयौट गर्न नेपाल प्रहरी सफल भएको छ । उक्त कार्यमा प्रत्यक्ष खटिने कर्मचारीलाई प्रशंसापत्र र नगद पुरस्कार समेत प्रदान गरियो ।

त्यस्तै आर्थिक बर्ष २०७४ ०७५ सम्म कायम झण्डै ६१ करोड बेरुजुमध्ये २०७५ को चैत १५ सम्म झण्डै ४१ करोड बेरुजु फर्छयौट गर्न नेपाल प्रहरी सफल भयो । जसबाट नेपाल प्रहरीको आर्थिक अनुशासन समेत पुष्टी भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन अनुसार सेवा प्रवाहमा सबैभन्दा न्यून भ्रष्टाचार हुने सरकारी निकाय नेपाल प्रहरी हो । सेवा प्रवाहमा अधिकतम भ्रष्टाचार हुने निकायमा ३०.५ प्रतिशत सेवाग्राहीले भ्रष्टाचार हुने गरेको उल्लेख गरेकोमा अख्तियारको प्रतिवेदनले नेपाल प्रहरीको सेवा प्रवाहमा भने ०.१ प्रतिशत सेवाग्राहीले मात्र भ्रष्टाचार हुने गरेको औल्याएको छ ।

समुदाय प्रहरी साझेदारी अवधारणा

सर्वेन्द्र खनालको कार्यकालमा भएको एउटा महत्वपूर्ण र उल्लेखनीय सुरुवात हो समुदाय प्रहरी साझेदारीको अवधारणा । गतबर्षको कार्तिक ११ गते यो कार्यक्रमको उद्घाटन गरेर देशभर कार्यक्रम संचालन भइरहेको छ । यो विश्वभरका प्रहरी संगठनका लागि समेत अनुकरणीय रहेको छ ।

यसअन्तरगत ७५३ वटा स्थानीय तहसँग समझदारीपत्रमा हस्ताक्षर समेत भएको छ । विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नको लागि पाठ्यक्रम तयार भैसकेको छ भने अन्य विविध कार्यविधिहरु निर्माणको चरणमा रहेको छ ।

दाइजो प्रथा, बाल विवाह, जबरजस्ती करणी, बालश्रम शोषण, साइबर अपराध, मानव बेचबिखन, घरेलु हिंसा लगायतका अपराध विरुद्ध चेतना जगाउन जानकारीमूलक निर्माण गरी विद्यार्थी एवं नागरिकलाई सुसूचित गर्न उपयोग भईरहेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत निर्माण गरिएका सम्पूर्ण सामाग्रीमा देशभरका प्रहरी ईकाईहरुको सहज पहुँच सुनिश्चित गर्न डिजिटल रिसोर्स सेन्टरको स्थापना गरी विभिन्न सामाग्रीहरु राखिएको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय निकाय, नेपाल प्रहरी, सामाजिक संघसंस्थाको सकृयतामा मुलुकका बिभिन्न स्थानहरुमा २९२६ वटा सीसीटीभी जडान गरी सञ्चालनमा आएको छ । समुदाय प्रहरी साझेदारी कार्यान्वयन पछिको अवधिमा प्रहरी सेवा प्रभावकारी बनाउन समुदायबाट करिब ४१ करोड २७ लाख १० हजार रुपैयाँ बराबरको सहयोग प्राप्त भएको छ ।

यसबाट अपराध नियन्त्रणमा समुदाय र प्रहरीबीचको समझदारी कति आवश्यक छ भन्ने कुरा पुष्टी भएको छ । समुदाय प्रहरी साझेदारीका विभिन्न कार्यक्रमहरू मार्फत प्रहरीले ८१ लाख, ३८ हजार ८५८ जना नागरिकहरूसँग अन्तरक्रिया गरेको छ ।

यस रिपोर्टमा समावेश गरिएका तथ्यांकहरु प्रहरी पधान कार्यालयबाट लिइएका हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com