अमेरिकामा एसाइलम खोज्नेलाई ग्वाटेमाला लगायतका देशमा पठाउने नीति कार्यान्वयन


प्रकाशित मिति : मंसिर ६, २०७६ शुक्रबार

अमेरिकी सरकारले अमेरिकी सिमाक्षेत्रमा आएर एसाइलम खोज्नेलाई सुरक्षीत तेश्रो देश सहमति अनुरुप ग्वाटेमाला लगायतका देशमा पठाउने नीतिको कार्यान्वयन सुरु गरेको छ । नोभेम्बर १९ देखि यो नीति कार्यान्वयनमा आएपछि सिमाक्षेत्रमा आएर विना भिसा अमेरिकामा एसाइलम खोज्नेलाई ग्वाटेमाला लगायतका देशमा पठाउन सुरु गरिएको छ ।

बिहिबार विहान १ जना होण्डुरसका नागरिकलाई ग्वाटेमाला सिटी पठाइएको छ । उनी त्यहाँ पुगिसकेको जनाइएको छ । उनी उक्त जहाजमा यसरी पठाइएका एकमात्र आप्रवासी रहेको र ग्वाटेमाला पुगेपछि उनलाई शिविरमा पठाइएको जनाइएको छ ।

सुरक्षित तेश्रो मुलुक सहमति अनुरुप अमेरिकामा विनाभिसा आएर एसाइलम गर्नेको एसाइलम दावी उचित लागेको खण्डमा उनीहरुलाई थप प्रकृयाका लागि तश्रो मुलुक पठाइने र उक्त मुलुकमा नै एसाइलम दिइनेगरी अमेरिकी एसाइलम नीतिमा ठूलो परिवर्तन आएको छ ।

अमेरिका र मेक्सिकोको सिमाक्षेत्रमा आएर एसाइलम गर्नेहरुलाई उत्तरी त्रिभुज देशहरु ग्वाटेमाला, होण्डुरस र एल साल्भाडोर पठाउने अमेरिकाले पछिल्ला महिनाहरुमा छलफल तीब्र पारेको थियो । ती देशहरुसँग भएको सहमति अनुरुप अमेरिकामा एसाइलम खोज्ने र एसाइलम उचित जस्तो लागेकालाई ती तीनमध्ये कुनै पनि देशमा पठाउन सकिनेछ ।

यसअगाडि अमेरिकी सिमाक्षेत्रमा एसाइलम खोज्नेलाई अदालती प्रकृयासम्मका लागि मेक्सिकोमा नै फिर्ता पठाउने र बाटोमा पर्ने देशमा एसाइलम दावी गरेर अस्वीकृत नभएकाहरु अमेरिकामा एसाइलमका लागि योग्य नहुने नीति कार्यान्वयनमा आइसकेको छ ।

अमेरिकामा एसाइलम अफिसरहरुले नयाँ नीति अनुशार आप्रवासीहरु ग्वाटेमाला पठाउन योग्य भए नभएको जाँच्न तालिम लिइरहेको जनाइएको छ । खासगरी होण्डुरस र एल साल्भाडोरका आप्रवासीहरु ग्वाटेमाला पठाउन योग्य हुने श्रोतले जनाएका छ ।

अमेरिकामा ९ लाख ८७ हजार १ सय ९८ एसाइलमका आवेदनहरुको ब्याकलग रहेको र एउटा एसाइलमको मुद्दा टुंगो लाग्न ८१६ दिन लाग्ने गरेकाले एसाइलमको भार कम गर्न नयाँ नियम ल्याइएको जनाइएको छ । जसमध्ये ४ लाख ७४ हजार ३ सय २७ एसाइलमका मुद्दाहरु अध्यागमन अदालतमा रहेका छन् ।

आर्थिक बर्ष सन् २०१९ को सेप्टेम्बर अन्त्यसम्म युएससीआईएसमा ३ लाख ४० हजार ८ सय आवदेनको ब्याकलग रहेको फेडरल नोटिसमा उल्लेख छ । यसरी ब्याकलग श्रृजना गर्नेहरुमा सबैभन्दा धेरै योगदान ग्वाटेमाला, होण्डुरस र एल साल्भाडोरका नागरिकको रहेको सरकारी भनाई छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com