कन्सल्टेन्सीका नाममा मानव तस्करी ! अवार्ड कार्यक्रम विवादमा, महजोडी र सशस्त्र आईजीपी जालान् ?
प्रकाशित मिति : कार्तिक २९, २०७६ शुक्रबार

भिसा कन्सल्टेन्सीका नाममा अनधिकृतरुपमा जापानमा मानिस पठाउने गरेको सूर्य कर्पोरेशनले नेपालबाट भिजिट भिसामा मानिस लैजाने र जापानमा शरणार्थी बनाउने गरेको खुलासा भएको छ । कर्पोरेसनले जापान लगेका व्यक्तिलाई शरणार्थी आवेदन दिन लगाउने र तोचिगी प्रिफेक्चरमा कृषि क्षेत्रमा काम लगाइदिने गरेको छ ।
नेपालमा २०७३ साल फागुनमा दर्ता भएको सूर्य कर्पोरेशनले जापानमा पनि यहीँ नामबाट कम्पनी सञ्चालन गरेर अवैध काम गरिरहेको छ । जापानमा यसका सञ्चालक शम्भुका आफ्नै दाई बासुदेव लामिछानेले समन्वय गर्छन् । जापानबाट अवैधरुपमा अमेरिका पठाउने काममा पनि कर्पोरेशन क्रियासिल रहेको आरोप लागेको छ । यो कर्पोरेशनको न्युयोर्कमा समेत शाखा रहेको वेवसाइटमा जनाइएको छ । तर उल्लेखित नम्बरमा सम्पर्क गर्न खोज्दा फोन उठेन ।
तीन महिनाअघि जापान पुगेका एक नेपालीले आफूले १२ लाखभन्दा धेरै रकम तिरेर जापान आएपनि शरणार्थी बन्नु परेको बताएका छन् । राई थरका ती व्यक्ति अगष्ट २ तारेखमा जापान पुगेका थिए । उनी अगष्ट ८ मा नेपाल फर्किनु पर्नेमा लामिछानेले नै शरणार्थी आवेदन दिन लगाए । जापानमा ‘म मेरो देशमा जान सक्दिन, मलाई मेरो देशमा असुरक्षा छ’ भनेर शरणार्थीको आवेदन दिएपछि उनी अहिले जापानमै काम गरेर बसिरहेका छन् ।
चितवनका खतिवडा थरका अर्का एक व्यक्तिले पनि लामिछानेलाई मोटो रकम बुझाएर जापानमा शरणार्थी बनेर वैधानिक हुने प्रकृया थालेका छन् ।
खतिवडा थरका ती व्यक्तिले आफूलाई नेपालमा असुरक्षा भएको बताएर शरणार्थीको रुपमा आवेदन दिएका थिए । नेपालमा पुतलीसडकमा रहेको कार्यालय र जापानमा पनि यहीँ नामको कम्पनीले अवैध तरिकाले काम गरिरहेको छ ।
उदयपुरका राई थरका ती व्यक्तिले भिजिट भिसाका लागि शम्भु लामिछानेलाई पटक पटक गरेर १० लाखभन्दा धेरै रकम बुझाएका छन् । राई थरका ती व्यक्तिले १० लाखभन्दा धेरै रकम बैंक मार्फत र बाँकी नगद तिरेका थिए ।
अनधिकृतरुपमा जापान मानिस पठाउने र लाखौँ रुपैयाँ असुल्ने सूर्य कर्पोरेशनका सञ्चालक लामिछानेले संवाददातालाई ग्राहक बनेर फोन गर्दा जापान पठाउन सकिने उत्तर दिए ।
जापान पठाउनका लागि १२ लाख ५० हजार रुपैयाँ लाग्ने बताउँदै उनले जापानमा पनि इच्छाअनुसारको भिसा मिलाइदिने आश्वासन दिएका छन् ।
लामिछानेले संवाददातालाई जापानमा रहेका साथीसँग सल्लाह गरेर शरणार्थी वा अन्य वर्किङ प्रकृया के गर्ने भन्ने निर्णयमा पुग्न सुझाव दिएका छन् ।
नेपालमा सूर्य कर्पोरेसनका सञ्चालक लामिछानेले जापानमा हुने विभिन्न कार्यक्रमका साथै अन्य समयमा पनि अनधिकृतरुपमा मानिस पठाउने गरेको तथ्य नागरिकखबरले सार्वजनिक गरेपछि पीडितहरु सम्पर्कमा आउन थालेका छन् ।
केही समयअघि खोटाङका राई थरका एक युवा हानेदा विमानस्थलबाटै अध्यागमनले फिर्ता गरेको नेपालस्थित अध्यागमन स्रोतले जानकारी दिएको छ ।
आफ्नो गाउँका तीन जना साथीहरु कर्पोरेसन मार्फत जापान गएपछि उनी पनि जापानका लागि लाखौँ रुपैयाँ लामिछानेलाई बुझाएर हानेदा विमानस्थलसम्म पुगेका थिए । तर त्यहाँको अध्यागमनले उनलाई फिर्ता पठायो ।
सूर्य कर्पोरेसनका सञ्चालक लामिछानेले आफूले जापानको भिसामा सहयोग गरेपनि कसैलाई पनि गैरकानुनी रुपमा जापान नपठाएको दावी गरेका छन् । कलाकार बाहेकका अन्य मान्छे नलगेको उनको भनाइ छ ।
यसैबीच सूर्य कर्पोरेशनले आगामी नोभेम्बर २३ देखि जापानमा गर्न लागेको सूर्य इन्टरनेशनल अवार्ड कार्यक्रम पनि विवादमा परेको छ । उक्त कार्यक्रममा महजोडी र सशस्त्र प्रहरीका आईजीपी समेत जाने बताइएपनि अहिले भने उनीहरु जाने नजाने विषयमा अन्यौलमा रहेका छन् । कार्यक्रममा अन्य कलाकारहरु पनि सहभागी हुने भन्दै पोष्टरमा उल्लेख गरिएको छ । त्यस्तै पोष्टरमा कार्यक्रम समन्वयकमा विभिन्न मन्त्रालय, चलचित्र विकाश बोर्ड र पर्यटन बोर्डको लोगो समेत राखिएको छ ।