एसाइलम पेन्डिङका आधारमा वर्क परमिट नदिइने, वर्क परमिट नियममा ब्यापक परिवर्तन गरिदै


प्रकाशित मिति : कार्तिक २७, २०७६ बुधबार

अमेरिकी सरकारको युएससीआईएसले गैरकानुनी रुपमा अमेरिका प्रवेश गरेर अमेरिकामा एसाइलमका लागि आवेदन दिएकाहरुका सन्दर्भमा एसाइलम पेन्डिङका आधारमा वर्क परमिट नदिने नियम प्रस्ताव गरेको छ । त्यस्तै कानुनी रुपमा प्रवेश गर्नेहरुको एसाइलम आवेदन पनि वर्क परमिट प्राप्त गर्ने उद्देश्यकोमात्र देखिएको खण्डमा त्यस्ता आवेदन पेन्डिङ रहेको आधारमा वर्क परमिट जारी नगर्ने प्रस्ताव युएससीआईएसले गरेको छ ।



युएससीआईएसबाट प्रस्तावि उक्त नियम भोलि बिहिबार फेडरल रजिस्टरमा प्रकाशित हुनेछ । उक्त नियमका लागि ६० दिनको कमेन्ट अवधि राखिएको छ । उक्त नियम लागु भएमा एसाइलम पेन्डिङ रहेको आधारमा वर्क परमिट प्राप्त गर्न कठिन हुनसक्ने जनाइएको छ ।

 

प्रस्तावित नियममा एसाइलमको वर्क परमिटका लागि आवेदन दिनका लागि आवेदन दिएको मितिले ३६५ दिन कुर्नुपर्ने उल्लेख गरिएको छ । अहिलेसम्म एसाइलम आवेदन पेन्डिङ अवस्थामा रहेको १५० दिनपछि आवेदकले वर्क परमिट प्राप्त गर्नसक्ने नियम रहेको छ ।

त्यस्तै प्रस्तावित नियममा अध्यागमन अदालतमा एसाइलमको मुद्दा पुगेको ३६५ दिनपछिमात्र वर्क परमिटका लागि आवेदन दिन सकिने उल्लेख छ । त्यस्तै आवेदकका कारण आवेदनको फैसला वा निर्णयमा ढिलो भएको सन्दर्भमा युएससीआईएसले वर्क परमिट अस्वीकार गर्नसक्ने प्रस्ताव गरिएको छ ।

भोलि फेडरल रजिस्टरमा प्रकाशित हुने नियमको पूर्ण पाठ यहाँ पढ्नसक्नुहुनेछ ।

त्यस्तै युएससीआईएसमा आवेदन दिइएको सकारात्मक एसाइलमका सन्दर्भमा एसाइलम स्वीकृतिका लागि सिफारिस जारी हुँदै आएकोमा त्यस्तो सिफारिस अन्त्य गर्ने समेत प्रस्तावित नियममा उल्लेख छ । एसाइलम अफिसरले आवेदन स्वीकृत गर्न चाहेको तर पृष्ठभूमि परिक्षण लगायतका रिपोर्टहर प्राप्त नभएको अवस्थामा त्यस्तो सिफारिस सहितको निर्णय गरिदै आएको छ ।

अमेरिकी सिमाक्षेत्रबाट गैरकानुनी रुपमा प्रवेश गर्ने वा गर्ने प्रयास गर्नेहरु एसाइलम आवेदन पेन्डिङ रहेको आधारमा वर्क परमिट प्राप्त गर्नका लागि योग्य नहुने प्रस्तावित नियममा जनाइएको छ भने अमेरिका प्रवेश गरेको एकबर्षभित्र एसाइलम आवेदन नदिएकाहरु समेत पेन्डिङ एसाइलम आवेदनका आधारमा वर्क परमिट प्राप्त गर्न अयोग्य हुनेछन् ।

 

त्यस्तै ३६५ दिनको अवधिमा एसाइलम अफिसरबाट एसाइलम आवेदन अस्वीकृत भएमा वा अदालतबाट एसाइलम आवेदन अस्वीकृत भएमा त्यस्ता आवेदकहरु वर्क परमिटका लागि आवेदन दिन अयोग्य हुनेछन् । आपराधिक पृष्ठभूमि भएका वा मादक पदार्थ सेवन गरेर गाडी चलाउनेजस्ता अपराध गरेकाहरुलाई पनि पेन्डिङ एसाइलमका आधारमा वर्क परमिट प्रदान नगरिने प्रस्तावित नियममा जनाइएको छ ।

यदि कुनै व्यक्तिले पेन्डिङ एसाइलमका आधारमा वर्क परमिट प्राप्त गरेको छ भने पछि आवेदन अस्वीकृत भएको खण्डमा अस्वीकृत भएकै दिनदेखि वर्क परमिटको म्याद समाप्त हुने समेत प्रस्ताव गरिएको छ । युएससीआईएसले अस्वीकृत गरेको आवेदन अध्यागमन अदालतमा गएको खण्डमा भने वर्क परमिटका लागि आवेदन दिन सकिने जनाइएको छ । यदि अध्यागमन अदालतले आवेदन अस्वीकृत गरेको खण्डमा त्यसको तीस दिनमा वर्क परमिटको म्याद सकिने प्रस्ताव गरिएको छ । तर बोर्ड अफ इमिग्रेशन अपिलमा समयमै अपिल फाइल गर्नेहरुका सन्दर्भमा भने वर्क परमिट कायम हुनसक्नेछ ।

नियममा एसाइलमको आवेदन प्रकृया र अन्तरवार्ताका सनदर्भमा पनि परिवर्तनको प्रस्ताव गरिएको छ । त्यस्तै वर्क परमिटको म्याद २ बर्षभन्दा बढीको नहुने तर त्यो भन्दा कम म्याद भएको वर्क परमिट समेत जारी गर्न सकिने प्रस्ताव गरिएको छ ।

हामी १६२ पृष्ठ लामो उक्त नियम गहन रुपमा अध्ययन गरिरहेका छौं, त्यसका महत्वपूर्ण अशंहरु क्रमश अपडेट गराउँदै जानेछौं ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com