अक्सिजन प्लाण्ट खरीदका लागि आर्थिक सहयोग


प्रकाशित मिति : कार्तिक २२, २०७६ शुक्रबार

काठमाडौँ महानगरपालिकाले कान्तिबाल अस्पताललाई अक्सिजन प्लाण्ट खरीद गर्न आर्थिक सहयोग गर्ने भएको छ । शुक्रबार कामपाका प्रमुख विद्यासुन्दर शाक्य र अस्पतालका निर्देशक प्रा डा आर पि विच्छाबीच आर्थिक सहयोग गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलले हस्ताक्षरअनुरुपको काम छिटो गर्न आग्रह गर्दै आफ्नातर्फबाट अस्पताललाई पर्ने आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पतालबाट गरीब र निमुखा जनताले सरल सेवा प्राप्त गर्ने वातावरण तपाईंहरुले बनाउनुहोला अरु सहयोग चाहियो भने पनि गर्न तयार छौँ ।”

हस्ताक्षर गरेपछि प्रमुख शाक्यले यस कार्यका लागि नगरसभाबाट रु दुई करोड विनियोजन गरिएको जानकारी गराउँदै काम अघि बढाउँदा आवश्यक परे अरु सहयोग गर्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रमुख शाक्यले कामपाको पूर्वाधार र सम्पदाका क्षेत्रमा मात्र नभई मानवीय सेवाका काममा पनि उत्तिकै चासो राखेकाले सो सहयोग पनि त्यसैको निरन्तरता भएको बताउनुभयो ।
निर्देशक विच्छाले भूकम्पका कारण क्षति पुगेर रातो स्टिकर टाँसेको भवनबाट बिरामीको उपचार गर्नुपरेको भन्दै अक्सिजनमा मात्रै वार्षिक करीब रु ६३ लाख खर्च हुने जानकारी गराउनुभयो । विसं २०५२ को दरबन्दीले अहिलेसम्म चलाउनुपरेको, बजेट थोरै भएको, कर्मचारीको तबलका लागि आउने बजेटसमेत घटाएर पठाएको जस्ता गुनासो निर्देशक विच्छाले गरेपछि रक्षामन्त्री पोखरेलले ती समस्या समाधानमा स्थानीय तह, प्रदेश र केन्द्र सरकार लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
–––

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com