१० अर्ब लगानी अभियानमा सकृय पन्तको एनआरएनए आईसीसी अध्यक्षमा उम्मेदवारी घोषणा
प्रकाशित मिति : आश्विन ३, २०७६ शुक्रबार
एनआरएनएको १० अबै रुपैयाको सामूहिक लगानी कोषलाई मूर्तरुप दिने अभियानमा सकृय एनआरएनए आईसीसीका वर्तमान उपाध्यक्ष कुमार पन्तले अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गर्नुभएको छ । काठमाडौंको होटल याक एण्ड यतिमा कार्यक्रमको आयोजना गरी पन्तले उम्मेदवारी घोषणा गर्नुभएको हो । अक्टोबर १५ देखि १७ सम्म काठमाडौंमा हुने एनआरएनए ग्लोबल सम्मेलनले आगामी दुईबर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।
लगानीमा योगदान, सम्मानपूर्ण वैदेशिक रोजगारी, नागरिकता र मतदानको अधिकार, दिगो संगठन र व्यापक सहभागिताको पाँच मन्त्रसहित पन्तले उम्मेदवारी घोषणा गर्नुभएको छ । एनआरएनएको नेतृत्व गर्नका लागि उहाँले गैरआवासीय नेपालीको सामुहिक र व्यक्तिगत लगानी भित्राउन सकृय रहने लगायत २० बुँदे कार्ययोजना प्रस्तुत गर्नुभएको छ ।
१० अर्बको सामुहिक लगानी कोषलाई मूर्तरुप दिने, विदेशमा सिकेको ज्ञान, सीप, प्रबिधि नेपाल भित्राउन बातावरण बनाउन पहल अगाडि बढाउने, गैरआवासीय नेपाली नागरिकता पाउने अधिकार शीघ्र कार्यान्वायनका लागि पहल गर्ने, विदेशमा रहेका नेपालीको मतदानको अधिकारसम्बन्धि अवस्थाको व्यवहारिक कार्यान्वयनमा लाग्ने लगायतका योजना पन्तले अगाडि सार्नुभएको छ ।
सन् २००४ देखि एनआरएन अभियानमा संगल्न पन्त सन् २००९ मा एनआरएनए आईसीसी सदस्य र सन् २०१३ मा एनआरएनए आईसीसी महासचिव हुनुभएको थियो । सन् २०१५ देखि लगातार दुई कार्यकाल एनआरएनए आईसीसी उपाध्यक्ष हुनुभएका पन्त जर्मनीको फ्रयांकफर्टमा बस्दै आउनुभएको छ ।