अब एसाइलम आवेदकलाई वर्क परमिट नदिइने, एसाइलम आवेदनमा शुल्क


प्रकाशित मिति : बैशाख १७, २०७६ मंगलबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार एक मेमोमा हस्ताक्षर गर्दै एसाइलमलाई कडाई गर्नका लागि कडा र नाटकीय कदम चालेका छन् । मेमोमार्फत राष्ट्रपति ट्रम्पले डिपार्टमेन्ट अफ जस्टिस र डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीलाई एसाइलममा कडाई गर्न निर्देशनहरु दिएका छन् ।

ट्रम्पले डिपार्टमेन्ट अफ जस्टिस र डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीलाई ९० दिनभित्र एसाइलममा कडाई गर्ने नीति ल्याउन निर्देशन दिएका छन् । त्यस्तै अर्को रेगुलेशनमार्फत ट्रम्पले अदालतमा रहेका एसाइलमका मुद्दाको टुंगो ६ महिनाभित्र लगाउने कुराको सुनिश्चितता गर्न अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

अमेरिकी कानुनले डिपार्टमेन्ट अफ जस्टिसलाई एसाइलमको मुद्दाको टुंगो ६ महिनाभित्र नै लगाउनुपर्ने व्यवस्था पहिलेदेखि नै गर्दै आएको छ । तर एसाइलमका मुद्दाको चर्को ब्याकलगका कारण अमेरिकी अध्यागमन अदालतमा झण्डै ८ लाख एसाइलमका मुद्दाहरु पेन्डिङ रहेका छन् । जसका कारण एसाइलमका मुद्दाको फैसला हुनमा बर्षौं लाग्ने गरेको छ ।

त्यस्तै राष्ट्रपति ट्रम्पले विना भिसा सिमा क्षेत्रबाट प्रवेश गरेर एसाइलम खोज्नेलाई एसाइलम पेन्डिङ रहँदासम्म वर्क परमिट दिने व्यवस्था खारेज गर्नेगरी नीति निर्माणका लागि अधिकारीहरुलाई निर्देशन दिएका छन् । अहिलेसम्म एसाइलम आवेदन पेन्डिङ रहँदासम्म आवेदकले वर्क परमिट प्राप्त गर्नसक्ने व्यवस्था छ तर ट्रम्पको निर्देशन अनुशार जारी हुने नीतिले विना भिसा सिमाक्षेत्रबाट प्रवेश गरेर अमेरिकामा एसाइलम खोज्नेहरु वर्क परमिटका लागि अयोग्य हुनेछन् ।

एसाइलमलाई कडाई गर्ने नयाँ नीति अनुशार ट्रम्प प्रशासनले एसाइलमका आवेदनका लागि शुल्क लिने तयारी समेत गरेको छ । अहिलेसम्म अमेरिकामा एसाइलम आवेदन दिंदा अमेरिकी सरकारलाई कुनै शुल्क तिर्नुपर्दैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com