एचआइभी सङ्क्रमित बढ्दै : डोटीमा मात्र ९८० जना एचआइभी सङ्क्रमित


प्रकाशित मिति : चैत्र २६, २०७५ मंगलबार

डोटी/ जिल्लामा पछिल्लो समय एचआइभी सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दै जान थालेको पाइएको छ । जिल्ला अस्पताल डोटीमा रहेको तथ्याङ्कअनुसार पूरै जिल्लाभरिमा खुलेका मात्रै (पहिचान भएका) ९८० जनामा एचआइभीको सङ्क्रमण रहेको पाइएको हो । सङ्क्रमितमध्ये महिलाको सङ्ख्या ५७० रहेको छ भने ३६० पुरुष रहेका छन् ।

त्यस्तै पचास बालबालिका एचआइभी सङ्क्रमण रहेको पाइएको छ । यो सङ्ख्या जिल्ला अस्पतालमा औषधि उपचार गराउन आउनेको मात्रै भएको जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेन्डेन्ट चिकित्सक भुषण मिश्रले बताउनुभयो । अस्पतालको सम्पर्कमा नआउनेलाई गणना गर्दा यो सङ्ख्यामा वृद्धि हुनसक्ने उहाँले अनुमान गर्नुभएको छ ।

जनचेतनाको अभाव, भेद्भाव र लाञ्छनाका कारण एचआइभी सङ्क्रमितहरू चिकित्सक तथा स्वास्थ्य संस्थाको सम्पर्कमा आउन नसकेकाले यो सङ्ख्या अझै बढ्न सक्ने अनुमान चिकित्सक मिश्रको छ । उहाँका अनुसार अपहेलना हुनसक्ने भएकाले यहाँका एचआइभी सङ्क्रमित महिला खासै खुलेर भन्न सक्दैनन् र उपचार गराउन आउँदैनन् । जिल्ला अस्पतालमा एचआइभी सङ्क्रमितका लागि सञ्चालनमा रहेको औषधि वितरण अर्थात् एआरटी शाखा तथा परामर्श शाखामा अहिले कम्तीमा पनि ५१८ जना नियमित सम्पर्कमा रहेको तथा औषधि सेवन गरिरहेको सो शाखाका काउन्सिलर केपी रेग्मीले बताउनुभयो ।

उहाँका अनुसार चालू आर्थिक वर्षको साउन महीनादेखि अहिलेसम्ममा मात्रै नयाँ बिरामी ११ जना थपिएका छन् भने विगत १०/१५ वर्ष अगाडिदेखि पनि एचआइभी सङ्क्रमितले जिल्ला अस्पतालको नियमित सम्पर्कमा रहेर औषधि सेवन गरिरहेका छन् । डोटीमा एचआइभी/एड्सका कारण हालसम्म कति जनाले ज्यान गुमाए भन्ने विषयमा यकिन तथ्याङ्क कुनै पनि सङ्घसंस्थामा नभए पनि हालसम्म कम्तीमा पनि सय जनाभन्दा बढीले ज्यान गुमाइसकेको हुन सक्ने एचआइभीको क्षेत्रमा काम गर्ने संस्थाको अनुमान रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कामका लागि भारत गएका श्रीमान्ले त्यहाँ गर्ने असुरक्षित यौन सम्पर्कबाट आफूलाई पनि एचाइभीको सङ्क्रमणमा पार्ने र पछि घरमा आई श्रीमतीलाई सार्ने गरेको एचआइभीको क्षेत्रमा काम गर्ने संस्थाको भनाइ छ । एचआइभी पिडित यहाँका महिलाले समाजको भेदभावको समेत सामना गर्नु परिरहेको एचआइभीको क्षेत्रमा काम गर्ने संस्था सिडिएफका सिद्धराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “श्रीमान्को गल्तीले सरेको रोगको सामना श्रीमतीले गर्नुपरेको छ ।” एचआइभी सङ्क्रमित भई भारतबाट घर फर्केकासमेत उपचारपछि पुनः काम गर्न भारत जाने क्रमसमेत बढेको छ ।

केही एचआइभी सङ्क्रमित एकल महिला विभिन्न संस्थाले आयोजना गरेको महिला लक्षित कार्यक्रमबाट तालीम लिएर आयआर्जनमा सक्रिय हुन थालेका छन् भने कोही समाजको डरले गाउँघरमै बसी रोग लुकाउन बाध्य भएका छन् । समग्र सुदूरपश्चिम प्रदेशमा ६ हजार ७२४ जनामा एचआइभी सङ्क्रमण रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दीपायल राजपुरका जनस्वास्थ्य अधिकृत रमेश मलासीले जानकारी दिनुभयो ।

उहाँका अनुसार हालसम्म सुदूरपश्चिमभरिमा तीन हजार ७६ ले एआरटी सेवन गरिरहेका छन् । “आर्थिक वर्ष २०७४/७५ सम्मको तथ्याङ्क हेर्दा सुदूरपश्चिम प्रदेशमा ६७६ जनाले एचआइभी÷एड्सका कारण ज्यान गुमाइसकेका छन्”, जनस्वास्थ्य अधिकृत मलासीले भन्नुभयो, “यो प्रदेशमा गएको आर्थिक वर्षमा मात्रै २४७ जना नयाँ सङ्क्रमित देखिएका छन्, बर्सेनी एचआइभी रोगी बढिरहेका छन् ।” निर्देशनालयका अनुसार एचआइभी परीक्षण तथा परामर्श केन्द्र प्रदेशका २० स्थानमा स्थापना भएका छन् । एआरटी सेवन गर्नेले प्रदेशका १४ स्थानबाट सेवा प्राप्त गरिरहेको जनाइएको छ । स्थानीय सरकारले सुदूरपश्चिम प्रदेशका एचआइभी सङ्क्रमितलाई सहयोग गर्न नसकेको सङ्क्रमितहरूले गुनासो गरेका छन् ।

एचआइभी सङ्क्रमित कमला मल्लले डोटी जिल्लामा पछिल्लो समयमा खुलेर आउने एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दो भए पनि स्थानीय सरकारले कुनै ठाउँमा पनि खासै गतिलो सहयोग गरेको नदेखिएको आरोप लगाउनुभयो । स्थानीय सरकारसँग प्रस्ताव लिएर जाँदा ‘तपाईंहरु त डलरको खेती गर्नसक्ने हामी के सहयोग गर्न सक्छौँ’ भनेर उल्टै जवाफ दिने गरेको समेत उहाँले बताउनुभयो । “हामी त सङ्क्रमित भइसकेका छौँ, अब हाम्रा लागि नभए पनि हाम्रा छोराछोरीको भविष्यका लागि भए पनि स्थानीय सरकारले सोच्नुपर्छ,” उहाँले भन्नुभयो, “सरकारले सङ्क्रमितलाई बचाउन विशेष कार्यक्रम बनाउनुपर्छ ।” डोटीमा कतिपय एचआइभी सङ्क्रमित एकल महिलालाई आफू र बालबच्चा कसरी हुर्काउने भन्ने चिन्ता थपिएको छ । यहाँका एचआइभी सङ्क्रमित महिलालाई साँझ–बिहान हातमुख जोड्न धौधौ परेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com