कलाकार धुर्मुस भन्छन – रंगशाला बनाउने घोषणा गरेर हामीले के गल्ती गर्‍यौं ?


प्रकाशित मिति : फाल्गुन ४, २०७५ शनिबार

कुनै बेला नेपाल टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘मेरी बास्सै’ मा धुर्मुसको भूमिका निर्वाह गरेर लाखौं दर्शकको मन जित्न सफल हास्यकलाकार हुन् सीताराम कट्टेल । २०७२ सालमा गएको विध्वंसकारी भूकम्पपछि श्रीमती कुञ्जना घिमिरेसँगै स्वस्फूर्त रूपमा राहत वितरणदेखि बस्ती निर्माणसम्ममा सक्रिय भएको सीताराम र कुञ्जनाको जोडी अहिले धुर्मुस–सुन्तली फाउन्डेसनमार्फत चितवनमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउने अभियानमा केन्द्रित भएको छ । हालै रंगशाला निर्माण हुने सम्झौता पत्रमा हस्ताक्षर भएपछि सामाजिक सञ्जालहरूमा उक्त कार्यका सम्बन्धमा टीका–टिप्पणी गर्ने क्रम बढेको छ । रंगशाला निर्माणको प्रारम्भिक चरणमा सामाजिक सञ्जालमा बहस नै चलेपछि साप्ताहिक संवाददाता कृष्ण भट्टराईले धुर्मुसलाई पुरानो बानेश्वरस्थित उनकै कार्यालयमा भेटेर लामो कुराकानी गरेका थिए ।

मलेसियाको कार्यक्रम कस्तो रह्यो ?

मलेसियाको धुर्मुस–सुन्तली साँझ कार्यक्रम हामीले अपेक्षा गरेको भन्दा राम्रो भयो । हल दर्शकले खचाखच भरिएको थियो । सिटी एक्सप्रेसले प्रायोजन गरेको उक्त कार्यक्रम जुन उद्देश्यका लागि गरिएको थियो, हामी त्यसमा सफल भयौं । पहिले उक्त कार्यक्रम विशुद्ध मनोरञ्जनका लागि तय गरिएको थियो, हामीले काठमाडौंमा क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा भएपछि उक्त कार्यक्रमको रुपरेखा केही परिवर्तन भयो ।

रंगशाला निर्माणका लागि सहयोग जुटाउन पुन: विदेश जाने कार्यक्रम छ कि ?

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

छ, जापान, अष्ट्ेरलिया, यूरोप, दुबईसहित जहाँ–जहाँ नेपाली हुनुहुन्छ, त्यहाँ त्यहाँबाट कार्यक्रमको प्रस्ताव आइरहेको छ ।

रंगशाला निर्माणको कुरा कहाँसम्म पुगेको छ ?

आफैंमा ऐतिहासिक रहेको उक्त रंगशालाका लागि भरतपुर महानगरपालिकाले जग्गा उपलब्ध गराएपछि केहीअघि हामीले काठमाडौंमा एउटा कार्यक्रम आयोजना गरेर सम्झौता पत्रमा हस्ताक्षर गरेका छौं । त्यससंगै अहिले हाम्रो सम्पूर्ण ध्यान गुरुयोजना (डीपीआर) निर्माणमा छ । डीपीआरका लागि पनि सम्बन्धित विज्ञहरूसँग हामी आफैं बस्नुपर्ने बाध्यता छ । उक्त रंगशाला निर्माणका लागि हामी संयोजक (मध्यस्थकर्ता) को भूमिका मात्रै निर्वाह गरेका हौं । यो एउटा विज्ञ समुहले निर्माण गर्ने हो ।

अब त्यो काम कसरी अघि बढ्छ ?

निर्माणको काम अघि बढि सकेको छ । हामीले उक्त जग्गामा साइट अफिस निर्माण गरेका छौं, अस्थायी कम्पाउन्डिङको काम पनि हुँदैछ । निर्माण सामग्रीहरू राख्ने गोदाम बनाउन थालिसक्यौं । केही दिनमै त्यहाँ पुगेर प्रारम्भिक चरणको काम गर्नुछ ।

ठ्याक्कै कति समयमा रंगशाला तयार होला ?

शिलान्यास भएको मितिले दुई वर्षमा निर्माण पूरा गर्ने लक्ष्य छ । यद्यपि डीपीआर तयार हुन तथा नक्सा बन्न कम्तिमा ६ महिना लाग्छ कि भन्ने अनुमान छ । अन्तर्राष्ट्रिय स्तरको मापदण्ड पूरा गर्दै निर्माण गर्नुपर्ने भएकाले दक्ष प्राविधिक तथा इन्जिनियरहरूसंग परामर्श गर्दैछौं ।

रंगशाला निर्माणको घोषणापछि कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?

एकदमै सकारात्मक प्रतिक्रियाहरू पाइरहेका छौं, केही टिका–टिप्पणी पनि पाइरहेका छौं । सबैभन्दा महत्वपूर्ण कुरा के हो भने अहिले हाम्रो देशलाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला आवश्यकता हो कि होइन भन्ने कुरा महसुस गर्नुपर्छ । क्रिकेट खेलेरै नेपाली खेलाडीहरूले देशलाई चिनाइरहेका छन्, अन्तर्राष्ट्रिय मञ्चमा प्रगति गरिरहेका छन् । यद्यपि, तिनै खेलाडीहरू निर्धक्कसँग अभ्यास गर्न पाइरहेका छन् कि छैनन्, त्यो हेरिनुपर्छ । खेलाडीले खेल खेलेरै बाँच्न सक्ने अवस्था छ कि छैन, त्यसमा ध्यान दिइनुपर्छ । ती कुरामा सकारात्मक जवाफ नभेटेपछि हामीले त्यसकै लागि यो संघर्षमय यात्राको थालनी गरेका हौं । हामीले क्रिकेट रंगशालामात्र होइन, समग्र खेलकुद क्षेत्रकै लागि यो ठूलो कदम चालेका हौं । हामीले हाम्रा लागि सोचेका छैनौं, सिंगो नेपाली खेलाडीहरूको भविष्यलाई सोचेर यो परियोजनालाई अघि बढाउने निर्णय गरेका हौं । हामीलाई नेपाली समाजको साथ र समर्थन भएकैले यति चुनौतीपूर्ण अभियान थालेका हौं । समाजको समर्थन नभएको भए आज हामी रंगशाला निर्माण थालनी गर्ने अवस्थासम्म आइपुग्ने नै थिएनौं । हामी त आफ्नै मनोरञ्जनको क्षेत्रमा रमाइरहेका कलाकार हौं । हाम्रो सामाजिक कार्य नेपाली दाजुभाइ–दिदीबहिनीहरूकै सल्लाह, सुझाव एवं सहयोगबाट सञ्चालन भैरहेको छ । त्यसैले धुर्मुस र सुन्तलीलाई सल्लाह दिने, सुझाव दिने पूर्ण अधिकारी उहाँहरूलाई छ । समाजले नै क्रिकेट रंगशाला बनाउनुपर्छ भनेपछि हामी अघि बढेका हौं ।

रंगशाला निर्माणका लागि चितवन नै रोज्नुपर्ने खास कारण के होला ?

करिब एक वर्षअघि नै हामीलाई धेरै जिल्लाबाट स्थलगत भ्रमणको निम्ता आएको थियो, हामीले कतिपय जिल्लाको भ्रमण समेत गर्‍यौं । एउटा न एउटा जिल्लामा त रंगशाला निर्माण गर्नु नै थियो । भरतपुर महानगरपालिकाले हामीलाई जग्गा उपलब्ध गराउने भयो । नेपालको सबैभन्दा सेन्टरमा पर्ने भएकाले उक्त स्थलमा रंगशाला निर्माण हुँदा सबैलाई उपयुक्त हुन्छ भन्ने सोचेरै हामीले चितवनमा रंगशाला निर्माण गर्ने निश्चित गरेका हौं । चितवन जिल्ला छनौट गर्नुको पछाडि न त कुनै राजनीतिक पार्टीको दबाब छ, न त सरकारको नै । प्राविधिक हिसाबले पनि उपयुक्त उक्त जग्गा छोटो समयमै उपलब्ध भएपछि हामीले त्यसलाई छनोट गरेका हौं ।

रंगशालामा के–कस्ता पूर्वाधार रहनेछन् ?

अन्तर्राष्ट्रिय मापदण्डअनुरूप निर्माण हुने क्रिकेट स्टेडियममा क्रिकेट मात्र होइन, फुटबल, भलिबल, कबर्ड हल, स्वीमिङ पुलजस्ता अन्य खेलहरू खेल्न सक्ने पूर्वाधारसमेत तयार पारिनेछ । हामी त्यसलाई नेपाली खेलकुदको हब नै बनाउन चाहन्छौं । हामी त्यसलाई एकेडेमीका रूपमा समेत सञ्चालन गर्ने सोच र परिकल्पना अन्तर्गत नै यो परियोजना निर्माण गर्ने आँट गरिएको हो । ७७ वटै जिल्लाबाट खेलाडी ल्याएर, प्रशिक्षण दिएर स्तरीय खेलाडी जन्माउने हाम्रो लक्ष्य छ ।

अहिले सामाजिक सञ्जालमा यही रंगशाला निर्माणको विरोधमा चर्का स्वरहरू उठिरहेका छन् । तिनलाई तपाईं कसरी सम्बोधन गर्नुहुन्छ ?

पहिले त सकारात्मक–नकारात्मक टीका–टिप्पणी गर्ने सबैलाई एकमुस्ट रुपमा धन्यवाद भन्न चाहन्छु । उहाँहरूका यस्ता प्रतिक्रियाकै कारण हामीलाई थप ऊर्जा मिलेको छ । उहाँहरूले हामी तथा हाम्रो अभियानप्रति जिज्ञासा राख्नु, प्रश्न उठाउन स्वभाविक हो । किनभने यसमा उहाँहरूकै प्रत्यक्ष सहभागिता रहनेछ । यसबीच नकारात्मक टिप्पणी गर्नेहरूलाई म उल्टै सोध्न चाहन्छु– यति ठूलो परियोजनाको घोषणा गरेर हामीले गल्ति चाहिँ कहाँनेर गरेछौं ? हामीले के गल्ती गरेका छौं भन्ने जिज्ञासा मेरो मनमा पनि पैदा भैरहेको छ । किनभने हामीले उक्त रंगशाला कुनै विदेशी भूमिमा नभइ आफ्नै देशमा निर्माण गरिरहेका छौं । हाम्रै पालामा उक्त रंगशालाको निर्माण कार्य पूरा हुनेछ । नेपाली जनतासँगै सुझाव मागेरै हामीले रंगशाला निर्माणको अभियान थालेका हौं । नेपाली क्रिकेट खेलाडीहरूले सात–आठ महिनाअघि नेपाललाई ऐतिहासिक सफलता दिलाएको बेला सामाजिक सञ्जालहरूमा वाह नेपाल, वाह नेपाली खेलाडी भन्नेहरू नेपाली नै हुनुहुन्थ्यो । त्यो बेला क्रिकेट खेलाडीहरूका लागि एउटा अन्तर्राष्ट्रिय स्तरको रंगशाला चाहियो भनेर माग गर्नेहरू पनि नेपाली नै हुनुहुन्थ्यो । हामी त्यो बेला नमुना नेपालको अभियानमा केन्द्रित थियौं । फेसबुकमा मैले नै एउटा स्टाटसमार्फत रंगशाला पहिले कि नमुना नेपाल ? भनेर जिज्ञासा राखेको थिएँ । मेरो जिज्ञासामा करिब ८० प्रतिशतले क्रिकेट रंगशाला पहिले चाहिन्छ भन्नुभएकैले धुर्मुस–सुन्तली फाउन्डेसनले बाँकी काम थाँती राखेर क्रिकेट रंगशालाको निर्माण दिन–रात एक गर्न थालेका हौं । अहिले आएर उहाँहरू नै यो विषयमा किन विवाद गरिरहनुभएको छ, मैले नबुझेको कुरा यत्ति हो ।

उहाँहरू त रंगशाला बनाउने काम सरकारको हो भन्दै हुनुहुन्छ नि ?

मेरो पनि भनाइ त्यही हो नि । रंगशाला बनाउने काम सरकारकै हो, तर सरकारलाई कुर्दा त्यो रंगशाला कति वर्षमा बन्ला ? हिजो नमुना बस्ती बनाउने काम पनि सरकारकै थियो नि । सरकारले नै एकिकृत नमुना बस्ती बनाइदिएको भए हुन्थ्यो नि । त्यो पनि सरकारकै दायित्वको कुरा थियो, तर सरकारी प्रकृया लामो हुने, झन्झटिलो हुने, धेरै वर्ष लाग्ने भएकैले हामी तातेका थियौं । जनस्तरबाट गर्दा छिटो–छरितो र कम खर्चमै काम सम्पन्न हुने भएकाले हामी जनताकै प्रतिनिधि सक्रिय भएका हौं । सरकारको मुख ताकेर बसेको भए ती नमुना बस्ती बन्थे होला त ? सबैले सकारात्मक रुपमा सहयोग गरेकै कारणले तथा नागरिक स्तरबाट खटिँदा निर्धारित मितिमै सम्पन्न भएका उदाहरणहरू त हामीले नै प्रस्तुत गरिसकेका छौं नि । यद्यपि, हामीलाई सरकारको शतप्रतिशत सहयोग चाहिन्छ । हामी त सरकारलाई सघाउने अभियन्ता मात्र हौं । रंगशाला निर्माणको दायित्व पनि सरकारकै हो, तर समयमै पूरा नहुने भएकाले हामीले अभियन्ताका रूपमा खटिएर सरकारलाई नै सजिलो पारिदिएका हौं । दशरथ रंगाशालाको पुनर्निमाणलाई हेरौं, मूलपानीको क्रिकेट रंगशालालाई हेरौं, कति वर्षदेखि निर्माणाधीन अवस्थामै छन् । यस्तो अवस्थामा हामीले आमनेपाली जनताकै सल्लाह, सुझाव एवं सहयोगमै जनस्तरबाट चितवनमा क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेका हौं । यो रंगशाला निर्माण पनि सरकारलाई उपस्थित नगराई सम्भव छैन, त्यसैले सरकारको उपस्थितिमा घोषणा गरेका हौं । हामीले त जनस्तरबाट रकम संकलन गरेर जनताकै सहभागितामा रंगशाला निर्माण गर्न पहल गरेका हौं । विश्वमै जनताले बनाएको पहिलो रंगशालाको कीर्तिमान कायम गर्न लागेका हौं ।

यति हुँदाहुँदै पनि विरोधचाहिं किन भैरहेको छ ?

हामी सरकारको विरोध गर्न पाउँदा रमाउँछौं । सरकारले यो गरेन, त्यो गरेन भन्न पाउँदा खुसी हुन्छौं । सरकारको विरोध गर्ने क्रममा रंगशाला निर्माणको पनि विरोध हुन थालेको हुनसक्छ । मैले अघि नै भनें नि, अहिले जुन प्रकारका टीका–टिप्पणी आइरहेका छन्, त्यसले हामीलाई काम गर्ने उर्जा मिलिरहेको छ । मैले त्यसलाई धुर्मुस र सुन्तलीले बाटो नबिराऊन् भनेर दिइएको सल्लाहका रूपमा बुझेको छु । उहाँहरूले हामीलाई सतर्क बनाउन खोज्नुभएको रूपमा बुझेको छु । ती टीका–टिप्पणीले हामीलाई रत्तिभर विचलित बनाएको छैन । हामी निराश पनि भएका छैनौं । यत्रो ठूलो आँट गर्दा केही आलोचना हुनुलाई स्वभाविक रूपमा लिनुपर्छ, तर सबैले स्पष्ट रूपमा के बुझ्नु जरुरी छ भने म धर्तीमा जति समय रहन्छु, मेरा सम्पूर्ण अभियानहरू पारदर्शी रहनेछन्, लुकिछिपी अथवा गोप्य रुपमा हुने छैनन् । अबको बाँकी जिन्दगी राष्ट्रको लागि समर्पित गरेको छु ।

तपाईंहरूलाई कुनै पार्टीबाट परिचालित पनि भन्न थालियो नि ?

म के स्पष्ट पार्न चाहन्छु भने हामी कुनै पनि पार्टीबाट परिचालित छैनौं । हामी कुनै पार्टीको भातृ संगठन पनि होइनौं । हामीले कुनै पनि पार्टीको एजेन्टका रूपमा काम गरेका छैनौं, भविष्यमा गर्ने पनि छैनौं । हामी त नेपाली जनताका प्रतिनिधि मात्र हौं । हामी यही देश र माटोका लागि केही गरौं भनेर खटिएका स्वतन्त्र नेपाली हौं । हिजोसम्म देश बनेन, नेताहरूप्रति विश्वास भएन भन्नेहरू पनि हामी नै हौं । आज नागरिक स्तरबाट विकासको अभियानलाई लिएर अघि बढेको जनताकै छोरालाई रोक्ने प्रयास भैरहेको छ । देशमा एउटा राम्रो रंगशाला बन्दा घाटाचाहिं कसलाई हुने रहेछ, मैले बुझ्न सकेको छैन । मलाई के लाग्छ भने नागरिकका तर्फबाट रंगशाला बन्छ भने सबैले सकारात्मक बनिदिनुपर्छ । हामीले आँट गर्नु नै ठूलो कुरा हो भन्ने कुरा बुझिदिनुपर्छ । चारैतिर निराशा नै निराशा छाएका बेला हामीले आशाको दियो बाल्ने प्रयास गरेका मात्र हौं ।

तपाईंहरूलाई एमाले निकट पनि भनिन्छ नि ?

२०७१ सालमा हामीलाई नेपाल सरकारले सरसफाइ दूत घोषणा गर्दा नेपाली कांग्रेस सरकारमा थियो । भूकम्पपछि हामीले नमुना बस्ती बनाउँदा पनि अहिलेको प्रमुख प्रतिपक्षी नै सरकारमा थियो । मैले भन्न खोजेको कुरा के भने हामी सामाजिक अभियानमा खटिएपछि यो देशमा थुप्रै सरकार परिवर्तन भैसके, तर हामी आफ्नो अभियानमा अविचलित भएर खटिरहेका छौं । राजनीति र सरकारप्रति हाम्रो कुनै आग्रह–पूर्वाग्रह छैन । हामी त जुन दलको भए पनि सरकारलाई सघाउने नि:स्वार्थ अभियानमा खटिएका अभियन्ता हौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अलि बढी क्यारिकेचर गरेका कारण तपाईं उहाँसँगै नजिक भएको बुझिएको हो कि ?

म स्वतन्त्र देशभक्त नेपाली नागरिक हुँ । हाम्रो अभियान स्वतन्त्र नेपाली नागरिकको अभियान हो । क्यारिकेचर गरेकै आधारमा कसैले त्यस्तो भन्छ भने त्यो सरासर झूट हो । कलाकारिता अर्थात् क्यारिकेचर गर्नु मेरो पेसा हो । मैले प्रधानमन्त्री ओलीको मात्र होइन, अरू थुप्रै नेताको क्यारिकेचर गरेको छु ।

रंगशाला निर्माणमा सरकारको सहभागिता त रहन्छ नि ?

सरकारको नियमभन्दा टाढा रहेर कुनै पनि व्यक्तिले कुनै पनि परियोजना सफल बनाउन सक्दैन । हाम्रो मोडालिटी क्लियर छ । धुर्मुस–सुन्तली नाफा नकमाउने परोपकारी संस्था हो । हाम्रो संस्था कुनै कम्पनी होइन, यहाँ सेयर बाँडफाँड हुने कुरा पनि हुँदैन । यद्यपि, सबै सरकारी प्रक्रियालाई पछ्याउने हो भने दुई वर्षभित्रमा रंगशाला निर्माण हुन सक्दैन । सार्वजनिक खरिद ऐनका आफ्नै विधि एवं प्रक्रिया छन् । त्यसअनुसार अघि बढ्ने हो भने तोकिएको समयमा रंगशालाको निर्माण पूरा हुँदैन । यद्यपि, नागरिकको सक्रिय सहभागितामा स्वतन्त्रतापूर्वक काम गरियो भने निर्धारित मितिमै काम सम्पन्न हुन्छ भन्ने कुरा हामीले निर्माण गरेका नमुना बस्तीहरूबाटै प्रमाणित भैसकेको छ ।

रंगशालाको अनुमानित बजेट कति होला ?

अनुमानित ३ अर्ब छ, तर गुरुयोजना तयार नहुन्जेलसम्म ठ्याक्कै भन्न सकिँदैन । यो ३ अर्ब रुपैयाँमा बन्ने परियोजना हुँदै होइन । म यहाँहरूलाई के अवगत गराउन चाहन्छु भने जुन हामीले थ्रीडी र एनिमेटेड भिडियो समेत तयार पारेका छौं, त्यो भिडियोमा प्रस्ट हेरिरहँदा त्यो भिडियोमा जे हो, त्यति बजेटमा बन्ला त भन्ने प्रश्न पनि उठ्न सक्छ । यहाँ त हामी आफैं खट्छौं । त्यसमा हाम्रो श्रमको पैसा जोडिएको छैन । स्वयंसेवकका रूपमा खटिने टिमको खर्च पनि त्यसमा जोडिएको छैन । भोलि नगद मात्र होइन, जिन्सी चिज पनि सहयोगका रूपमा आउँछ । त्यो हिसाबले मूल्यांकन गर्ने हो भने यो दसौं अर्बले पनि नबन्ने परियोजना हो, तर हामी थोरै रकममा राम्रो, सुन्दर र मौलिक स्टेडियम निर्माण गर्न सक्छौं भनेर लागेका हौं नि ।

तपाईंहरूलाई असहयोग गर्ने लहर चल्यो भने के होला ?

त्यस्तो होला जस्तो लाग्दैन । म अहिले पनि के क्लियर छु भने हामीले त बनाउने आँट मात्र गरेका हौं । हामीले तपाईंहरूको सहयोग भए बनाउन सक्छौं भनेका छौं । न हामी धनी बाउका छोराछोरी हौं । न उद्योगपति नै हौं । न हामी स्रोत–साधनले भरिपूर्ण मानिस हौं । न त हामीसँग त्यस्तो ठूलो ब्याकअप नै छ, जुन प्रोजेक्टका लागि पैसा मागेका छौं, त्यो पूरा भएपछि हामीलाई पैसा पुग्यो पनि भनेका छौं । हामीले जहाँ नेपाली जनताको रगत र पसिना परेको छ, हामी उहाँहरूको रकम दुरुपयोग नहोस् भनेर सबैभन्दा सचेत हामी नै हुन्छौं । बहुमतले नै यो रंगशाला बनाउनु हुँदैन, धुर्मुस सुन्तली फाउन्डेसनले यो काम गर्नु हुँदैन भन्ने कुरा आउँछ भने हामीले मात्र किन टाउको दुखाइरहनुपर्‍यो र ? सबैको चाहना हो, सबैले यो बन्नुपर्छ भनेपछि त हामी अघि बढ्ने हौं नि ।

तपाईंमाथि यिनै परियोजनामार्फत मन्त्री बन्न चाहेको आरोप पनि छ नि ?

मलाई पार्टीको झन्डा बोकेरे हिंड्नुभन्दा देशको झन्डा बोकेर हिंड्नुमै गर्व छ । त्यस्तो कुनै योजना र परिकल्पना गरेर अघि बढेको होइन । म त नेपाली जनताको छोरा हुँ, त्यसैमा आनन्द छ ।

अन्त्यमा, के भन्न चाहनु हुन्छ ?

सबै जना यो अभियानमा जुटि दिनु हुन हार्दिक अनुरोध गर्दछु । सबै जना जुट्यौं भने हामी यो रंगशालालाई निर्धारित मिति भन्दा अघि नै सम्पन्न गर्नेछौं ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com