पर्खालका लागि बजेट दिए डाका र टीपीएसप्राप्तलाई ग्रिनकार्डको बाटो !
प्रकाशित मिति : पुस २६, २०७५ बिहीबार
डिसेम्बर २२ देखि जारी अमेरिकी सरकार शटडाउन खुलाउन कुनै सहमति कायम हुन नसकेपछि रिपब्लिकन सिनेटरहरुले डेमोक्र्याटहरुलाई सहमत बनाउन नयाँ डिलको योजना बनाइरहेको जनाइएको छ । संसदीय नेताहरुसँगको बैठकबाट राष्ट्रपति डोनाल्ड ट्रम्प बाहिरिए लगत्तै रिपब्लिकन सिनेटरहरुले गोप्य बैठक बसेर अध्यागमन डिलबारे छलफल गरेका हुन् ।
डेमोक्र्याटहरुलाई सहमत गराउन प्रयास गरिने अध्यागमन डिलमा सिमानामा पर्खाल निर्माणका लागि बजेट पारित गर्न सहमति जनाएबापत बाल्यकालमा अमेरिकामा आएका डाकाप्राप्त कागजपत्रविहिनहरुलाई र टीपीएस प्राप्त गरेकाहरुलाई ग्रिनकार्डको बाटोमा लैजाने विषयमा रिपब्लिकनहरु सहमत हुनेछन् । तर यो विषय अहिले प्रारम्भिक चरणमा मात्र रहेकाले यो योजना सफल हुनेमा भने आशंका रहेको छ ।
रिपब्लिकन सिनेटहरुले यो योजना ह्वाइट हाउस सल्लाहकार जारेड कुश्नर समक्ष राखेको बताइएको छ । डेमोक्रेटिक सांसदहरुसमक्ष सहमति कायम हुननसक्दा ट्रम्प भने आक्रोशित हुँदै बाहिरिएका थिए । डेमोक्रेटिक नेताहरु चक शुमर र न्यान्सी पेलोसीसँगको भेटघाट समयको बर्बादीमात्र रहेको भन्दै ट्रम्पले ट्वीट गरेका थिए ।






