अमेरिकी अध्यागमन हिराशतमा २ बर्षमा २२ जनाको मृत्यु
प्रकाशित मिति : पुस २३, २०७५ सोमबार
अमेरिकी अध्यागमन हिराशतमा २ बर्षको अवधिमा २२ जना आप्रवासीहरुको मृत्यु भएको छ । यसरी ज्यान गुमाउनेहरुमा भियतनामदेखि मेक्सिकोसम्मका नागरिकहरु रहेको एनबीसी समाचारले जनाएको छ ।
अध्यागमन हिराशतमा ज्यान गुमाउनेहरुमध्ये अधिकांश एसाइलम आवेदकहरु रहेका छन् । अधिकांश युवा अवस्थाका रहेको र ज्यानगुमाउने आधाभन्दा बढी ४५ बर्ष उमेर समेत नपुगेकाहरु रहेका छन् ।
होण्डुरसकी ३३ बर्षीय तेश्रो लिंगीमहिला रोक्सानाले आइसको कस्टडीमा राखिएको दुईसातामा ज्यान गुमाएकी थिइन् । त्यस्तै गत डिसेम्बरमा पनि आइसको हिराशतमा दुईजना बालबालिकाहरुको ज्यान गएको थियो ।

लगातार दुई बालबालिकाको मृत्यु भएपछि होमल्याण्ड सेक्युरिटीले नयाँ मापदण्डहरु पनि तोकेको थियो । जसअनुशार आइसको हिराशतमा पर्नेहरुलाई थप स्वास्थ्य चेकजाँचको व्यवस्था मिलाइएको थियो ।
ट्रम्प कार्यकालको २ बर्षमा मात्र आइसको हिराशतमा २२ जना आप्रवासीहरुले ज्यान गुमाएका छन् । सन् २००३ देखि यता १ सय ८८ जना आप्रवासीहरुले आइसको हिराशतमा ज्यान गुमाएका छन् । सन् २००४ मा एकैबर्षमा आइसको हिराशतमा ३२ जनाको मृत्यु भएको थियो ।
सन् २००८ देखि सन् २०१२ सम्म ओबामा कार्यकालमा आइसको हिराशतमा मृत्यु हुनेको संख्या १० भन्दा पनि कम भएको थियो । त्यतीबेला आइसका हिराशतमा सुधारका लागि नीति ल्याइएको थियो । तर ओबामा कार्यकालको पछिल्लो चरणमा भने आइसको हिराशतमा मृत्युदर बढेको थियो ।






