डेढ वर्षको छोरा बचाएर हिटरमा जले इन्जिनियर दम्पत्ति


प्रकाशित मिति : पुस १६, २०७५ सोमबार

जाडोमा हिटर ताप्न जति आनन्द आउँछ, यससँग उत्तिकै सावधानी पनि आवश्यक छ । यही हिटरले काठमाडौंमा एक इन्जिनियर दम्पत्तिको ज्यान लियो ।

जाइकामा कन्सल्टेन्ट रहेका इन्जिनियर पुष्कर जोशी र सडक विभागमा काम गर्ने इन्जियनर अप्सरा श्रेष्ठले पाँच दिनको अन्तरालमा ज्यान गुमाएका हुन् । उनीहरु गत ५ गते हिटरबाट सल्केको आगोको लप्कामा परी गम्भीर घाइते भएका थिए । उनीहरुका डेढ वर्षको छोरा अस्पतालमा अवस्थामा उपचाररत छन् ।

दुवैलाई बेहोशी अवस्थामा उद्दार गरिएकाले कसरी आगो सल्कियो भन्ने यथार्थ विवरण आउन सकेको छैन । तर, घटनास्थलको प्रकृति हेर्दा हिटरको ग्यास लिक भएर आगलागी भएको देखिएको छ । ग्यास र विजुली दुवैबाट चल्ने उक्त हिटर उनीहरुले सोही दिन बनाएर ल्याएको पनि बुझिएको छ ।

‘कोठाको ढोकामा चुकुल लगाएर, ढोकानेर हिटर बालेर उनीहरु ममः खान थालेको बेला हिटरबाट ग्यास लिक भएको हुन सक्छ,’ जोशी दम्पत्तिसँग निकट इन्जिनियर दिनेश भट्टले अनलाइनखबरसँग भने ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आगो कोठा बाहिर भने फैलिन पाएन । कोठाभित्र पनि ओछ्यान सद्दे देखिएको छ । हिटर ढोकैमा भएकाले उनीहरु चुकुल खोलेर बाहिर निस्कन सकेनन् । झ्यालको शिशा पनि फुटाइएको छ । तर, झ्यालमा गि्रल भएकाले त्यहाँबाट निस्किन सम्भव थिएन ।

उनीहरुले चिच्याएर गुहार नमागेका पनि होइनन् । छरछिमेकीले नसुनेका पनि होइनन् । तर, कोही घटनास्थलमा आएनन् ।

‘उनीहरुले गुहार गुहार भनेर कराउँदा छिमेकका मान्छेहरु ढोका थुनेर बसेछन्,’ उनले भने । निकै बेरपछि सो घरका घरपट्टलिे प्रहरीलाई फोन गरेर बोलाएका थिए ।

प्रहरी आएर ढोका खोल्दा तीनै जना बेहोस अवस्थामा थिए । अप्सराले बच्चालाई कभर गरेकी थिइन् भने पुष्करले अप्सरालाई कभर गरेका थिए । त्यसैले सबैभन्दा बढी पुष्कर जलेका थिए । उनको हात सबैभन्दा बेसी जलेको थियो ।

‘पुष्करले दुवै हातले आगोको लप्का छेकेर श्रीमती र छोरालाई बचाउन खोजेको देखिन्छ,’ भट्टले भने ।

आमा र बाबुले कभर गरेकाले बच्चा भने धेरै जल्न पाएनन् । यद्यपि, उनी पनि बेहोस अवस्थामै थिए ।

प्रहरी आएर तीनै जनालाई नजिकै रहेको सहिद मेमोरियल अस्पताल पुर्‍याए । तर, त्यहाँ उनीहरुको सही ढंगले उपचार भएन । चिकित्सकहरुका अनुसार आगोमा जलेका बिरामीलाई तत्काल स्लाइन दिनुपर्ने हुन्छ किनकी आगोले शरीरको सबै पानी सोसेको हुन्छ । तर, अस्पतालले दुई घन्टासम्म राख्दा स्लाइन दिएन र दुवै बिरामीको अवस्था जटिल भएपछि किर्तिपुर अस्पताल रिफर गरिदियो । जलेका बिरामीका लागि किर्तिपुर अस्पताल सबैभन्दा राम्रो मानिन्छ ।

किर्तिपुरमा पुर्‍याउनासाथ पुष्कर र अप्सरालाई भेन्टिलेटरमा राखेर उपचार सुरु भयो । तर, उनीहरु होसमा आउन सकेनन् । पुष्करको दुवै हात काम नलाग्ने भएकाले काट्नुपर्ने चिकित्सकहरुले बताए । र, काटियो पनि । तर, पनि उनको ज्यान जोगिन सकेन ।

उनीहरुलाई एयर एम्बुलेन्समा राखेर भारत लैजाने समेत तयारी भएको थियो । दुवैलाई एउटै एयर एम्बुलेन्समा लैजान नमिल्ने भएकाले केही इन्जिनियरहरु मिलेर २०-२० लाखमा दुई खेपगरी लैजाने भनेर कुरा गरिसकेका थिए । तर, डाक्टरहरुले अनुमति दिएनन् । एयर एम्बुलेन्समा चढाउनका लागि एयरपोर्टसम्म लैजान पनि सुरक्षित नदेखेर डाक्टरहरुले अनुमति नदिएको भट्ट बताउँछन् ।

‘हामी इन्जिनियरहरुको समूह मिलेर पैसाको जोगाड गर्दै थियौं, तर अस्पतालले अनुमति नदिएपछि त्यो योजना रद्द भयो,’ उनले भने ।

अन्ततः ११ गते राति बिहिबार पुष्करको उपचारकै क्रममा निधन भयो । १२ गते उनको पोष्टमार्टम गरी अन्त्यष्टी भयो । पशुपति आर्यघाटमा उनका बाबुले छोराको शवमा दागवत्ती दिएको नमिठो दृष्य देखियो । पशुपतिमा अहिले पुष्करको किरिया भइरहेको छ ।

यता अप्सराको अवस्थामा पनि सुधार आएन । उनी होशमा आउन नसकेपछि किड्नीमा असर पुगेको आशंकाले डाइलासिस गर्नुपर्ने डाक्टरहरुले बताए । तर किर्तिपुरमा डाइलासीस सुविधा नभएपछि भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा लगियो । त्यहाँ पनि भेन्टिलेटरमा राखेर उपचार हुँदै गर्दा आज बिहान उनको मृत्यु भएको छ । अहिले उनको शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको छ ।

उनीहरुको डेढ वर्षको छोरा यतिबेला भक्तपुर अस्पतालमा छन् । उनी खतरामुक्त रहेको चिकित्सकहरुले बचाएका छन् । घटनापछि अप्सरा र पुष्कर दुवैको परिवार काठमाडौं आएका छन् । अप्सरा तनहुँकी हुन् भने पुष्कर बैतडीका हुन् । उनीहरु ककंकीमा फ्लयाट भाडामा लिएर बस्थे । दुवै कार्यालय जानुपर्ने हुँदा बच्चाको रेखदेख गर्न अप्सराकी आमा पनि सँगै बस्थिन् । तर, घटना भएको दिन उनी अन्यत्रै भएको बुझिएको छ ।

इन्जिनियर भट्ट भन्छन्, ‘दुवै औधि मिजासिला र इन्जिनियरको समूहमा लोकप्रिय थिए, हामीलाई साह्रै ठूलो चोट लागेको छ ।’ अनलाइन खबर

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com