देशभर अझै चिसो बढ्ने, काठमाडौंमा माइनस ३.५ डिग्रीको रेकर्ड
प्रकाशित मिति : पुस १५, २०७५ आईतबार
केही दिनयता बढ्दै गएको चिसोका कारण देशभरका जनजीवन प्रभावित बनेको छ ।
उत्तरपश्चिमी वायुको प्रभावका कारण न्यूनतम तापक्रम घट्दै गएकाले चिसो बढेको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अझै चिसो बढ्न सक्नेछ । उच्च हिमाली र पहाडी क्षेत्रमा हिमपातको सम्भावना देखिए पनि अन्य क्षेत्रमा मौसम सफा रहेको मौसमविद् सुजन सुवेदीले जानकारी दिए ।
काठमाडौंमा माइनस ३.५ डिग्रीको रेकर्ड काठमाडौं उपत्यकामा हिजोआज तापक्रम दैनिकजसो घटबढ भइरहेको छ । शुक्रबार बिहानको तापक्रम १.५ डिग्री मापन गरिएको थियो ।
शनिबार साँझ पनि तापक्रम १.५ डिग्री थियो ।
दिउँसो घाम लागेसँगै तापक्रम बढ्ने गरेको छ । काठमाडौं उपत्यकामा २७ पुस ०३४ मा तापक्रम माइनस ३.५ डिग्रीसम्म पुगेको थियो । यो खबर नयाँ पत्रिका राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ।






