इजिप्टमा ४० जना बन्धुकधारीको मृत्यु
प्रकाशित मिति : पुस १५, २०७५ आईतबार
इजिप्टमा प्रहरीको सुरक्षा अभियानको क्रममा ४० जना बन्धुकधारीको मृत्यु भएको त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।
शुक्रबार अबेर गिजा पिरामिड नजिकै पर्यटक बसमा बम बिस्फोट भएपछि प्रहरीले बिद्रोहीविरुद्ध कारवाही अभियान चलाएको हो । गिजा र सिनाई क्षेत्रमा चलाएको अभियानको क्रममा ‘४० जना बिद्रोही’ को मृत्यु भएको मन्त्रालयले दाबी गरेको छ ।
बन्दुकधारीले पर्यटकीय क्षेत्र, चर्च तथा सैनिकमाथि शृङ्खलाबद्ध आक्रमणको तयारी गरेको जानकारी प्राप्त भएपछि कारवाही अभियान सुरु गरिएको मन्त्रालयले जारी गरेको वक्तव्यमा उल्लेख रहेको बिबिसीले जनाएको छ ।
शुक्रबार गिजा पिरामिड नजिकै बसमा भएको आक्रमणमा तीन भियतनामी पर्यटक तथा एक स्थानीय गाइडको निधन भएको थियो ।
सो घटनाको अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन । तर यसअघि पर्यटकलाई लक्षित गरेर बिद्रोही संगठन इस्लामिक स्टेट (आइएस) ले आक्रमण गर्ने गरेको थियो ।






