मेरिल्याण्डको काउन्टी जेलमा रहेकाहरुको आप्रवासन स्थीति जाँच्ने आइससँगको सम्झौता सकिदै
प्रकाशित मिति : पुस १२, २०७५ बिहीबार
अब मेरिल्याण्डको एन एरुन्डेल काउन्टी जेलमा रहेकाहरुको आप्रवासन स्थीति जाँच्ने आइससँगको सम्झौताको अन्त्य गरिने भएको छ । यो संझौताको अन्त्यपछि मेरिल्याण्डको एन एरुन्डेल काउन्टी जेलमा विभिन्न अपराध गरेर परेका व्यक्तिको कागजपत्र भए नभएको जाँच गरिनेछैन ।
यसअगाडि यसरी एन एरुन्डेल काउन्टी जेलमा परेकाहरुको आप्रवासन स्थीति जाँचेपछि इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले उनीहरुलाई निशानामा पार्दै आएको थियो । बिहिबार एन एरुन्डेल काउन्टी अधिकारीहरुले अब संघीय सरकारसँगको बन्दी स्क्रीनिङ सम्झौता अन्त्य हुँदै गरेको बताएका हुन् ।
विवादास्पद संघीय अध्यागमन कानुन कार्यान्वयन नभई स्थानीय कानुन कार्यान्वयन गर्ने स्थानीय काउन्टी डिटेन्सनका कर्मचारीहरुको दायीत्व हुने मेरिल्याण्डका एन एरुन्डेल काउन्टी एक्जाक्लुटिभ स्टवार्ट पिटमेनले जनाएका छन् । मेरिल्याण्डको एन एरुन्डेल, फेडरिक र हार्डफोर्ड काउन्टीसँग आइसले यस्तो सम्झौता गरेको थियो । जसमध्ये एन एरुन्डेल यस्तो सम्झौता सबैभन्दा ठूलो काउन्टी हो ।

सन् २०१७ को डिसेम्बरमा यस्तो सम्झौता सुरु भएयता १९३ जना विदेशमा जन्मिएकाहरुको अन्तरवार्ता लिइएको थियो, जसमध्ये ६९ जना कागजपत्रविहिन रहेको पत्ता लागेको थियो । उनीहरु विभिन्न ४७ देशका रहेका थिए ।
एन एरुन्डेल काउन्टीले आप्रवासीहरुको संरक्षण गर्ने काउन्टीका रुपमा नभई खर्चका कारण यस्तो सम्झौता समाप्त गर्न लागेको हो । आइसलाई सघाउने उक्त कार्यका कारण काउन्टीको खर्च बढेको भन्दै सम्झौता समाप्त पार्न लागिएको हो । तर आइससँगको समन्वय भने उक्त काउन्टीले कायम नै राख्नेछ ।






