रबि ओडलाई अमेरिकामा रहने नेपाली भाषी भुटानीहरुले सहयोग गरे
प्रकाशित मिति : पुस ६, २०७५ शुक्रबार
नेपाल आइडल सिजन २ का फाइनलिष्ट रबि ओडलाई अमेरिकामा रहेका भुटानीहरुले आर्थिक सहयोग गरेका छन् । चर्चित फ्रेन्चाइज सिङ्गिङ रियालिटी–शो नेपाल आइडलको टप ४ मा पुगेपनि रबि ओड आर्थिक अभावमा आवश्यक भोट संकलन गर्न तथा प्रचारप्रसार गर्न नसकिरहेको खबर पाएपछि अमेरिकामा रहेका भुटानीहरुले सकेजति आर्थिक सहयोग गरेका हुन् ।
रबि ओडलाई भुट्निज कम्युनिटी अफ टेनेसी अमेरिकाले आर्थिक संलकन गरेर नेपाल पठाएको छ । अमेरिकामा रहनु भएका मेघराज तिम्सिना र सीता अधिकारीको सक्रिय पहल तथा चरन तिम्सिनाको प्रचारप्रसारमा र भूटनिज कम्युनिटी अफ टेनेसीमा रहनु भएकामध्ये ३१ जना नेपाली भाषी भुटानीहरुबाट नेपाली रुपैयाँ ६३ हजार संकलन गर्नु भएको थियो । चरन तिम्सिनाले फेसबुक ग्रुपमा गर्नुभएको अनुरोध अनुसार ३१ जनाले आफुले १० डलरदेखि ५० डलरसम्म एकै दिनमा उपलब्ध गराउदा ६३ हजार रुपैयाँ संकलन भएको थियो ।
सो पैंसा रबि ओडलाई पठाइसकेको बताइएको छ । रबि ओड निकै सुन्दर गायक भएपनि उनलाई आर्थिक अभावका कारण अघि बढ्न निकै गाह्रो भइरहेको छ । रबि ओडको घरमा आमा हुनुहुन्छ । तर, राम्ररी बोल्न सक्नु हुन्न । रबि ओडको घर पनि सानो रहेको छ । उहाँको आर्थिक अवस्था पनि राम्रो नरहेकाले भविष्यमा एक जना उज्जल गायक बन्न सक्ने अवस्था भएपनि आर्थिककै कारण उहाँ नेपाल आइडल बन्नबाट रोकिनु हुन्छ कि भन्ने डर यतिबेला रबि ओड, उहाँको परिवार र उहाँका शुभचिन्तकहरुमा छ ।
रबि ओडको वास्तविकता बुझेपछि भुट्निज कम्युनिटी अफ टेनेसीले तत्काल उहाँलाई सहयोगको पहल थालेको थियो । अमेरिकाबाट सहयोग गर्ने सबै भुटानीहरुले यतिबेला रबि ओड नेपाल आइडल बन्न सफल होस भन्ने प्रार्थना र कामना गरिरहनु भएको छ ।






