पूर्व प्रधानमन्त्री डा.तुलसी गिरीको निधन
प्रकाशित मिति : पुस ३, २०७५ मंगलबार
पूर्वप्रधानमन्त्री डा.तुलसी गिरीको निधन भएको छ । ९३ वर्षीय गिरीको आज काठमाडौंको बुढानीलकण्ठस्थित निवासमा निधन भएको हो ।
राजाको प्रत्यक्ष शासनकालका बेला मन्त्रिपरिषद्को उपाध्यक्ष बनेका गिरी लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित थिए ।
कलेजोमा क्यान्सर रोग लागेका उनी यसअघि करिब १० दिनसम्म भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका थिए ।
अस्पतालबाट घरमा ल्याइएपछि उनको निधन भएको हो । तत्कालीन राजा महेन्द्रले २०१७ सालमा पञ्चायनी व्यवस्था स्थापना गर्नुपूर्व नेपाली कांग्रेसका नेता रहेका गिरी त्यसपछि हार्डलाइनर पञ्चका रुपमा परिचित थिए ।
महेन्द्रलाई साथ दिएका गिरी राजा वीरेन्द्रले ३६ सालमा जनमत संग्रह घोषणा गर्दा वैचारिक असहमति जनाउँदै श्रीलंकातिर लागेका थिए ।
तर, २०५९ सालमा राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि उनी पुनः नेपाल फर्किएर मन्त्रिपरिषद्को उपाध्यक्ष बनेका थिए ।
राजतन्त्र ढलेपछि भने उनी नेपालमै बसेका थिए । बरिष्ठ राजनीतिज्ञ गिरी आफ्नो जीवनकालभरि अविचलितरुपमा राजतन्त्रको पक्षमा रहेका थिए ।
गिरीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज निवासमै राखिने पारिवारिक स्रोतले जनाएको छ ।






