‘राष्ट्रिय झण्डा मेरो स्वाभिमान’ भन्ने नारासहित आज झण्डा दिवस मनाइँदै
प्रकाशित मिति : पुस १, २०७५ आईतबार
अाज पुस १ गते अर्थात नेपाली राष्ट्रिय झण्डा दिवस विभिन्न कार्याक्रम गरी मनाइने भएको छ । ‘मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’ नारासहित अाज आइतबार नेपाली राष्ट्रिय झण्डा दिवस मनाउन लागि एकाे हाे ।२०६२ साल पुस १ गते (१६ डिसेम्वर) संयुक्त राष्ट्र संघले नेपालको झण्डालाई अङ्कित गरेको दिनलाई स्मरण गर्दै राष्ट्रिय झण्डा दिवस मनाउन लागिएको कार्यक्रम संयोजक श्याम बजगाईले बताए।बजगाईका अनुसार अन्तर्राष्ट्रियरूपमा नेपालीपनको प्रवद्र्धन र प्रसार गर्ने उद्देश्यले दिवस मनाउन लागिएको हो ।
सामाजिक सञ्जाल फेसबुक लगायतको माध्यमबाट नेपाली झण्डा बोकेर काठमाडौँको बसन्तपुरमा भेला हुन सबैलाई आग्रह गरिएको महाअभियानले जनाएको छ ।त्यस्तै प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आजको दिनलाई कालो दिवसका रुपमा मनाइँदैछ ।विसं २०१७ पुस १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन व्यवस्था शुरुवात गर्नुभएको थियो । सुन्दरीजल स्थित नेपाली सेनाको आर्सनलका हाकिमको आवासमा पर्खालले घेरी बिपी लगायतका नेतालाई बन्दी बनाइएको हो ।
नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहनुभएका प्रधानमन्त्री बिपी लगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन महीना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी बनाइएको थियो ।यही जेल पछि सुन्दरीजल बन्दी गृहका नामले चिनियो । यहीँ बसेर बिपी ले ‘दोषी चस्मा’ कथा सङ्ग्रह बाहेकका साहित्यको रचना गर्नुभएको थियो ।पुस १ गते तरुण दललगायतका संस्थाले प्रजातन्त्रमाथि प्रहार भएको दिनका रुपमा कालो दिवसका रुपमा मनाउँदै आएका छन् । यसै अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरिने जनाइएको छ ।






