सप्तकोशीमा जेटबोट सरर …
प्रकाशित मिति : मंसिर २८, २०७५ शुक्रबार
सप्तकोशी नदीमा पर्यटकको लागि सानो जेटबोट सञ्चालन हुँदै आएकोमा अब यात्रुबाहक जेटबोट सञ्चालनमा आएको छ। सुनसरीको बराहक्षेत्रस्थित चतराघाटबाट दोलालघाट र ताप्लेजुङको काबेली नदीसम्म यात्रा गराउने जेटबोट सञ्चालनमा आएको हो। बराहक्षेत्र मरिन एण्ड रिसोर्ट्स प्रालिले चीनबाट नयाँ र आधुनिक बोट ल्याएर सञ्चालनमा ल्याएको हो। उक्त जेटबोटको गएको साता प्रदेश सरकारका पर्यटनमन्त्री जगदीशप्रसाद कुसियतले उद्घाटन गरे। बराहक्षेत्र मरिनले २५ जना क्षमताको मध्यमस्तरको प्यासेन्जर बोट एचडी ८.६ जेटबोट सञ्चालनमा ल्याएको हो।
अहिले परीक्षणमा रहेको उक्त बोट पुसबाट नियमित सञ्चालनमा आउने सञ्चालक नवीन पौडेलले जानकारी दिए। १० घण्टासम्म हिँड्नुपर्ने भौगोलिक अवस्थालाई जेटबबोटमो २० मिनेटमै पुगिने उनको भनाइ छ। मरिनले जापानिज यामाहा इञ्जिनयुक्त २५ जना यात्रु क्षमता भएको २३० एचपी प्यासेन्जर बोट सञ्चालनमा ल्याएको हो। आन्तरिक र बाह्य पर्यटक तथा यात्रु लक्षित गरेर ल्याएको जेटबोट सिट र छानोसहितको छ। यसअघि कोसीमा सञ्चालनमा आएका बोट भने साना र छानो नभएका थिए। जेटबोट सञ्चालनको लागि क्याप्टेन पनि चीनबाटै ल्याइएको छ।
उनीहरु ८ जना क्याप्टेन उत्पादन गर्नेगरी प्रशिक्षण दिइरहेको पौडेलले जानकारी दिए। कम्पनीले सप्तकोशी नदीमा ४ वटा प्यासेन्जर बोट सञ्चालन गर्न अनुमति लिएको छ। रातको समयमा पनि सञ्चालन हुनेगरी कम्पनीले छिट्टै सय सिट क्षमताको बोट ल्याउने जनाए को छ। त्यसपछि १० जना क्षमताको दुई वटा बोट पनि ल्याउने तयारी रहेको पौडेलले जानकारी दिए। चक्रघट्टीमा रिसोर्टसहित कम्पनीले बोटमा ८ करोड १२ लाख रुपैयाँ लगानी गरेको जनाएको छ। चतरादेखि सिम्लेसम्मका लागि सयजना क्षमताको एयर कन्डिसन, डिजिटल सूचना पाटी र लाइट भएको जेटबोट ल्याउने कम्पनीले जनाएको छ।
साना १० जना क्षमताको जेटबोट नदीको गहिराइ कम भएका ठाउँमा जान सक्ने भएकोले दोलालघाट र काबेलीसम्म लैजाने योजना छ। कम्पनीले वराहक्षेत्र नगरपालिकाको प्रवद्र्धनमा जेटबोट ल्याएको हो। बराहक्षेत्र नगरपालिकाले एक वर्षका लागि करमिनाहा गरेको नगरप्रमुख निलम खनालले जानकारी दिए। हाल कोशीमा सुनकोशी रिभर कम्पनीको जेटबोट, वराहक्षेत्र जलयातायात तथा पर्यटन सेवा प्रालिको जेटबोटले सेवा दिइरहेको छ।






