घरमा पालेको कुकुरले आफ्नो ज्यान दिएर बचायो पूरै परिवारको ज्यान
प्रकाशित मिति : मंसिर २८, २०७५ शुक्रबार
मलेशियामा घरमा पालिएको एक कुकुरले आफ्नो ज्यान दिएर पूरै परिवारको ज्यान बचाएको छ । परिवारका सदस्यले कुकुरलाई बोलाइरहेका थिए तर कुकुर आइरहेको थिएन । लामो समयसम्म कुकुर नआएपछि उनीहरु बाहिर गएर हेर्दा निकै डरलाग्दो दृश्य देखे । खासमा त्यो घरको आँगनमा एउटा विशाल अजिंगर आएको थियो । परिवारलाई बचाउन कुकुर २० फिट लामो अजिंगरसँग भिड्यो । अजिंगरसँग लडाइँको क्रममा कुकुरको मृत्यु भयो । घरका सदस्यलाई यो कुरा तब थाहा भयो जब बोलाउँदा पनि कुकुर घरभित्र आएन । बाहिर गएर हेर्दा कुकुरको मृत शरीरलाई अजिंगरले बेरेर राखेको थियो ।
घटना १० डिसेम्बरका दिन मलेसियाको श्रीअमन शहरको जालान केजातो क्षेत्रमा भएको हो । कुकुर र अजिंगरलाई सबैभन्दा पहिले देख्े परिवारका सदस्यका अनुसार कुकुरलाई छुटाउन उनले अजिंगरमाथि लौराले आक्रमण गरेका थिए । लगातार लठ्ठीले हिर्काएपछि अजिंगरले डराएर कुकुरलाई छोडिदियो । त्यसपछि अजिंगर नजिकै बनेको एउटा ठूलो प्वालमा गएर लुक्यो । त्यतिबेलासम्म कुकुरको भने मृत्यु भइसकेको थियो ।
घटनापछि घरका सदस्यहरुलाई आफ्नो चिन्ताले सताउन थाल्यो । उनीहरुले अजिंगर समात्नको लागि फायर एण्ड रेस्क्यू डिपार्टमेन्टमा खबर गरे । त्यसपछि आएको उद्धार टोलीका ९ सदस्यले करिब १ घण्टा लगाएर अजिंगरलाई समाते । परिवारलाई कुकुरको मृत्युको निकै दुःख लागेको छ । उनीहरुका अनुसार उनीहरु जीवित हुनुको कारण कुकुर थियो । यदि कुकुर नभएको भए अजिंगर घरभित्र आइसकेको हुन्थ्यो र परिवारका सदस्यलाई मार्न सक्थ्यो ।






