अमेरिकामा ८० लाख कागजपत्रविहिन श्रमिक, कतिलाई गर्ने कारवाही ?
प्रकाशित मिति : मंसिर २६, २०७५ बुधबार
अमेरिकामा झण्डै ११ मिलियन आप्रवासीहरु कागजपत्रविहिन रहेकोमा तयसमध्ये ८ मिलियन कागजपत्रविहिनहरु श्रममा खटिएको रिपोर्ट न्युयोर्क टाइम्सले प्रकाशित गरेको छ । खासगरी उनीहरु कम मूल्यको अधिक श्रमको काममा खटिने गरेका छन् ।
फ्लोरिडामा सुन्तला टिप्नेदेखि क्यालिफोर्नियामा स्ट्रबेरी टिप्नेसम्मका काममा कागजपत्रविहिन आप्रवासीहरु खटिएका छन् । ओहायोमा तरकारी टिप्नेदेखि फिनिक्स, एटलान्टा र शार्लोटमा ठूलाठूला भवन बनाउने काममा तिनै कागजपत्रविहिन श्रमिकहरु खटिएका छन् ।

जुन काम कागजपत्र हुनेहरुले गर्न सक्दैनन् वा हिचकिचाउँछन्, त्यो काम कागजपत्रविहिनहरुले गर्दै आएका छन् । जसका कारण अमेरिकाको अर्थतन्त्र धानिनमा ठूलो मद्दत पुगेको छ ।
पिउ रिसर्च सेन्टरका अनुशार कागपत्रविहिन आप्रवासीहरु लेबर फोर्समा अत्याधिक रहेका छन् । जुन काममा रोजगारदाताले अमेरिकी कामदार पाउन समेत निकै मुस्किल र महँगो पर्छ । धुलो धुँवाको अधिकांश काममा अमेरिकनहरु नभई यस्तै कागजपत्रविहिनहरु खटिने गरेका छन् ।

यदि यी कामदारहरुलाई निकाल्ने हो भने निर्माण, कृषि लगायतका क्षेत्रमा नकारात्मक प्रभाव पर्ने विश्लेषकहरु बताउँछन् । वास्तवमा उनीहरुले अमेरिकनको जागिर खोसेको नभई अमेरिकनहरुले नगरेर छाडेको काम गरेर अमेरिकी अर्थतन्त्रमा योगदान दिइरहेको विश्लेषकहरुको भनाई छ ।
पिउ रिसर्च सेन्टरका अनुशार नेभाडामा झण्डै ११ प्रतिशत, क्यालिफोर्नियामा झण्डै ९ प्रतिशत, टेक्ससमा झण्डै ८ प्रतिशत कागजपत्रविहिन आप्रवासीहरु लेबर काममा संलग्न रहेका छन् ।






