अदालतबाटै आप्रवासी पक्रने क्रम रोक्न पूर्व अमेरिकी न्यायाधिसहरुको आग्रह
प्रकाशित मिति : मंसिर २६, २०७५ बुधबार
बुधबार अमेरिकाका दर्जनौं राज्य र संघीय पूर्व न्यायाधिसहरुले अदालतबाटै आप्रवासी पक्रने क्रम तत्काल बन्द गर्न अध्यागमन अधिकारीहरुलाई आग्रह गरेका छन् । कागजपत्रविहिन रहेको आशंकामा अदालतबाटै आप्रवासीहरु पक्राउ पर्ने क्रम तीब्र बनिरहँदा पूर्व न्यायाधिसहरुले यस्तो आग्रह गरेका हुन् । आप्रवासीहरु न्यायका कोठाहरुमा विना डर पुग्न पाउनुपर्ने उनीहरुको माग छ ।

२३ वटा राज्यका ७० जना पूर्व न्यायाधिसहरुले आइसका कार्यकारी निर्देशक रोनाल्ड भिटेलोलाई पत्र लेख्दै अदालतबाटै आप्रवासी पक्राउ गर्नुले क्रिमनल न्याय प्रणालीमा अवरोध उत्पन्न भएको जनाएका छन् । आइसको पछिल्लो गतिविधिले गर्दा अपराधको शिकार भएका कागजपत्रविहिन आप्रवासीहरु पनि न्यायको खोजीमा अदालत जान हिचकिचाउन थालेका छन् ।
आइसले भने गिरोह अपराधीहरु, सार्वजनिक सुरक्षामा उच्च खतरा रहेकाहरु र पहिले नै देशनिकालाको आदेश पाइसकेकाहरुलाईमात्र अदालतबाट पक्राउ गरिदै आएको दावी गरेको छ । अदालतबाट आप्रवासीहरु पक्राउ गर्ने क्रम ओबामा कार्यकालमा पनि रहेको थियो । तर ट्रम्प कार्यकालमा भने यो दर निकै उच्च भएको छ ।







