डिसेम्बर २१ सम्म अमेरिकी सरकार सटडाउन नहुने, सिमानामा पर्खाल विवाद भने कायम
प्रकाशित मिति : मंसिर २३, २०७५ आईतबार
डिसेम्बर २१ सम्मका लागि अस्थायी खर्च विधयेक पारित भएपछि त्यतीन्जेलसम्मका लागि अमेरिकी सरकार सटडाउनको संकट टरेको छ । अमेरिकी संसदले २ साताका लागि अस्थायी खर्च विधयेक पारित गरेको हो ।
पूर्व राष्ट्रपति जर्ज डब्ल्यु बुसको दाहसंस्कारको कारण देखाउँदै सांसदहरु विधयेकहरु पारित गर्ने डेडलाइन थप २ साता अर्थात् डिसेम्बर २१ सम्मका लागि सार्न सहमत भएका छन् । अब विभिन्न ६ वटा आर्थिक विधयेकहरु डिसेम्बर २१ को मध्यरातसम्म ती विधयेकहरु पारित नभए अमेरिकी सरकारले सटडाउनको सामना गर्नुपर्नेछ ।
डिसेम्बर २१ को मध्यरातसम्म खर्च विधयेक पारित भएमा त्यसले आगामी सेप्टेम्बरको अन्त्यसम्मका लागि अमेरिकी सरकारको खर्चको व्यवस्था गर्नेछ ।

यसपटकपनि सबैभन्दा मुख्य विषय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिमानामा लगाउने भनेको पर्खालको लागि बजेट विनियोजन नै रहेको छ । पर्खाल लगाउनका लागि ५ बिलियन डलरको बजेट पारित नभए सरकार शटडाउन गर्न दिने राष्ट्रपति ट्रम्पले चेतावनी दिदै आएका छन् । डेमोक्र्याट्सहरु भने सिमा सुरक्षाका लागि १ दशमलव ६ बिलियन बजेटमात्र विनियोजन हुनुपर्नेमा सहमत छन् ।
तर डेमोक्र्याट्सहरुले सिमा सुरक्षाका लागि विनियोजन गर्ने भनेको रकम पर्खालका निर्माणका लागि भने नभएको सिनेटमा डेमोक्रेटिक नेता चक शुमरले स्पष्ट पारेका छन् । यो केबल तारबार, प्रविधि स्तरोन्नती लगायतका काममा मात्र लगाउन सकिनेछ ।






